जनता टाइम्स

३ जेष्ठ २०७८, सोमबार १३:४१

रामेछापमा मदन–आश्रितको सम्झनामा माल्र्यापण गर्दै योगदानको स्मरण


रामेछाप, जेठ ३

२९ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा रामेछापको मन्थलीस्थित मदनआश्रित चोकमा रहेको सालिकमा माल्र्यापण गरी स्वर्गीय मदन भण्डारी र आश्रितको योगदानको स्मरण गरेको छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितले सडक दुर्घटनामा परि देह त्याग गर्नुभएको थियो ।

यस दिनलाई हरेक वर्ष एमालेले मदन–आश्रित स्मृति दिवसका रुपमा मनाउँदै आएको छ । नेकपा एमालेका अध्यक्ष आनन्द श्रेष्ठल अग्रज नेतृत्वहरुले तय गरेको बाटोमा अविचलित रुपमा हिडिरहने प्रण गर्नुभयो । उहाँले भन्नुभयो, ‘दिवगंत नेताहरुप्रति उच्च सम्मानका साथ स्मरण गर्दछौं ।

हामी हाम्रा अग्रज नेतृत्वहरुले तय गरेको बाटोमा अविचलित रुपमा हिडिरहने र उहाँहरुको सपनालाई साकार पार्न सहयोगी भूमीका खेल्छौँ त्यसको लागि हामीले गाउँ–गाउँमा रहेका नेता कार्यकर्तालाई मदन भण्डारी र जीवराज आश्रितको योगदान र जनताको बहुदलीय जनवादको बाटोमा लाग्न प्रेरित गरिरहेका छौँ ।’

कार्यक्रममा सचिव पुरुषोत्तम कडरियाले नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारी र जीवराज आश्रितको अभाव सँधै महशुस भईरहने उल्लेख गर्नुभयो । उहाँले जनताको बहुदलिय जनवादको मर्म र भावना अनुसार मूलुकका वाम राजनीतिक शक्तिहरुबीच एकिकरण वा कार्यगत रुपमा मात्रै भएपनि एकता आजको आवश्यकता रहेको बताउनुभयो ।

यस्तै जिल्ला प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले भण्डारी र आश्रितले देखाएको बाटोमा हिड्नु नै उहाँहरुप्रतिको सच्चा सम्मान हुने बताउनुभयो । सोही अवसरमा एमाले रामेछापले केही दिनअघि कोरोना संक्रमणका कारण दिवंगत हुनुभएको दोलखाका नेता पशुपति चौलागाईँको स्मरण गरेको छ । उहाँको तस्बिरमा माल्र्यापण गर्दै जिल्लाले उहाँ निष्ठाको राजनीतिका पर्याय रहेको जनाएको छ ।