ओलीको ईश्या गर्न हरेकलाई स्वतन्त्रता छ तर साधनालाई कम आँक्नु सत्यसँगको दुष्मनी हो । नेपालको दोश्रो संविधान सभा पनि विफल पार्ने नियतकासाथ भारत सरकारले एस जयशंकरलाई विशेषदूत पठाएर दलहरुलाई नेपाली जनता वा भारतीय हस्तक्षेप मध्ये एकलाई रोज्न धामस दिइएको थियो । नेपालको संविधान २०७२ सुशील कोइरालाको पालामा घोषणा भएको भनेर कांग्रेस घिरौंला जत्रो नाक पार्छ तर लगत्तै ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्न कोइरालालाई नै भारतले अघिसार्नुले कांग्रेस भारतको त्यति बेलाको रुचिका लागि बाधक थिएन भन्ने प्रष्ट हुन्छ
दयालबहादुर शाही
विघटित नेकपा मूलतः आफ्नो एकता कायम राख्न नसकेर धरासयी भएको छ । नेकपाको विघटनमा थुप्रै मोटा मसिना कारणहरु छन् । तीमध्ये मोटो कारण हो, केपी ओलीप्रतिको अन्य हस्तीहरुको जलन । जनमोर्चा डुबाएका नारायणकाजी, माले चलाउन नसकेका वामदेव, एमाले खाई सिध्याएका माधव र झलनाथ, माओवादीको विनाशलीलाका जड प्रचण्डसहितको असफल पेन्टागनले ओलीका प्रतिको जनसमर्थन, युवा आकर्षण, लोकप्रियता र गृहनिर्माणको रफ्तारमा आफूलाई लिलिपुट महसुस गर्दै ईश्याले जलेपछि नेकपाको एकताका आधारहरुमाथि धमिरो लाग्यो । चुम्बकसँग नजिकिदा फलाम पनि कृतिम चुम्बक बनेझै ओली र लहरका कारण बढेको भाउलाई पचाउन नसकेर असफल पेन्टा गन्नले भुईमा खुट्टा गर्न छोड्नु नै नेकपा विघटनको मोटो कारण हो ।
खारिएको नेतृत्व र थुपारिएको नेतृत्वको भेद छुट्याउन नसक्नुनेर विघटित नेकपाको मूल समस्या थियो । सबै नेतालाई एकै घानमा हालेर हेर्ने गुटस्वार्थ र गुटयुद्धनेरै नेकपा चिप्लिएको थियो । गुटको छाता ओढेर वृहत पार्टी निर्माण र राष्ट्रिय रक्षाको खुला आकाश हेर्न सकिदैन । खारिएको र थुपारिएको नेतृत्वको अन्तर जान्न क्याराभान वा बहकर संस्कृतितिर जानुपर्ने हुन्छ । भेडीग्वाला काकाबाबाहरु बताउनुहुन्छ– ‘सबै भेडा एउटै हुँदैनन् । भेडा मुख्यतः दुई किसिमका हुन्छन् (१) अगुवा (२) पछुवा । अगुवालाई चाहेर पनि पछि पार्न सकिँदैन र पछुवालाई चाहेर पनि अघि लगाउन सकिँदैन । आँखा सबै भेडाका दुई नै हुन्, कान, सिङ पनि दुई दुुई नै हुन्, खुट्टा सबैका चार हुन् । अगुवा भेडामा अनुशासन, साधना, धैर्य, संयम र दम हुन्छ । पछुवा लहैलहैमा रमेको हुन्छ । अगुवा सामुहिक र निजी व्यवहारमा लय मिलाएर अगुवाई गर्छ । उसले हिँड्ने समयमा चर्ने, अलमलिने वा लय र गति गुमाउने गर्दैन । पछुवा प्रकृतिको भेडालाई घाँडो लगाइदिएर अगाडि लगाए पनि केही बेरमै पछि परिहाल्छ । बाटोको दायाँबायाँतिर पलाएको डालीमा, खेतको बालीमा आँखा लगाउने भेडो स्वतः पछाडि पर्छ र अगुवा हुने हैसियत गुमाउँछ ।’
प्राणीहरुमा सर्वश्रेष्ठ मानव जातिको नायक हुनलाई सजिलो छैन । थुपारिएर पनि नेता नहुने होइन तर खारिएको नेतृत्व र थुपारिएको नेतृत्वमा आकाश जमिनको अन्तर हुन्छ । २०५० सालदेखि २०६५ सालसम्म माधव नेपालको पालामा एमाले कहिलै समस्यारहित रहेन र अन्ततः जीवनमरणको दोसाँधमा पुग्यो । २०३९ सालदेखि २०४६ सालसम्म तत्कालीन मालेको महासचिवको कार्यकाल र २०६५ सालदेखि २०७१ सालसम्म एमाले अध्यक्षको कार्यकालमा झलनाथ खनालको भूमिका कामकाजी कम तदर्थ बढी देखियो । यी सबै अवधिमा एमालेको जीवन संक्रमणकालीन र गन्जागोलपूर्ण रहनुको मूल कारण कमरेडद्वय खनाल र नेपाल थुुपारिएको नेतृत्वको नमुना भैदिनु थियो । २०४६ देखि २०५० सालसम्मको चार वर्षको छोटो अवधिमा जननेता मदन भण्डारी र २०७१ साल यताको छोटो अवधिमा ओलीले हानेको छलाङ खारिएको नेतृत्वको उत्कृष्ट दृष्टान्त हुन् ।
मदन भण्डारीको नेतृत्वकालमा हासिल भएका उपलब्धिहरु यसप्रकार छन् :
(क) २०१५ सालदेखि कांग्रेस र कम्युनिस्टबीच हुन नसकेको सहकार्यलाई संभव पार्दै जनआन्दोलन २०४६ सफल पार्नुु ।
(ख). वामपन्थीहरुको फुट र विभाजनको अध्यायलाई चुनौती दिने गरी २०४७ सालमा माले र माक्र्सवादीबीच एकीकरण गर्नु ।
