काठमाडौं, साउन २६ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवादेखि सत्ता गठबन्धनका पाँचै नेताको बिगतका बदमासी खोलिदिनु भएको छ । पूर्वप्रधानमन्त्री ओलीले माओवादी क्यान्टोनमेन्टदेखि ललितानिवाससम्मका भ्रष्टाचारको बिषयलाई संसदमै गम्भीर ढंगले उठाउनु भएको हो ।
ओलीले तत्कालीन माओवादी लडाकुको क्यान्टोन्मनेटमा भएको भ्रष्टाचारदेखि ललितानिवास, सर्दु जलाधार क्षेत्र र मातातीर्थको जग्गा प्रकरणको बिषय उठान गर्दै कार्वाही गर्न सरकारलाई चुनौती दिनुभयो । सरकारबाट बाहिरिएपछि पहिलो पटक मंगलबार प्रमुख प्रतिपक्षी नेताका रुपमा बोल्दै ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचणडसहित जोडिएको भनिएको क्यान्टोनमेन्ट भ्रष्टाचार मुद्दा उठाउनु भएको हो । ‘संयुक्त सरकारको नीति तथा कार्यक्रममा भ्रष्टाचारविरुद्ध कारबाही हुन्छ भनेको देखेँ, खुसी लाग्यो, भ्रष्टाचारको कुरा उठेको बेला क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा उठेको छ, यसबारे छानबिन गरेर सरकारले देखाओस,’ ओलीले भन्नुभयो ।
ओलीले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना पनि छानबिन गरेर देखाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिनुभयो । ‘ललिता निवास र मातातीर्थको जग्गाको पनि छानबिन गर्छ होला । सर्दु जलाधार क्षेत्रको पनि क्लियर हुन्छ होला,’ ओलीले भन्नुभयो । ललिता निवास प्रकरणमा कांग्रेस उपसभापति विजय गच्छदारबिरुद्ध मुद्धा चलेको छ भने सो जग्गा प्रकरणमा तात्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसमेतको प्रत्यक्ष संलग्नता देखिएको छ । मातातीर्थको सरकारी जग्गा विक्री प्रकरणमा डा. बाबुराम भट्टराई प्रत्यक्ष रुपमा संलग्न रहनुभएको छ । देउवा सरकारमा प्रचण्ड, माधव, भट्टराई मुख्य डिजाइनरका रुपमा हुनुहुन्छ । एमाले अध्यक्ष ओलीले यी सवै काण्डको छानविन गरी कार्वाही गरेर देखाउन सरकारलाई चुनौती दिनुभएको हो ।
यस्तै उहाँले जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि पनि निसाना लगाउनु भयो । अध्यक्ष ओलीले मधेस आन्दोलन अगाडि रौतहटको गौरमा २२ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनाको पनि छानबिन गर्न चुनौती दिनुभयो । ‘गौर हत्याकाण्डको यति समय भयो, खोइ त छानबिन गरेको ?’, ओलीको प्रश्न थियो, ‘लौ त छानबिन गरेर देखाउनुस ।’ गौर हत्याकाण्डमा उपेन्द्र यादवको प्रत्यक्ष संलग्नता रहे पनि हालसम्म कुनै छानविन हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्