काठमाडौं, ३१ बैशाख। नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्व वातावरण संरक्षणमा नेपालको ठुलो योगदान रहेको बताउनुभएको छ ।
नेकपा एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागद्वारा मंगलबार काठमाडौंमा आयोजित सगरमाथा संवादको स्थानीयकरण, जलवायु सशक्तीकरण र विपद् न्यूनीकरणको लागि राजनीतिक प्रतिबद्धता विषयक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले अन्तर्राष्ट्रिय समुदायले उत्सर्जन गरेको कार्बनको मार नेपाल जस्ता मुलुकले खेप्नु परेको बताउनुभयो । वातावरण संरक्षणमा नेपालले गरेको योगदानको मूल्य पाउनु पर्ने पाेखरेलले दाबी गर्नुभयो । ‘अन्तर्राष्ट्रिय समुदाय यसमा जति गम्भीर हुनु पर्ने हो, त्यति गम्भीर भएको देखिँदैन’, उहाँले भन्नुभयो ।
सगरमाथा संवाद वातावरण परिवर्तनमा विकसित राष्ट्रले गरेको कार्बन उत्सर्जनको प्रभाको बारेमा ध्यानाकर्षण गर्न सक्षम हुनु पर्ने उहाँको धारणा छ । वातावरण परिवर्तनले हिमालको अवस्था निक्कै जोखिमपूर्ण रहेको उहाँले बताउनुभयो । ‘हिमाली क्षेत्र वातावरण परिवर्तनको सबैभन्दा जोखिममा छ, हिमाली क्षेत्रमा रहेका हाम्रा मानव वस्तिहरू सबैभन्दा जोखिमपूर्ण छन्, ती क्षेत्रमा बनेका पूर्वाधार पनि जोखिमपूर्ण छन्’, पोखरेलले भन्नुभयो ।
उहाँले अहिले नेपाल विश्वमा सबैभन्दा बढी घरमा ताला लाग्ने मुलुकको सूचिमा पर्न लागेको बताउनुभयो । विश्वमा घरबार विहीन नागरिक धेरै भएका बताउँदै उहाँले नेपालमा एकै व्यक्तिका एक भन्दा बढी घर भएका पोखरेलको भनाइ छ । त्यसैले यस मामला नेपाल धनी पनि रहेको उहाँले बताउनुभयो ।
पहाडी क्षेत्रमा जमिनको खनजोत घट्दै जाँदा डढेलो जोखिम अझ बढ्दै गएको उहाँले बताउनुभयो । यो नेपालको विपत्तिको क्षेत्रमा अर्को ठुलो जोखिमको रूपमा रहेको उहाँको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्