(ग) २०४७ सालको संविधान निर्माण र आम निर्वाचन २०४८ समयमै सम्पन्न गर्नमा रचनात्मक भूमिका खेल्नु ।
(घ) मूलतः माक्र्सवाद र संसदवादको विरोधभासको अन्त्य गर्ने गरी माक्र्सवादको नेपाली संस्करणका रुपमा जनताको बहुदलीय जनवाद जस्तो मौलिक सिद्धान्तको प्रतिपादन गर्नु ।
(ङ) ०४८ सालको आम चुनावमा एमालेलाई वैकल्पिक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न सक्नु ।
ओलीको कार्यकालमा हासिल भएका महत्वपूर्ण उपलब्धिहरु यसप्रकार छन् :
(क) भूकम्पको पछिको राहत, उद्दार र पुननिर्माणमा देखाएको जनसेवामार्फत पूर्व एमाले नै जनताको भरपर्दो दुःखको साथी हो भन्ने सन्देश प्रवाह गर्न सक्नु ।
(ख) संविधान निर्मांणको निमित्त चाहिएको आँट, हुटहुटी, दबाब, राष्ट्रिय सहमति र सहकार्यको आपूर्ति गर्न सक्नु ।
(ग) संविधानको घोषणा अघि र पछिका दबाब, धम्की र हस्तक्षेप र नाकाबन्दीको सामना गर्न सक्नु र जनताको देशभक्तिपूर्ण प्रतिरोधी आन्दोलनको कुशल अगुवाई गर्नु ।
(घ) संविधानको कार्यान्वयन र तिनै तहको चुनावमा सम्पन्न गर्न नेतृत्वदायी र दबाबमूलक भूमिका ।
(ङ) स्थानीय निकायको चुनावमा एमालेलाई देशकै ठूलो दलका रुपमा स्थापित गर्न सक्नु ।
(च) वामपन्थी गठबन्धन निर्माण । प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा हासिल गरेको सफलता ।
(छ) एमाले र माओवादीबीचको ऐतिहासिक एकता ।
(ज) देशलाई राजनीतिक स्थिरता, विकास निकास र समृद्धिको युगमा प्रवेश गराउनु ।
खारिएको नेतृत्वको महत्ता
एउटा राजनीतिक शक्तिले विराट संभावनाहरु बोकेको भए पनि यदि खारिएको नेतृत्व छैन भने स्थितिले उल्टोपाल्टो मोड लिएर अनुकूलता प्रतिकूलतामा फेरिन समय लाग्दैन । उदाहरणका रुपमा लिनु पर्दा पृथ्वीनारायण शाहले बडो दुःखले गोर्खाबाट उठाएर काठमाण्डौंमा अवतरित गरेको शासन सत्ता उनका छोरा प्रतापसिंह शाहलागि कागलाई बेल पाके सरह भएको थियो । गिरिजाप्रसाद कोइरालाको अवशानपछि कांग्रेसले गुमाएको लय अर्काे उदाहरण हो । मदन र मनमोहनको अवशानबाट सृजित सहानु भूतिको राजनीतिबाट लाभ २०५१ र २०५४ सालमा कुम्ल्याए पनि माधव नेपालको नेतृत्वकालमा एमाले २०६४ सालमा जीवनमरणको दोसाँधमा पुग्यो । विघटित नेकपाले आगामी केही दशकसम्म नेतृत्वको संकट बेहोर्नु पर्ने थिएन । बरु आन्तरिक बेमेल र नेतृत्वको व्यवस्थापन गर्न सक्नुनेर नेकपाले आफूलाई तेजकरार सिद्ध गर्न सकेन । खारिएको नेतृत्वको भण्डार नै नेकपाको अटल सौभाग्यको सूचक थियो ।
प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्री जस्ता संवैधानिक एबं राजकीय भूमिकामा रहेका दर्जन नेता एउटा दलका लागि चानचुने प्राप्ती होइन । राज्य र पार्टीको महत्वपूर्ण पदमा नरहे पनि निष्ठा, निरन्तरता र धैर्यका त्रिआयामिक रत्नहरुको खानी नेकपासँगै थियो । अतिरिक्त खेलाडी जस्ता पद नभए पनि कद उठाउनमा पारंगत आस्थाका इस्पातहरुले नेकपालाई काँध थापेकै थिए । अध्ययन, वहश, प्रशिक्षण संस्कृतिको बलियो जग थियो । विचारको विविधता, विचार र सिद्धान्त बीच प्रतिष्पर्धा र वैचारिक नेताहरुको उपलब्धता थियो । मौनतामुनी आँधी आउनु अघिको सन्नाटा थियो । निकट भविष्यमा विचार बिमर्शका हिसाबले चलायमान पार्टी पनि नेकपा नै हुँदै थियो । राजनीति, संगठन, प्रचार युद्ध, वाकपटुता, गतिशीलता र ग्रहणशीलता हरेक क्षेत्रमा अब्बल मझौला पुस्ता र युवापुस्ता नेकपाको लागि अमोघ शक्ति थियो ।
