रामेछाप । वाग्मती प्रदेश सभा सदस्य भरत केसीले विकासका काम दिगो सोच राखेर गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार मन्थली नगरपालिकामा भएको अनुभव आदानप्रदान छलफलमा बोल्दै केसीले दीर्घकालीन सोच राखेर काम गर्दा तत्कालको लागि आलोचना हुने भए पनि पछि सबैले त्यसको कदर गर्ने बताउनुभयो । ‘दिगो सोच राखेर ठुला योजना सञ्चालन गर्दा कतिपयले कमिसन खान खोज्यो, नचाहिने काम गर्न लाग्यो भनेर आलोचना पनि गर्छन्, तर कालान्तरमा उनीहरू ठिक ठाउँमा रहेछ भन्ने अवस्थामा आउँछन्’, केसीले भन्नुभयो ।
केसीले आवश्यकताको पहिचान गरी विकास योजना सञ्चालन गर्नुपर्ने बताउनुभयो । ‘विकास अघाएकामा होइन, भोकाएकामा पुग्नु पर्छ’, उहाँले भन्नुभयो ।
नेपालमा विकासको योजना प्रक्रिया नै कमजोर भएको केसीले बताउनुभयो । ‘प्लानिङ प्रोसेस बनाएर काम नगर्दा धेरै ठाउँमा समस्या आएको छ, थाहा नै नपाई विकास योजना जान्छन्, कसले लग्यो, कसरी लग्यो, के काम भयो, केही थाहा नहुने स्थिति बनेको छ’, यसको अन्त्य गर्नुपर्छ, विधि र प्रक्रिया पुगेर आएका योजना मात्र छनोट गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
योजना छनोट प्रक्रियाबाट मात्र आएका योजनालाई विकास योजनामा समेट्नु पर्ने केसीको राय छ । यसो हुँदै कसैको पहुँच र शक्तिको भरमा योजना नपर्ने उहाँले प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्