जनता टाइम्स

१९ जेष्ठ २०७८, बुधबार १४:२७

अध्यक्ष पराजुलीले लक्ष्मीको स्वास्थ्यबारे अस्पताल पुगेर लिनुभयो जानकारी, पीडकले हदैसम्मको सजाय पाउँछ


काठमाडौं, जेठ १९

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले डोटीमा मट्टीतेल खन्याई जलाइएकी लक्ष्मी भाटको अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । एकसाताअघि श्रीमानद्वारा जलाईएकी भाट र उहाँकी छोेरीको कीर्र्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । सोही क्रममा आयोगका अध्यक्षसँगको भेटमा पीडित लक्ष्मी भाटले आफु र नाबालक छोरीलाई आगो लगाई ज्यान मार्ने प्रयास गर्ने आरोपित पति सन्तोष भाटलाई जन्मकैदको सजायको माग गर्नुभएको छ ।

डोटी जिल्ला आदर्श गाउँपालिका वडा–४ बस्ने वर्ष २८ की लक्ष्मी भाटलाई दुई वर्षको छोरी अञ्जु भाट समेतलाई आफ्नै श्रीमान सन्तोष पन्तले ढोका बन्द गरी मट्टीतेल खन्याएर जलाएर सख्त घाइते बनाएको थियो । स्थानिय अस्पतालमा भाटको उपचार हुन नसकेपछि गृह मन्त्रालय र सम्बन्धित क्षेत्रका जनप्रतिनिधि समेतको समन्वय र पहलमा घाइते लक्ष्मी भाट र उनकी छोरीलाई हेलिकप्टरमार्फत उपचारको लागि सोमबार काठमाडौं ल्याई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो ।

आयोगका अध्यक्ष पराजुलीले यस सम्वन्धमा डोटीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसँग वार्ता गरी दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन यस अघि नै आग्रह गरिसक्नुभएको छ । उहाँले यस घटनाले महिला घरभित्रै आफ्नै परिवारबाट सुरक्षित नभएको अवस्था देखाएको भन्दै पीडकले हदैसम्मको सजायँ पाउनुपर्नेमा जोड दिनुभयो । साथै निषेधाज्ञाका कारण धेरै महिला घरभित्रै बस्नुपर्ने, रोजगारी गुमेको कारण आफ्नै नजिकका नातेदार, श्रीमान परिवारबाट हिंसामा परिरहेको जानकारी दिनुभयो ।

आयोगद्वारा सञ्चालित हेल्पलाइन ११४५ पनि हरेक दिन लैङ्गिक हिंसाको गुनासो, उजुरी बढिरहेको भन्दै अध्यक्ष पराजुलीले लैङ्गिक हिंसामा संलग्न हुनेलाई आयोगले कानुनको दायरामा ल्याउन र हिंसा हुन नदिन भर्चुअल माध्यमबाट विविध कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । आयोगले निषेधाज्ञामा घरमा रहेका महिला/किशोरीको मानसिक स्वास्थ्य अवस्थाको सुरक्षाको उद्देश्यले मनोपरामर्श जारी राखेको छ भने हिंसामा परिहाले उक्त हेल्पलाइनबाट २४ घण्टै उजुरी लिने र कानुनी सहयोग समेत सञ्चालन गरिरहेको छ ।

लक्ष्मी भाटलाई जस्तै तत्कालै सहयोग पुर्याउनुपर्ने अवस्थामा सम्बन्धित जिल्ला प्रमुख, स्थानिय जनप्रतिनिधी, अधिकारकर्मीसँग सम्पर्कमा रहेर आयोगले निरन्तर आफ्नो काम जारी राखेको अध्यक्ष पराजुलीले बताउनुभयो । उहाँले हिंसा कुनै पनि समस्याको समाधान होइन, महमारीमा संयमित भएर आफु र आफ्नो परिवारको सुरक्षासहित बस्न पनि सबैलाई आग्रह समेत गर्नुभयो ।