जनताभन्दा धेरै अघि वा धेरैपछि होइन जनताबाटै सिक्ने र जनतालाई नै सिकाउने संस्कार विकसित हुँदै थियो । व्यवहारकुशल हुँदै गर्दा सिद्धान्त बिर्सने वा संशोधनवादी हुने र सैद्धान्तिक जडताका नाममा अक्कड र रुखो भएर जनताबाट अलगथलग रहने खतराबाट जोगिनमा पारंगत पार्टीपंति भएकाले प्रतिष्पर्धाको मैदानमा नेकपाले पिठ्यु फर्काउनु पर्ने थिएन । यी सब अनुकूलता र विराट संभावना हुँदाहुँदै पनि हामीले पाएनौं र खाएनौंको वैराग्यधून फुक्न सक्ने प्रचण्ड–माधवको दुःखी आत्मा सामु विघठित नेकपाले हार खायो । परिपक्व भएको भौतिक स्थितिमा पानी खन्याउन सक्ने प्रचण्ड–माधवको आत्मगत अरुचिले पारेको यस धक्काले आत्मगत शक्ति ऐठन जस्तो अध्ययन, विश्लेषणको नयाँ विषय थपिएको छ ।
त्रिशूल नीति र बियर नीति
जननेता मदन भण्डारीको पालामा वहुुदलीय जनवादी बीचमा दरार थिएन । ओली, नेपाल र गौतमका बीच त्रिशूलको जस्तै एकता थियो । भण्डारीले सहकर्मी मिलाउनु भयो र सफल बन्नुभयो । मैनाली, खनाल र नेपालले जबज पक्षधर बीचमै खेलेर बदला लिएको इतिहास छ । नेतात्रयले वियरलाईझै छचल्काएर, उमालेर, पोखेर तथा धोतेर एमालेको शक्ति ऐठन गरेको विगत छ । विघटित नेकपामा पनि नेतृत्वको समालिएको संस्करण र निखार आउन सकेन । प्रचण्डले अख्तियार गर्ने नीति त्रिशुल नीति वा वियर नीतिमा नेकपाको भविष्य निर्भर थियो । सहकर्मी मिलाएर मदन भण्डारीले जस्तै सफलता र महानायकीय भूमिकाको उकालो लाग्ने जाँगर प्रचण्डमा पलाएन । पानी मथेर घिऊ हुँदैन, माधवसँग घाँटी जोडेर मदन बन्न सकिदैन ।
सत्य र भोगाइले यस्तो भने पनि मदन भण्डारीका बिरोधीसँग घाँटी जोडेर ‘म अर्को मदन भण्डारी भैसकेके थिएँ र पूर्वएमालेका एक थरिले हामीले मदन भण्डारी पायौं भनिसक्नु भएको थियो’भन्ने प्रचण्ड ढाँट कुरा तुष्टिकरण मात्र हो । अरुका पनि असली रसायनसँग जिस्कनु र कमजोर तन्तुलाई मूलप्रवृत्ति ठान्नुनेर प्रचण्डमा सदावहार समस्या छ । व्यक्ति एक कुलबहादुर खड्कालाई नेपाल सेनाको कमजोर तन्तु वा अपवाद ठान्नुको सट्टा मेरुदण्ड ठान्ने गल्तीले सेनापति काण्ड अघिका सिंह प्रचण्डले स्यालमा संकुचित हुनुपरेको थियो । व्यक्तिहरु माधव, झलनाथ, घनश्यामहरुलाई बहुदलीय जनवादीहरुको कमजोर तन्तु वा अपवाद ठान्नुको सट्टा मेरुदण्ड ठान्ने दिग्भ्रमले पार्टी एकताको आडमा फेरि अर्को पटक सिंह भैसकेका प्रचण्डको पोल्टामा पुनर्मुसिको भवःको बर्बादी थमाइदिएको छ ।
दाने तपसि शौर्ये च विज्ञाने विनये नये
विस्मयो न हि कर्तव्यो बहुरत्ना वसुन्धरा ।
अर्थात् दान, तपस्या, सुर्याइँ, विद्धता, सुशीलता र नीतिनिपूर्णताको बारेमा आफुदेखि आफै दंग पर्नुहुँदैन किनकी यसै धरतीमा एकसेएक दानी, तपस्वी, शूरवीर, विद्वान, नीतिनिपूर्णहरु छन् । चाणक्यको यो कथन विपरीत पृथ्वी मेरै वरिपरि घुम्ने थियो, सेनामा कटवाल र विघटित नेकपामा ओली मात्र तगारो भए, अरु त सारा मैले ठिकठाक पारिसकेको थिएँ भन्ने दाहालको दुर्याेधनपथ नै नेपालको राष्ट्रिय समस्या हो । पाँच पाण्डवले गर्दा मात्र आफुलाई विश्वदादा बन्नमा अवरोध आएको ठान्ने दुर्योधनमा जस्तै प्रचण्डमा पनि अरुको आदर नगर्नु र अरुलाई गन्दै नगन्नुमा समस्या छ । पाँच पाँच वटा महावली पतिकी पत्नी द्रौपदीको इज्जत नगर्नु भनेको दुर्याेधनबाट आर्यावर्तकी कुनै पनि नारीको सुरक्षा र सम्मान संभव नभएको भन्ने अर्थ कृष्णले लगाए जस्तै प्रचण्डबाट कुनै निहत्था र निशस्त्र जनताको सम्मान र सुरक्षा संभव छैन भन्ने प्रष्ट छ । सेनापतिको र प्रधानमन्त्रीको इज्जत नगर्नु र उनीहरुलाई गलहत्तीका उपाय रच्नुको अर्थ हो प्रचण्डको राजमा कुनै एक व्यक्तिको सम्मानको सुनिश्चतता छैन । यसले देखाउँछ प्रचण्डको शरीरका नसा नसामा अधिनायकवादी रगत बगिरहको छ ।
