भक्तपुर, साउन ३१ । एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतले केपी शर्मा ओलीसँग भिड्न कसैले सक्दैनन भन्ने तथ्य पुष्टि हुँदै गएको बताउनु भएको छ । भक्तपुरमा शनिवार आयोजित राष्ट्रिय युवा संघ नेपाल कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेविरुद्ध गठबन्धन बन्नुले केपी ओलीसँग भिड्न कसैले सक्दैनन् भन्ने पुष्टि गरेको बताउनुभयो ।
उहाँले जनताको लोकप्रिय मतका साथ एमाले फेरि पनि दुई तिहाइ बहुमत साथ सिंहदरबार छिर्ने घोषणा पनि गर्नुभयो । ‘प्रचण्डले भन्नुभयो रे ! माधव नेपाल बिच्केको दिन हामी अल्पमतमा पर्छौं, त्यही भएर हामी धेरै जान्नेसुन्ने हुनुहुँदैन, फेरि केपी ओली फर्केर आउन सक्छन, सही कुरा गर्नुभयो कमरेड प्रचण्डले,’ बस्नेतले भन्नुभयो । उहाँले गठबन्धन सरकार विरुद्ध दुई विकल्प प्रयोग गर्न सकिने बताउनु भयो । ‘यो सरकारलाई सदनबाट गलत्याएर जाने की, जनताको म्यान्डेड लिएर जाने भन्ने सन्दर्भमा हाम्रो पहिलो प्राथमिकता ५० लाख भोटसहित दुई तिहाइ मत लिएर सिंहदरबारको मूल गेटबाट गएर, अहिले अदालतको परमादेशबाट छिरेका शेरबहादुर देउवालाई झ्यालबाट निकाल्ने हो,’ बस्नेतले भन्नुभयो ।
कथित गठबन्धनले निहु खोजे आफूहरुले चुप लागेर नबस्ने चेतावनी पनि उहाँले दिनुभयो । एक महिना पुग्दा पनि परमादेशको मन्त्रिमण्डललाई पूर्णता दिन नसक्ने सरकारबाट केही आशा गर्न नसकिने समेत उहाँले बताउनुभयो । देउवा नेतृत्वको गठबन्धन सरकार जनताका लागि नभइ आफ्ना नेता तथा कार्यकर्ताका लागि मात्र भएको बस्नेतको भनाई छ । प्रधानमन्त्री देउवाले खोप, खोप, खोप भनेपनि जनतालाई प्राथमिकता नदिइएकोमा कडा आपत्ति जनाउनु भयो । कांग्रेसको नेताका घरमा, मेयरको घरमा, होटलमा खोप देखिएको तर गरिब जनताले खोप नपाएका बताउँदै बस्नेतले भन्नुभयो, ‘एमाले नेतृत्वको सरकारले ल्याएको खोप समेत आफ्नो नेता तथा कार्यकर्तालाई मात्र प्रयोग गरेको छ, जनता खोपको लाइनमा बस्नुपरेको छ, खोपको प्रमाणिकरणका लागि समेत लाइनमा बस्नुपरेको छ, कांग्रेस माओवादीका कार्यकर्तालाई खोपै खोप, जनतालाई खोप न सोप भएको छ ।’
विद्यार्थीलाई खोपको व्यवस्था गर्नुको सट्टा सरकारले परीक्षा स्थगित गरेर उनीहरुको भविष्यमाथि खेलवाड पनि उहाँले बताउनुभयो । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेर भूमिहीन जनताको अपमान गरेको उहाँको भनाइ छ । बस्नेतले जनताको सारथी तथा विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी एमालेमात्र भएको बताउँदै उहाँले जनताको घरघरमा पुगेर आफ्नो जनमूखी कामलाई तिव्रता साथ अगाडि बढाउन युवा संघलाई सुझाव दिनुभयो ।
एमालेका नेता तथा कार्यकर्तामाथि सत्ताको आडमा भौतिक आक्रमण गर्नेलाई युथ फोर्सले ठाउँका ठाउँ ठिक पार्ने चेतावनी पनि उहाँले दिनुभयो । बस्नेतले भन्नुभयो, ‘हामी लोकतन्त्रलाई विश्वास गर्छौं, लोकतन्त्रमा बोल्न पाइन्छ, आफ्नो अभिव्यक्ति दिन पाइन्छ, चित्त नबुझे कानुनी उपचार खोज्न सकिन्छ तर स्वस्थ प्रतिष्पर्धा गर्दा गर्दै भौतिक आक्रमण गर्ने हो भने सत्ता गठबन्धनका साथीलाई हामी भन्न चाहन्छौं- कानुन हातमा लिएर होइन, साथमा लिएर ठाउँको ठाउँ ठिक पार्नेछौं, त्यसको नेतृत्व युथ फोर्सले गर्नेछ ।’
नेता बस्नेतले नेपालमा राजीतिक सिंहहरुले आक्रमण गरेको दिन माधव गुटका २२ सांसद्सँग रहेका केही कार्यकर्ताको अस्थित्व समाप्त हुने बताउँनुभयो । उहाँले भन्नुभयो, ‘जुन भैंसी, मृग सिस्टममा हिँड्छ, त्यसलाई सिंह तथा बाघले पनि आक्रमण गर्न सक्दैन, सिस्टममा हिँड्दा बाहिरबाट कराउला तर त्यसले भित्र आएर केही गर्ने आँट गर्दैन, हाम्रा विरुद्ध रक्सी पसमा बसेर कुरा काट्लान, आफ्नो आसेपासी अनलाईनमा समाचार बनाउलान्, हाम्रो विरुद्ध कांग्रेस, माओवादीलगायत दल कति डराएका होलान् ?’
नेता बस्नेतले युवा संघका कार्यकर्ताले दिनको एक घण्टा संगठनलाई दिए राजनीतिक तथा सामाजिक रुपान्तरण हुने प्रष्ट पार्नुभयो । एमालेले युवाहरुलाई सही रुपमा परिचालन गरिरहेको पनि उहाँले बताउनुभयो । युवा संघका नेताहरु हरेक ठाउँमा सक्षम रहेको र अब आउने चुनावमा भक्तपुरमा कांग्रेसलाई चौपल भोटले हराउने उदघोष उहाँको थियो ।













प्रतिक्रिया दिनुहोस्