जनता टाइम्स

१७ जेष्ठ २०७८, सोमबार १४:२७

लोकसेवा पूर्व अध्यक्ष नै रेल सञ्चालनमा बाधक बनेको तथ्य खुल्यो, जिएम भट्टराईले गरे षडयन्त्रको भण्डाफोर


उहाँहरुले लोकसेवाको नेतृत्वमा बसेर कति राजनीति गर्नु भो र कसरी सरकार असफल बनाउने भूमिका खेल्नु भो ? भन्ने एउटा सानो उदाहरण मात्रै मैले यहाँ नेपाली जनतालाई राख्न चाहेको हो

काठमाडौं, जेठ १७ । नेपालमा बिकास रोक्न कतिसम्म अवरोध हुन्छ भन्ने उदाहरण नेपाल रेल्वे कम्पनी बनेको छ । लोकसेवा आयोग जस्तो संबैधानिक निकायका प्रमुख नै रेल्वे सञ्चालनमा अवरोध गरी सरकारलाई असफल बनाउन लागेको तथ्य बाहिर आएसँगै यसको पर्दाफास भएको हो ।

नेपाली कांग्रेस सरकारको पालामा लोकसेवाको अध्यक्ष हुनुभएका पूर्वसचिव उमेश मैनालीले सो पदमा रहँदा सरकारलाई असफल बनाउने पार्टीको योजनाअनुसार कामै हुन नदिएर रेलको काममा ठूलै बाधा पारेको तथ्य रेल्वे कम्पनीका महाप्रबन्धक (जिएम) गुरु भट्टराईले खोल्नुभएको छ । मैनाली हाल आयोगबाट कार्यकाल पूरा गरी बिदा भइसक्नुभएको छ । पदमा रहँदा उहाँले नेपालमा रेल सञ्चालन नहोस भनेर कांग्रेसको योजनामा ठूलै षडयन्त्र गरेको महाप्रबन्धक भट्टराईले जानकारी दिनुभयो ।

‘उहाँ लोकसेवा अध्यक्ष होइन, सरकारको बिरुद्ध खडा गरिएको मोर्चाको प्रमुखको रुपमा काम गर्नुभयो, संबिधान भन्दा बाहिर गएर जसरी पनि रेल सञ्चालन हुन नदिन लाग्नुभयो,’ महाप्रबन्धक भट्टराईले भन्नुभयो । भट्टराईले सामाजिक सञ्जालमार्फत पनि मैनालीले गर्नुभएको षडयन्त्रको पोल खोल्नुभएको छ । ‘ मैले एउटा संबैधानिक आयोगले गरेका कुरामा किन बोल्नु भनेर बोलेको थिईंन, तर आज पूर्वअध्यक्षले राजनीतिक बिषयमा छिरेर बमन गरिरहेको देखेर उहाँहरुले लोकसेवाको नेतृत्वमा बसेर कति राजनीति गर्नु भो र कसरी सरकार असफल बनाउने भूमिका खेल्नु भो ? भन्ने एउटा सानो उदाहरण मात्रै मैले यहाँ नेपाली जनतालाई राख्न चाहेको हो,’ महाप्रबन्ध भट्टराईको भनाई छ ।

यस्तो छ भट्टराईको खुलासा

सरकार प्रमुखको ‘इगो’ तुष्टिका लागि र उनको दलको आन्तरिक कलहका लागि देशले लागत बेहोर्नुपर्ने ? : उमेश मैनाली, पूर्व अध्यक्ष, लोकसेवा आयोग ।

उमेश मैनालीज्यू, धेरै नभनौ, तपाईंको नेतृत्वको लोकसेवा आयोगको दलीय प्रबृत्तिका कारण एउटा पीडित म र नेपाल रेल्वे कम्पनी पनि हो । तत्काल नेपालमा रेल्वे सञ्चालनका निम्ति आवश्यक मुख्य जनशक्ति उपलब्ध नभएको, लोकसेवामार्फत कर्मचारी लिन पाठ्यक्रमसमेत नभएको अवस्थामा तत्काल रेल सञ्चालन गर्न नेपाल सरकार मन्त्रिपरिषदले ४६ पदमा २२६ जना कर्मचारी करार सेवामा नियुक्ति गर्न स्वीकृत प्रदान गरेको अवस्था थियो । दक्ष जनशक्तिको बिज्ञापन भएर एकजनाको पनि दरखास्त नपरेपछि अर्को २६ जना (लोको पाइलटसहित) बिदेशी जनशक्ति लिने स्वीकृती पनि मन्त्रिपरिसदले दिएको थियो । २६ जना बिदेशी कामदार ल्याउन हामीले भारत सरकार र त्यहाँको सरकारी कम्पनीसँग सम्पर्क गरेर ब्यबस्थापन गर्दै थियौं ।