विघटित नेकपाभित्र ६० प्रतिशत हिस्सामा रहेको एमालेजन ओलीप्रति कृतघ्न र निर्दयी बन्न सक्तैन थिए । किनकी एमालेले बिगतमा मान र शान पाएको मात्र होइन, अपमान पनि बेहोरेकै थियो । दिल्लीमुखी र दरबारमुखीको आशंका पनि एमालेमाथि नगरिएको होइन । कांग्रेसको पुुच्छर र माओवादीको खेलौना जस्तो पनि एमाले नदेखिएको होइन । ओली नेतृत्वको चार वर्षे छोटो अवधिमा एमालेले यी सबै आशंका र अपमानको मैलोधैलो पखाल्न सक्यो र सबै शक्ति केन्द्रहरुको ओठतालु सुकाइदियो । एमालेको पोष्टमा आएर कांग्रेसले गोल छरिाउने गथ्र्यो । वामपन्थी नेताहरु बीचमै आत्मघाती गोलवर्षा गर्ने होड चल्थ्यो । कांग्रेसलाई प्रकारान्तरले पतिदेव मानेर एमाले र माओवादीबीच जेठीकान्छी सौताको जस्तो राग थियो । ओलीको नेतृत्वकालमा स्थिति उल्टियो । यति भएर पनि श्रेय पाउनुु पर्नेमा सत्तोसराप र घेराबन्दीको सामना विघटित नेकपामा ओलीले जसरी गर्नु पर्यो, यसप्रति ईशारा बुझ्ने युवा पुस्ता तामासा हेरेर बस्न सक्तैन थियो ।
स्वगुट झुल बाहिरको लामखुट्टे बनाइदिएको माधव र झलनाथको झोक र बिगतमा आफ्नो पार्टी सुकाइदिएको प्रचण्डको झोक जोरजम्मा पारेर बदलामा ढाल्न गठबन्धनको हकर्तमा उत्रिन लाजघिन नमानेपछि देशलाई काँध थापिरहेको संव्रmमणकालीन अवस्थाको पार्टी आफै आईसीयुमा पुग्यो । एमालेले तीन दशकदेखि बोक्दै आएको भार थेग्नबाट तीन वर्षमै थाकेर नेकपाले हात झिके पछि पुनः एमाले जनताको सुखदुःखको सहारा हुने अवतारमा एमाले अवतरित भएको छ । नेता भिडाएर सिँडी चढ्ने महत्वाकांक्षाका व्यापारी वकालती पेशा चम्काउन आमाबाबुुको पारपाचुुके पत्र लेख्न नहच्किने कुनै वकिल जस्तै धुुन्धकारी भएर आए पनि पार्टीले विवेक गुुमाउनुु हुुन्थेन । विघटित नेकपा विजय उन्माद र चरम महत्वाकांक्षीको भार खप्न नसकेर डुब्यो ।२०१५ साल, २०४८ र २०५६ सालमा कांग्रेसले पाएको जनमतको कदर गर्न नसक्नुुमा होस् कि २०५४ सालमा एमाले विभाजन हुनुुमा होस्, वा २०७० सालमा माओवादी जनताको कोपमा परेको घटनामा होस् आन्तरिक बेमेल र बिजय उन्माद मोटा कारण थिए । नेकपाले मिल्न सक्नुपथ्र्याे । किनकी नेपालको सन्दर्भमा मिल्न सक्ने पार्टी नै विशेष धातुुले बनेको पार्टी हो । सत्तारुढ दलका शीर्ष नेताहरु नमिल्दा नोक्सान भोग्नुु पर्ने उनीहरुको पार्टीले मात्र हो तर नेता मिल्न सके जनताले जित्छन् र देशले काँचुुली फेर्छ ।
हस्तक्षेप र राष्ट्र रक्षा
इतिहासका निर्माता जनता हुुन् । युगदेखि युगसम्मका घटनाले यही पुष्टि गरेको छ । चुनौतीले महानायक जन्माउँछ । चुुनौतीले कहिल्यै चाणक्य जन्माउँछ । आवश्यकताले कहिलै पृथ्वीनारायणको उदय गराउँछ, कहिलै वीपीलाई अघि सार्छ, कहिलै मदनलाई काखी च्याप्छ र घेराबन्दीले जन्माउँछ ओली । इतिहासका हरेक कालखण्डमा साधुहरुले गरेको जनताको तपका अगाडि स्वादुहरुको छलछाम टिकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतत्वमा संव्रmमणकालिन नेपालले पार गरिरहेको कठिन यात्रा, हासिल गरेका उपलब्धीहरु र बोकेको विराट संभावनाहरुको भु्रण चाणक्यकालिन भारतीय महाद्विपले उठाएको चुनौती र राष्ट्र रक्षा जस्तो महानतम् सफलतासँग मिल्दोजुल्दो छ । बाइस सय वर्षअघि युरोपबाट राज्यहरुलाई जित्दै आँधीझै एशियातिर मोडिएका विश्वविजेता सिकन्दर र उनका उत्तराधिकारी शेलुकसको सामना गर्न आचार्य चाणक्यले यस भूखण्डका परम्परागत ढर्राका राजाहरुलाई उखेलेर चन्द्रगुप्तको नयाँ पुस्तालाई राज्यसत्ताको केन्द्र भागमा ल्याएका थिए । चाणक्यले जनता र देशप्रति प्रतिवद्ध शासक र चुनौतीकै हाराहारीको चेतना आपूर्ति गरी जनताको शक्तिलाई संगठित गरेका थिए । उनले जनताको शास्त्रवल र शस्त्रवलको जीर्णोद्धार गरी यस भूखण्डको शक्तिलाई पर्सियन विजेताहरुको आँधी रोक्न सकेका थिए ।
चाणक्यको त्यो प्रयोग आज एशियाको जेठो राज्य नेपाललाई समाप्त पार्न गरिएको निरन्तरको हस्तक्षेप सामना गर्न ओलीले देखाएको सौर्य र धैर्यमा दोहरिएको छ । एमालेको पुरानो ढर्रा र जुम्सोपनको जरो उखेल्नु ओलीको महत्वपूर्ण देन थियो । जुम्साहरुको सट्टा तेजकरार नयाँ पंंतिको बलमा नेपाली कांग्रेस र माओवादीका अगाडि एमालेलाई स्वाभिमानको मेरुदण्डमा उभ्याउनु ओलीको असल सुरुवात थियो । त्यही असल सुरुवातले बिहानीले दिनको संकेत गरेझै आशावादिताको रक्तसंचार गरेको थियो । नाकाबन्दीको चुनौतीले पार्टीभित्रै गुट गर्न मात्र जान्ने आक्षेप खेपिरहेका ओलीलाई एमालेको मात्र नभई राजनेताको सक्कली हैसियतमा अवतरित गराइदियो । ओलीले जनताको सबल नेतृत्व गरी नयाँ नेपाललाई काँध थापेको तथ्य अहिलेको जीवित सत्य हो । अपजश र कमजोरी जति ओलीको थाप्लोमा खन्याएर श्रेय मात्र कुम्ल्याउने प्रतिष्पर्धीहरुले नै प्रकारान्तरले मैदान खाली गरेर ओलीलाई सघाउने गरेको सिलसिला छ ।
