जनता टाइम्स

२७ असार २०७८, आईतवार १९:०६

साउन १ बाट चल्दैनन आईएमईआई नम्बर दर्ता नभएका मोवाइल, ब्यक्तिगत रुपमा यसरी गर्न सकिन्छ दर्ता


काठमाडौं, असार २७ । साउन १ गतेदेखि सबै मोबाइलको इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमईआई) दर्ता गर्नुपर्ने व्यवस्था लागू हुने भएको छ । साउन १ बाट विदेशबाट नेपाल भित्रिएका सबै मोबाइलको आईएमईआई नम्बर दर्ता नगरी नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछाने साउन १ गतेदेखि प्रयोगमा आउने नयाँ मोबाइलको आईएमईआई नम्बर दर्ता नगरी मोबाइल नचल्ने बताउनु भयो । ‘कर नतिरेका मोबाइलहरु आईएमईआई दर्ता प्रक्रियामा गएपछि करको दायरामा आउने छन । अब विदेशबाट कसैले एउटा मात्रै मोबाइल ल्यायो भने पनि त्यसलाई दर्ता गर्नुपर्छ । अहिलेको जस्तो दर्ताविना मोबाइल चल्दैन । व्यवसायीहरूले आयात गरेका मोबाइल फोनको आईएमईआई नम्बर व्यवसायीहरुले नै दर्ता गरिदिन्छन । ब्यक्तिगत रुपमा आफैले विदेशबाट ल्याएको वा आफन्तले विदेशबाट किनेर पठाएको मोबाइलको आईएमईआई दर्ता गर्नुपर्छ । मोबाइल दर्ता गर्दा अहिले कर तिरेको प्रमाणपत्र भने माग्दैन ।’

मोबाइलको आईएमईआई दर्ता गर्दा मोबाइल हरायो वा चोरी भयो भने पनि खोज्न सजिलो र आपराधिक क्रियाकलापमा समेत कमी आउने छ ।
मोबाइलको आईएमईआई नम्बरलाई नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटको आईएमईआई रजिष्ट्रेशनमा गएर दर्ता गर्न सकिन्छ । आईएमईआई नम्बर दर्ता गर्दा कुनै शुल्क नलाग्ने लामिछानेले जानकारी दिए । उहाँका अनुसार वेभसाइटको आईएमईआई रजिष्ट्रेशनमा जाँदा ब्यक्तिगत र आयातकर्तामध्ये ब्यक्तिले ब्यक्तिगतमा गएर दर्ता गर्नुपर्छ ।

दर्ताका लागि नागरिकता वा परिचय खुल्ने डकुमेन्टसमेत अपलोड गर्नुपर्छ । मोवाइल नम्बर, इमेलसहित ब्यक्तिगत परिचय खुल्ने परिचयपत्र अपलोड गरेपछि आईएमईआई रजिष्ट्रेशन हुने प्राधिकरणले जनाएको छ ।