रामेछाप, जेठ ११
नेकपा एमाले रामेछापले २२ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । पार्टीका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रत्न गौतमले उपलब्ध गराएको २२ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सागम्री एमाले रामेछापले जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई हस्तान्तरण गरेको हो ।
६० सिलिण्डर अक्सिजनसहितका मेडिकल सामग्री एमाले अध्यक्ष आनन्दकुमार श्रेष्ठले हस्तान्तरण गर्नुभएको हो । ६० वटा अक्सिजन भरिएका सिलिण्डरमध्ये जिल्ला अस्पताल रामेछापलाई ५० थान र बाँकी १० थान आवश्यकताअनुसार अस्पताललाई नै उपलब्ध गराईने छ ।
रामेछाप जिल्ला अस्पतालका अध्यक्ष रोशन पाख्रिङका अनुसार अस्पताललाई मात्रै नेता गौतमले ११ लाख ७५ हजार रुपैयाँको अक्सिजन उपलब्ध गराउनुभएको हो । बाँकी २ लाख ३५ हजारका १० थान भरिएका अक्सिजन सिलिण्डर आवश्यकता अनुसार जिल्ला भित्र प्रयोग हुनेछ । नेता गौतमले अक्सिजन मात्रै १४ लाख १० हजार रुपैयाँको सहयोग गर्नुभएको हो ।
त्यस्तै नेता गौतमले पीपीई सेट ५५५ थान, के–एन–९५ मास्क २ सय थान, एन्टिजेन किट ३ सय थान र अक्सिमिटर ५० थान स्वास्थ्य सामग्री सहयोग गर्नुभएको जिल्ला सचिव पुरुषोत्तम कडरियाले बताउनुभयो । उहाँका अनुसार नेता गौतमले यसअघि ११ लाख ५० हजार रुपैयाँको स्वास्थ्य सामग्री सहयोग गरिसक्नुभएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरियन्ट तिव्ररुपमा फैलिएसँगै भाइरसविरुद्दको अभियानमा एमालले निरन्तर सहयोग गरिरहेको र आगामी दिनमा पनि यो क्रम जारी रहने बताएको छ । कोरोना संक्रमितको उपचारमा कुनै पनि स्वास्थ्य उपकरण र मेडिकल सामग्री अभाव हुन नदिने गरी सहयोगलाई निरन्तरता दिईने एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले बताउनुभयो ।
उहाँले महामारीका कारण स्वास्थ्य सामग्रीकै अभावमा कसैले ज्यान गुमाउन नपरोस् भनेर मानवीय सहायताका लागि एमाले सदैव तयार रहेको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘सरकार, राजनीतिक दलसहित सबैको पहिलो प्राथमिकता जनता बचाउने हो । यस्तो महामारीको समयमा कसैले पनि पूर्वाग्राही नभई महामारीविरुद्द एकजुट भएर लड्नुपर्छ र यस सन्देश एमाले रामेछापले दिँदै आएको छ ।’













प्रतिक्रिया दिनुहोस्