एघार पुस्तासम्म शासकीय सत्ताको मियो बनेको शाहवंशीय राजतन्त्र, राजाका हितैसीहरुको क्लब मानिने पंचायती कोटरी, विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला जस्ता शिखपुरुषहरुले सिंगो जीवन लगानी गरेर विचार, जनाधार र संस्कारले लैस पारेको पाको र पुरानो दल नेपाली कांग्रेस कसैको पनि भारतेली शासक वर्गको नेपाल माथिको निरन्तरको हस्तक्षेपसामु सिप नचलेपछि वीर जाति नेपालीको चेतना र संवेग यतिबेला ओली लहरको ब्राण्डमा उर्लिएको छ । तर अस्तित्व समाप्त पार्न खोजिएको मातृभूमिको रक्षा गर्न ओलीको नेतृत्वमा नेपाली जनताले पाएको यस सफलतालाई स्वीकार गर्न बिकेका र बिकेर पनि टिकेका जतिलाई गाह्रो परेको छ । ओलीको उदयलाई रोक्न सामरिक अखाडाहरु प्रयोग गर्ने संझौतासहित महाशक्ति अमेरिकासँग हिमचिम बढाइरहेको भारत र मोदी लहरको सुनामीमा उछालिएको भारतीय जनमतलाई चुनौतीको पहाडको रुपमा खडा गरी त्रसित पार्न खाजियो ।
ओलीलाई नेपाल र नेपालीको विपक्षमा उभ्याउन प्राकृतिक विपत्ति भूकम्पले पारेको क्षतिमाथि नाकाबन्दी, गृहयुद्धका लागि असफल अभ्यास र सरकार गठन विघठनका खेल लगायतका राजनीतिक विपत्तिको जोहो गरिएको छ । अत्तालिने जतिले थाह पाउन नसकेको वा बुझेर पनि बुझ पचाएको जीवित सत्य भनेकै ओलीलाई थला पार्न गरिएका जालसाँझीहरु कर्ताकै लागि नै प्रत्युत्पादक हुँदै गएको सिलसिला छ । चुनौतीको यो चौघेरोको बीचमा ओलीलाई टिकाउने शक्तिको मुहान भनेको जनता प्रतिको ओलीको समर्पण हो । नाकाबन्दीको बेला सत्यसँग लड्दिनँ, शक्तिसँग झुक्तिनँ भन्ने उद्घोषका साथ देखाएको हिम्मत र देशभक्तिले ओलीलाई जनताको दिलमा स्थान मिलेको छ भने बिरोधी जतिलाई भिरको डिल पु¥याएको छ । मरेको बाघका जुँगा उखेल्नु, ढलेको रुखको टुप्पोमा उक्लनु सजिलो हुन्छ । त्यसरी नै बडा कष्ट खेपेर हासिल भएका महान्तम् राजनीतिक उपलब्धिलाई तत्कालिक घटनाले उछाल्ने संवेदनासँग जोडेर तपसिलमा पार्नु सजिलो हुन्छ । तर व्यक्ति र स्वार्थसमूह निर्मम र कृतघ्न भए पनि सत्य, इतिहास र जनता सत्पात्रप्रति निर्मम र कृतघ्न बन्न जान्दैनन् ।
अहिले नेपालले संकटमाथि विजय पाएको सत्यलाई छोप्न गरिएको जालसाँझी थाह पाउन ओलीको उदय रोक्न बुनिएको तानाबानाको समीक्षा आवश्यक हुन्छ । यसका लागि ओलीको जनता प्रतिको साधना र ओलीप्रेरित युवापुस्ताको मनोविज्ञान, योजना र सपना थाह पाउनुपर्ने हुन्छ र बिरोधीले गर्ने गरेको तुष्टिकरण माथि प्रकाश पार्नुपर्ने हुन्छ । महबाटै लड्डु बन्छ र मान्छेबाटै साधु बन्छ । मह लड्डु बन्नलाई पिठो आदि साधन चाहिन्छ र मान्छे साधु बन्न साधना चाहिन्छ । ओलीको ईश्या गर्न हरेकलाई स्वतन्त्रता छ तर साधनालाई कम आँक्नु सत्यसँगको दुष्मनी हो । नेपालको दोश्रो संविधान सभा पनि विफल पार्ने नियतकासाथ भारत सरकारले एस जयशंकरलाई विशेषदूत पठाएर दलहरुलाई नेपाली जनता वा भारतीय हस्तक्षेप मध्ये एकलाई रोज्न धामस दिइएको थियो । नेपालको संविधान २०७२ सुशील कोइरालाको पालामा घोषणा भएको भनेर कांग्रेस घिरौंला जत्रो नाक पार्छ तर लगत्तै ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्न कोइरालालाई नै भारतले अघिसार्नुले कांग्रेस भारतको त्यति बेलाको रुचिका लागि बाधक थिएन भन्ने प्रष्ट हुन्छ । त्यति बेला नेपालमाथि रचिएको जालसाँझीको किस्ता यसप्रकार थियो :
