जनता टाइम्स

२ श्रावण २०७८, शनिबार १९:२६

देउवा सरकारसँगै बढ्यो यातायात ब्यवसायीको ठगी धन्दा, राजधानीमै मनपरी भाडा असुली


काठमाडौं, साउन २ । गोकर्णेश्वर निवासी रामचन्द्र सिम्खडाले शुक्रबार गोकर्णेश्वरबाट जोरपाटीसम्मको तीन किमीभन्दा कम दूरी यात्रा गर्दा २० रुपैयाँ भाडा बुझाउनु पर्यो । राजधानीमै सकेजति बढी भाडा असल्ने यातायात ब्यवसायीले सिम्खडासँग २० रुपैया असुलेपछि बढी भाडा लिने बा२ख ६८०५ नंम्बरको बसका बारेमा प्रहरीलाई जानकारी दिनुभयो । तर कुनै पनि कारबाही भएन ।

ट्राफिक प्रहरीको नं १०३ मा फोन गरी तोकिएकोभन्दा रु छ बढी भाडा लिएको जानकारी गराए पनि कारवाही नभएको सापकोटाको भनाई छ । उहाँका अनुसार फोन उठाएका ट्राफिक प्रहरी चन्द्र केसीले कारवाही गराएरपछि जानकारी गराउँछौँ भन्ने जवाफ दिनुभएको छ । त्यो सवारी साधन पछि पनि दादागिरी देखाउँदै सडकमा कुदेकाले कारवाही नभएको उहाँको ठम्याइ छ ।

साउन १ गते शुक्रवार नै रत्नपार्कबाट गौशालासम्म सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रु रमा भट्टराईले पनि तोकिए भन्दा छ रुपैयाँ बढी भाडा तिर्नुपरेको छ । असार ३१ गतेदेखि भाडा बढेको छ । अब चढेपछि न्यूनतम २० रुपैयाँ भाडा भएको छ भन्दै बा५ख २७६४ नंको बसका परिचालकले भट्टराईसँग बढी भाडा असुलेका हुन् ।

नयाँ सरकार बनेसँगै जे पनि गर्न पाइन्छ भन्ने मानसिकता हावी भएकोले जताततै भाडा असुली तीब्र बनेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ताको नेतृत्व सम्हालेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समेत आफै राखेको बेला यातायात ब्यवसायीका लागि यात्रू ठग्ने गतिलो अवसर बनेको यी घटनाहरुले देखाइरहेको नागरिकको गुनासो छ ।

देउवा सरकार आएसँगै सार्वजनिक यातायातको भाडा बढेको छ भनी अधिकांश नागरिक ठगीको शिकार भइरहेका छन । यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाएको सूचना देखिन्छ । तर यातायात व्यवसायीले भने राजधानीमै सकेजति बढी भाडा असुल्न थालेको पाइएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि सरकारले कानमा तेल हालेर बसेको यात्रुको गुनासो छ ।

छोटो दूरीमा छ रुपैयाँ र लामो दूरीमा दोब्बरसम्म बढी भाडा असुली भइरहेको भएपनि अनुगमन गर्नुपर्ने निकाय मौन छन् । विभागको वेबसाइटमा राखिएको ल्याण्डलाइन फोन सम्पर्क गरेर जानकारी गराउन खोज्दा फोन नउठ्ने गरेको यात्रुको गुनासो छ । वेबसाइटमा विभागका सूचना अधिकारी डा लोकनाथ भुसालको मोबाइल नम्बरसमेत राखिएको छ । तर उहाँको ९८५१२५३१३५ मोबाइलमा पटकपटक फोन गर्दासमेत उठ्दैन । यात्रुहरुका अनुसार ठगीबारे जानकारी दिन र कार्वाहीका लागि बिभागका महानिर्देशक नमराज घिमिरेको मोबाइल नम्बर पत्ता लगाएर फोन गर्दासमेत नउठेको गुनासो गर्छन ।