प्रदीप कार्की / काठमाडौं प्रदीप भट्टराई अहिलेका सफल निर्देशकको सूचीमा अग्रपंक्तिमा पर्छन् । डेढ दशक अगाडि मह सञ्चारमार्फत रजतपटमा प्रवेश रेका प्रदीपले डेब्यु चलचित्र जात्रा, शत्रु गते र जात्रै जात्रामार्फत आफ्नो निर्देशकीय क्षमता प्रस्ट्याइसक्नुभएको छ । आफू सुहाउँदो वा आफूले न्याय गर्न नसक्ने स्क्रिप्ट छाड्ने गर्नुभएको उहाँ बताउनुहुन्छ । उहाँ नै पछिल्लो समय रियालिटी शो कमेडी च्याम्पियनमा निर्णायक हुनुहुन्छ । पहिलो सिजनमा समेत निर्णायक रहनुभएको उहाँले दोस्रो सिजनमा पनि निरन्तरता दिनुभएको हो ।
तर, निर्णायक बन्ने निर्णय लिन भने उहाँलाई सहज थिएन । चलचित्रको अफर आइरहेको बेलामा उहाँले ठूलो पर्दा नभई सानो पर्दा नै रोन्जुभयो । आखिर उहाँले चलचित्र छाडेर किन रियालिटी शो रोज्नुभयो त ? यो प्रश्न धेरैको मनमा हुन सक्छ । यसको सामना उहाँले पनि धेरैपटक गर्नुभएको छ । केहीले त उहाँलाई चलचित्र निर्माताहरुलाई ‘नो’ भन्नुपर्ने बाध्यता भएपछि प्रत्येक साता सानो पर्दा आउनुपर्ने सोच बनाएको पनि भन्ने गरेका छन् । यद्यपि प्रदीप यसलाई स्विकार्नुहुँदैन । उहाँले शो छनोट गर्नुको कारण नै ‘प्रतिभा’ लाई अगाडि ल्याउने मौका नगुमाएको बताउँनुहुन्छ । शो अफर भएर निर्णायक बन्ने निर्णय लिन उहाँलाई प्रेरित गर्ने तथ्य नै ‘नवप्रतिभा’ बन्यो ।
‘हामीलाई चाहिने मान्छे, हामी नै खोज्न सक्छौं भने त्यो मौका किन गुमाउने ?’ प्रदीपले प्रतिप्रश्न गर्दै भन्नुभयो, ‘म कमेडी जनरामा काम गरिरहेको निर्देशक भएकाले पनि त्यही क्षेत्रलाई चाहिने प्रतिभा खोज्न अगाडि आएको हुँ ।’ आफै कन्भिन्स भएपछि शो गर्ने निर्णयमा पुगेको उहाँ बताउनुहुन्छ । कमेडी क्षेत्रलाई कमेडी च्याम्पियन दिने शोमा प्रदीपले आफ्नो चलचित्रका लागि कलाकार पाउलान् त ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘कसले कति काम गर्न सक्छ भन्ने पनि शोमा रहेर नजिकबाट बुझ्न पाउँछौँ ।’
उहाँले एउटा प्रतिभा कमेडी च्याम्पियन बन्दै गरेको देख्दा आफ्नो कथामा फिट हुने पात्र देख्न पाउने बताउनुभयो । ‘मेरो कथामा सुहाउने च्याम्पियन मात्र होइन, मञ्चमा आउने जोकोही हुन सक्नु हुन्छ,’ उहाँले भन्नुभयो, ‘साथै काम पनि गर्नेछौँ, नगर्ने भन्ने नै छैन ।’ यद्यपि उहाँले कमेडी च्याम्पियनमा देखिने कमेडियन पनि अन्य झैँ सेलेक्सन हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कमेडी च्याम्पियनमा रहेको भनेर होइन कि पात्र सुहाउँदो हुँदा काम गर्ने नै हो ।’
यसरी जोडिए कमेडी च्याम्पियनमा
प्रदीपले लगातार तीनवटा चलचित्र बक्स अफिसमा हिट दिएपछि फिल्मकर्मीसँगको भेटघाट बाक्लो नै थियो । जात्रैजात्राको प्रशंसा बटुलिरहेको समयमा उनलाई एक दिन विशाल भण्डारीले भेट्ने आग्रह गर्नुभयो । फिल्मकर्मी भएकाले भेट्ने समय तय भएर भेटघाट पनि भयो । त्यही भेटमा प्रदीपलाई कमेडी च्याम्पियन अफर भयो । उहाँले आफूलाई रियालिटी शोमा निर्णायक बन्ने अफर आउला भन्ने सोच्नु नै भएको थिएन ‘विशालजीको रिसर्चले केही इम्प्रेस भए पनि मैले डिसिजन दिन सकिनँ र फर्किएँ,’ प्रदीपले भन्नुभयो ।
शोमा सबैभन्दा पछि छानिएका निर्णायक हुन् उहाँ । मोडर्न कमेडी बुझ्ने र आफै कन्टेन्ट राइटर भएका कारण आएको अफर उहाँले केही साथीभाइमाझ सुनाउनुभयो । ‘फ्रेन्चाइज भएको भए क्वालिटी राम्रो हुन्थ्यो, तर आफ्नै छ गाह्रो होला’ धेरैले यस्तै भनेका थिए प्रदीपलाई ।
यद्यपि विशालकै आग्रहमा उहाँ पुनः भेट्न जानुभयो । अनि उहाँले आफ्ना जिज्ञासा राख्नुभयो । उहाँले सेटभन्दा पनि कन्टेन्ट क्रिएटरको बारेमा बुझ्नुभयो । ‘कन्टेन्ट राइटरको टिम राम्रो पाएपछि म शो गर्न सहमत भएँ र उनलाई पनि आफूले बुझेको जानकारी राखें,’ प्रदीपले भन्नुयभयो, ‘सायद त्यो टाइममा मैले बढी अड्काए कि जस्तो पनि लागेको थियो, तर मेरो कुराले उहाँहरु बढी सिरियस हुनुभएको भन्ने पनि लाग्छ ।’ उहाँले शो गर्ने सहमति दिँदासम्म अन्य सम्पूर्ण निर्णायकहरु अनुबन्ध भइसकेका थिए । न्युज कारखाना
प्रतिक्रिया दिनुहोस्