१. दुई दुई वटा संविधान सभा असफल पारी विश्वसामु नेपालको छवि र हैसियत कमजोर बनाएर नेपाललाई असफल राष्ट्र बनाउने र बदनाम गर्ने ।
२. टिकापुर काण्डजस्तै आन्तरिक विद्वेष बढाएर देशलाई गृहयुद्धतिर धकल्ने ।
३. सीमावर्ती क्षेत्रमा शरणार्थी थुपारेर प्रत्येक्ष हस्तक्षेपको लागि बाटो खुला गर्ने ।
४. संविधान घोषणा गर्नु अघि नै कांग्रेस एमाले गठबन्धन टुटाउने ।
५. एमाले र माओवादीको गठबन्धन बन्न नदिने ।
६. दैनिक उपभोग्य बस्तुको आपुर्ति गराउन नसकेको झोकमा ओली सरकारबिरुद्ध जनता उतार्ने र सरकारलाई सडकबाटै विस्थापन गर्ने ।
७. माओवादी केन्द्र विभाजन गराएर सरकारलाई अल्पमतमा पार्ने ।
८. एमालेमै खेलेर वा सत्तरुढ गठबन्धन भत्काएर ओलीलाई कमजोर पार्ने ।
महाशक्ति नेपाली जनता र प्रभुको खोजी
अन्य हत्कण्डाले काम नदिनुका साथै उल्टै सशक्त प्रतिवाद भएर ओली लहर उछालिएपछि एमाले र माओवादीको गठबन्धनलाई टुटाएर बदला लिने काम भयो । दुई पार्टीको गठबन्धनलाई जुगको मापदण्डमा ननापेर छाकको मापदण्डमा नाप्नका लागि उक्साउदै नौ महिने सरकारजस्तो सस्तो बेसाहामा युगका रथ हाँक्ने महारथि शक्तिलाई प्रलोभनमा पारेर फसाइयो । नेपालमा पहिलो पटक दुई ठूला पार्टी बीच चुनाबी तालमेल गराएर तेश्रो पार्टी बिरुद्ध ब्रह्मास्त्र प्रयोग पनि ओली नेतृत्वकालको एमालेमाथि मात्र भयो । बास्तबमा स्थानीय तहको चुनाबमा कांग्रेसले खोजेको भनेको माओवादीलाई अचानो बनाएर एमालेलाई सदाका लागि धरासयी पार्ने थियो तर जनताको चेतनाका कारण परिणाम फरक आयो । नेपालमा नेपाली जनता नै सर्वोपरी हुन् । यी सबै तगाराहरु पन्छाएर भएको ओली उदयले यही पुष्टि गरेको छ । बास्तबमा नेपाली कांग्रेस र माओवादीको हिमचिम र चुनाबी तालमेल जरजर शरीरलाई भिन्न समूहको रगत दिनु जस्तै अप्राकृतिक राजनीति थियो भने एमाले–माओवादी बीचको चुनावी तालमेल एउटै समूहको रगत दिनु जस्तै सुल्टो राजनीतिक अभ्यास थियो । कांगे्रससँगको सहकार्यका कारण माओवादी भिरको डिलमा पुगेर पतन कुरिरहेको थियो भने एमालेसँगको सहकार्यले माओवादी एमालेसँगै सफलताको शिखर आरोही बन्यो ।
एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बनेपछि हस्तक्षेपका राजनीतिक खेलाडीलाई महासंकट थपिएको थियो । वामपन्थीहरुको फुटमा छिना चलाउदै सूक्ष्म व्यवस्थापन गर्न पल्केको हस्तक्षेपलाई विघटित नेकपाको चट्टानी एकता ठूलो चुनौती बन्नसक्थ्यो । नेकपा एक रहँदा समीकरणका खेतीवाल र महत्वाकांक्षाका व्यापारीले कांग्रेसलाई वहुपत्नीको धनी, चरम उपयोगिताबादी लोग्ने जस्तो र वामघटकहरुलाई आफै जस्ती अबला दिदीबहिनीको खुशी खोस्न सक्दाको आनन्द उठाउने जेठीकान्छी जस्तो नाजुक हालतमा पाउन सक्तैन थे । यदि स्थानीय निकायको चुनाबमा एमालेबिरुद्ध थापिएको धराप नेपाली जनताको चेतनाले निष्व्रिmय नपारेको भए राजनीति र परिस्थति संलिने थिएन । ओली लहरका कारण एमाले आज कांग्रेसका अगाडि निरिह जेठीकान्छी होइन पाखुरा बटारिएको लक्का जवान छिमेकीको रुपमा अवतरित छ । बिगठित नेकपामा ढिलो चाँडो एमाले मर्यादा हाबी हुने देखिएपछि खलपात्रहरु मोदीका गोटी बने । जनताप्रति खाएका कसम बिर्सिएर प्रभुको खोजीमा लागे । एमालेमा पाकेका पाक पकवान पाउँदै आएका सुगुरहरु नै स्वदेशमा कांग्रेस र केन्द्रको जुठेल्नो र सीमापारि मोदीको रछ्यान चहार्ने मानसिकतामा पुगेपछि नेकपा एक रहनै नसक्ने आधार तयार भयो । अदालतको आदेश वा भनिएको हस्तक्षेप वा अदालतले पार्टी फुटायो भन्नु त नाच्न नजान्ने आँगन टेडो भन्नु जस्तै थियो ।
विभाजनको छिना र वितृष्णाको खेती