तुलनात्मक रुपमा कम दक्ष र केही दिनको तालिम मात्रले पुग्ने २२६ जना मध्ये नेपाल रेल्वेले १२९ जना कर्मचारी लिन बिज्ञापन गरेर ३२ हजारको हाराहारीमा दरखास्त परिसकेर मूल्याङ्कनको चरणमा प्रवेश गरेपछि लोकसेवा आयोगको तात्कालिन अध्यक्ष तपाईं (उमेश मैनाली) लगायत अर्को दुई जना मधेशकै सदस्यले अब रेल चल्ने भो, सरकार लोकप्रिय हुने भो भनेर राजनीति सुरु गर्नु भो, अनि भर्ना प्रकृया रोक्न नेपाल रेल्वेलाई निर्देशन दिने काम भयो । हामीले दुई तीन पटक यस बिषयमा तपाईंलगायतसँग छलफल गर्यौं र करारमा तत्काल कर्मचारी राख्नुपर्ने बाध्यता प्रष्ट पार्यौं । तर ती बिषयहरुमा चुइक्क नबोली निरपेक्ष रुपमा भर्ना प्रकृया स्थगित गर्ने निर्देशन आयो ।

रेल्वेमा सेवा गर्न चाहने हजारौं नागरिकका दरखास्त रद्द गर्न हामी वाध्य भएका छौं र बैकल्पिक व्यवस्थाबाट रेल सञ्चालन गर्न थुप्रै गृहकार्य पश्चात हामी तयार भएका छौं । चाहेको भए हामी कानूनी उपचार खोज्न जान सक्थ्यौ, तर राज्यका निकायबीच किन तनाब सिर्जना गर्ने भनेर असल मनशायले चुप लाग्यौं । म दरखास्त दिनेहरुलाई भन्न चाहन्छु– लोकसेवा आयोगका तात्कालिन पदाधिकारीलाई सोध्नुस, किन कुन कानूनले सरकारले करारमा नियुक्त गर्ने भनिएको बिषयमा रोक लगाइयो ? करारमा कर्मचारी नियुक्त गर्ने कुरा लोकसेवा आयोगको क्षेत्राधिकारभित्र पर्ने कुरा हो ?

लोकसेवामा बसेर कांग्रेसको राजनीति गर्ने तपाईंलगायत अरु दुई जना मधेशकै सदस्य हो । आयोगको त्यस बेलाको राजनीतिकरण र सरकारलाई असहयोग गर्ने नियतले गर्दा आजसम्म रेल सञ्चालन ढिला भयो, कोभिडको समस्याले यसै पनि पूरा काम गर्न नसकिने स्थिति छदै थियो । आयोगको त्यसै निर्णयका कारण आज नेपाल रेल्वे र सरकार आरोप खेपिरहेको छ । यस्तो निक्रिष्ट राजनीति गर्ने तपाईंहरुले प्रधानमन्त्रीको संबिधानसंवत कदमलाई इगो र तुष्टी भन्ने ? लाज लाग्नु पर्ने हो ।

मैले एउटा संबैधानिक आयोगले गरेका कुरामा किन बोल्नु भनेर बोलेको थिईंन, तर आज पूर्वअध्यक्षले राजनीतिक बिषयमा छिरेर बमन गरिरहेको देखेर उहाँहरुले लोकसेवाको नेतृत्वमा बसेर कति राजनीति गर्नु भो र कसरी सरकार असफल बनाउने भूमिका खेल्नु भो ? भन्ने एउटा सानो उदाहरण मात्रै मैले यहाँ नेपाली जनतालाई राख्न चाहेको हो ।