जनता टाइम्स

१५ भाद्र २०७८, मंगलवार २३:२७

नेपाल र पीएनजीबीचको खेल प्रत्यक्ष प्रसारण हुने


काठमाडौं, १५ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा पपुवा न्युगिनी (पीएनजी) सँग खेल्ने दुई खेलको प्रत्यक्ष प्रसारण (लाइभ) हुने भएको छ । आज नेपाल क्रिकेट संघ (क्यान) र डिस होमबीच प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको क्यानले जनाएको छ । क्यानले आयोजना गर्ने घरेलु प्रतियोगिताको प्रत्यक्ष प्रसारणको अधिकार खरिद गरिसकेको डिस होमले अब नेपालले ओमानमा खेल्ने पीएनजीसँगका दुई खेलको प्रत्यक्ष प्रसारण गर्नेछ ।

सम्झौतामा क्यानका तर्फबाट कोषाध्यक्ष रोशनकुमार सिंह र डिस होमका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्यले हस्ताक्षर गर्नुभएको थियो । नेपालले पीएनजीसँग ५ र ८ सेप्टेम्बरमा खेल्नेछ ।

यस सिरिजका लागि नेपाली टिम केही दिन अगाडि ओमान पुगिसकेको छ भने पीएनजी पनि आज ओमान पुगेको छ । पीएनजीसँग नेपालले खेल्ने दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय दिवा–रात्रि हुनेछ, जुन नेपालले खेल्न लागेको पहिलो दिवा–रात्रि एक दिवसीय अन्तर्राष्ट्रिय खेल हो । पीएनजीसँगको खेलपछि नेपाली टिमले अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्ने तालिका छ ।