बैरीहरुले कुरिरहेको गौडो भनेकै पार्टी एकतापछिको संव्रmमणकालको प्रश्रवपीडा खेपिरहेको विघटित नेकपाको आन्तरिक जीवनको संवेदनशीलता थियो । सरकारले गरेका रणनीतिक महत्वका संन्धी, सुधार, विकास, निकास, योजना र आयोजनालाई योजनावद्धढंगले उपहास गर्ने र ओझेलमा पार्ने बोलकबोल गरेका जतिको छटपटी बिचित्रसँग बढ्यो । सदिऔं देखिको शोषण उत्पीडनका कारण जनताका परेका घाउ निको पार्न दुईतिहाई वहुमत जादुको छडी किन बनेन भनेर जनतालाई सरकारप्रतिको मोहभंग गराउन दूष्प्रचार युद्धलाई पेचिलो बनाइयो । संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य र सहअस्तित्वको मर्मलाई गलतढंगले अर्थ लगाएर नेकपाकै जनप्रतिनिधिबीच फुट पारियो । स्थानीय सरकार, प्रदेश र संघीय सरकारले गरेका राम्रा कामलाई समयको उपहारवर्षा भन्ने र कमजोरी जति व्यवस्था, लोकतन्त्र, प्रधानमन्त्री, दुईतिहाई वहुमत र कम्युनिष्ट शासनको थाप्लोमा हाल्ने षडयन्त्र उद्योग चल्यो ।
बाह्य लगानी, सहयोग, अनुदान रोक्न लगाएर जनतामाथि घात गरियो । कुनै जनप्रतिनिधिको ख्याति व्यक्तिका नाममा सीमित पारिनु र कुख्यात जनप्रतिनिधिको कमजोरी थुपार्ने कन्टेनर वामपन्थीहरुले पाएको जनादेशलाई बनाइनु राजनीतिक बेइमानीको पाराकाष्ठा थियो । छिमेक नीति, सत्तारुढ दलको आन्तरिक जीवन, द्वन्द्वकालिन न्याय र सत्य निरुपणको सवाल, प्रतिपक्षसँगको समन्ध, सतारुड गठबन्धन र सरकार बाहिर रहेका मधेसवादी दलहरुसँगको समन्ध मध्ये कहाँ भ्वाँङ पार्न सकिन्छ र सरकारलाई कसरी थला पार्ने भनेर दाऊ हेर्ने काम भए । संव्रmमण कालको पार्टीको आन्तरिक जीवन केही समय अस्तव्यस्त हुनु अनौठो होइन । बरु यसलाई प्रधानमन्त्रीको रहर र बानीसँग जोड्नु अनौठो कुरा थियो ।
लिम्पियाधुराको हकदाबी र ओली लहरप्रतिको जलन
ओली सरकार बिरुद्ध भारत र भारतीय जनतालाई प्रयोग गरियो । नेपाली जनताका लागि भारतीय जनता र भारतीय जनताको लागि नेपाली जनता बाहेक देशदेशान्तरभरि आफ्नो भन्नु कोही छैनन् । भारतकै उत्तर दक्षिणका भूगोलमा जनस्तरमा बरु अविश्वास छ तर नेपालीलाई विश्वास नगर्ने भारतीयहरु कमै छन् । स्वतन्त्रता कालको जातिय हिंसाको व्यवस्थापनदेखि सीमा रक्षासम्म नेपाली युवाहरुले भारतका लागि ज्यानको बाजी लगाएका छन् । यो तहको संवेदनशीलतामाथि डोजर लगाएर हितैसी नेपालीमाथि नाकाबन्दी लगाएको भारतीय जनतालाई रुचेन । नाकाबन्दीको प्रतिरोधपछि ओलीले लिम्पियाधुरासम्मको नक्शा छापेपछि नेपाली जनताको देशभक्तिको संवेगको उछाल आयो । यसबाट ओलीले पाएको समर्थन र लोकप्रियताबाट पार्टीभित्र र बाहिरका जोरिपारी जतिले आफुलाई लिलिपुट महशुस गर्न थाले र भविष्य संकटमा परेको देखे ।
पार्टी प्रमुख बन्नका लागि पार्टी फोड्नु नेपालका बामपन्थी नेताहरुको बाल रोग हो । मदन भण्डारीपछि ओलीको नेतृत्वकालमा मात्र पार्टी एकताको मिठो सुगन्ध पार्टीपंतिले सुँघ्न पाएको सत्यमाथि हिसाबकिताब सहित पर्दा लगाउने काम भयो । जुन पार्टीमा दुई अध्यक्ष थिए, जुन पार्टी खुला छलफल, संस्थागत परिपाटी र आन्तरिक लोकतन्त्र जस्ता राजनीतिक रसायनका कारणले विश्वका परम्परागत ढर्राका कम्युनिष्ट पार्टीहरु भन्दा भिन्न पहिचान थियो र जुन पार्टी लोकतन्त्रमाथिको अग्राधिकार हाम्रो हो भन्ने पूूँजीवादपन्थीहरुलाई जनताको समर्थन हासिल गरी ओठतालु सुकाइदिन्थ्यो, त्यो पार्टीमाथि एकल नेतृत्वको आक्षेप पूर्वाग्रह मात्र थियो । नेकपामा जति बहश बिबाद भए पनि निकासका लागि सार्थक सम्वाद र एकताको महत्व थाह पाउने चेत, जोश र होशको सन्तुलन पनि थियो । एकल नेतृत्वको अभ्यासमा जति भाजपा गयो त्यति नेकपा गएको थिएन र भविष्यमा पनि जाने पनि थिएन । मोदी प्रधानमन्त्री भएको दुई कार्यकालमा भाजपामा कसैले मोदीको विपक्षमा मुख खोलेको देखिएन ।
नकी मोदीको वाक्पटुताले गर्दा नै भाजपाले सन् २०१४ मा लोकसभा चुनाव जितेर कांग्रेसको दशक लामो सत्ता आरोहणमा विराम लागेको थियो । कांग्रेस आईसँगको लामो संसदीय पतिष्पर्धामा लगातार दश वर्ष विपक्षमा बस्नु परेकाले भाजपाका वरिष्ठ हस्तीहरुले जनलहर सृजना गर्न सक्ने कनिष्ट नेता मोदीको महत्व राम्ररी बुझेकाले राजनीतिक संस्कारले काम पाएको छ । मोदीले अनपेक्षित र अप्रत्यासित जित कुम्ल्याइ दिएकाले लालकृष्ण आडवाणी, नीतिन गडकरी, राजनाथ सिंह लगायतका शिर्ष नेताहरु नै मोदीका अगाडि मैनझै पग्लिएको स्थिति छ । नेकपामा ओलीले प्रत्येक्ष अप्रत्येक्ष घेराबन्दी सामना गर्नु पर्यो । ओलीको उदयका जरा गोबिन्द केसीको अनुकम्पामा नभै त्यस्ता फण्डाहरुको सामना गर्दै भएको थियो । विघटित नेकपाका हस्तीहरूले भारतको अध्ययन भ्रमणमा गएर राजनाथ सिंहहरुबाट जनलहर सृजना गर्न सक्ने सहकर्मीलाई माहुरीले रानी माहुरीलाई घेरे जस्तै गरी सघाउने निष्ठा, कला र संस्कार सिक्न चाहेनन् । बरु प्रचण्ड–माधवहरुले मुकेश अम्बानीको रिस गर्ने अनिल अम्बानीको पारा ओलीप्रतिका अनावश्यक जलनमा देखाए । बाहिर अर्घेल्याइँ ओलीले गरेको भनेर ढोल पिटियो । सचिवालय बाहिर र तल अवसर छरिनु हुन्न भन्ने मनोग्रन्थी ओली बिरोधीधारमा अति सबल थियो । हारेका हस्तीको राष्ट्रिय सभा मोह र प्रधानमन्त्री हुने रहर यसका प्रमाण थिए ।
निष्कर्ष
मान्छे आदर्शमा होइन यथार्तमा बााँचिरहेको हुन्छ । नेकपा विघटित भए पनि एमाले ओलीको पाश्र्वभागको रक्षा गर्ने महारथिका रुपमा युद्ध मैदानमा हाजिर छ । ओलीलाई जिप्टाउन गौडो कुरेर बसेकाहरु निराश हुनुको बिकल्प देखिदैन । किनकी ओलीको उदय वर्षाको च्याउ उम्रे जस्तो एकाएक नभई चौतारोको वरपीपल जस्तै घामपानी, असिना, प्रताडना, उपेक्षा, गोडमेल, मलजल, मानसम्मान र उपासनाको लामो सृंखला पार गरेर भएको हो । नीतिशास्त्रले भनेको छ, जसरी ताडेर, चुटेर, घोटेर तथा पोलेर सुनको परीक्षण हुन्छ त्यसरी नै त्याग, शील, धैर्य र कर्मले महापूुरुषको परीक्षा हुन्छ । शास्त्रले भनेको वा अह्राएको कारणले नभई व्यहारिक सुझबुझ र इतिहासका आवश्यकतालाई ख्याल गरी ओलीको राजनीतिक रथ अघि बढेको छ । मनमोहन अधिकारीको अनादर नगर्नु, आफुभन्दा कान्छा सीपी, मदन भण्डारी, माधव नेपाल जस्ता प्रतिभालाई नाइनास्ती नगरिकन सघाउनु, संक्रमणकालिन सरकारको बेला कोइराला बन्धुहरुलाई कांग्रेसका नेताले भन्दा बढी काँध थाप्नु, कृष्णप्रसाद भट्टराईको स्मृति समारोहमा भट्टराईलाई पितातुल्य बताउनुले यो देशलाई काँध थाप्ने हरेक नेतालाई ओलीले आदर गरेको प्रष्ट हुन्छ ।
अग्रजलाई आदरसत्कार, युवापुस्तालाई प्रेरणा र उचित मार्गप्रदर्शन गर्ने उनै ओलीलाई ताछ्न व्यक्तिका तहमा गएर कसले के पायो र के पाएन जस्ता अवसरको भागबण्डालाई सिरानी हालेर तथा उछालेर समन्धहरुलाई पेचिलो पारिदै छ । आफुप्रतिको निन्दा र प्रशंसामा नअल्मलिएर जनताको दुुःखको जरो उखेल्ने समृद्धिको महाअभियान नै ओलीको साधनाको चुुरो हो । महाशक्ति अमेरिका, महामित्र भारत र चीन, नयाँ नेपालरुपी रथको एक पांग्रो प्रतिपक्ष दल नेपाली कांग्रेस, उदियमान शक्ति मधेसवादी दल, लामो समयसम्म देशको मियोको रुपमा रहेका राप्रपामा गोलबन्द भएका देशभक्तहरु कसैसँग पनि नठोक्किएर सरकारलाई जनताको सेवा र समृद्धिमा समर्पित गर्ने ओलीको सदीक्षारुपी फूललाई पत्थरले जवाफ दिनु जनतामाथि हमला हो र इतिहासप्रतिको गद्दारी पनि । इतिहासको रथ उल्टो गुडाउन खोज्नेहरु ठूलो भ्रममा छन् ।
उनीहरुमा जनताको चेतना, सामथ्र्य, एकता, वल र सर्वोपरितामा बिश्वास छैन र जनताको शक्ति अभिव्यक्त हुने वा यसको प्रकट हुने तरिकाको ज्ञान छैन । उहिले चाणक्यले कर्तव्यच्यूत राजाहरुलाई हात्तीले केराको थाम उखेलेझै उखेलेर चन्द्र गुप्तको लक्ष्यवर्ती पुस्तालाई राज्यसत्ताको केन्द्रभागमा ल्याएझै ओलीको सुनामीले पनि देशद्रोही जतिलाई उखेलिसकेको छ र देशभक्तहरुको पोल्टामा सुन्दर भविष्य थमाइसकेको छ । ओली नेतृत्वको यो विजययात्रा रुपी बिरुवालाई जब एमालेले धैर्य र विवेकको मलजल दिएर दिगो पार्न सक्ने छ तब उखेलिए पनि चिल्न नछोड्ने सिस्नो जस्ता बिरोधीहरु या त कुहेका देखिने छन् या सुकेर कर्कलोको हालतमा भेटिने छन् ।
प्रतिक्रिया दिनुहोस्