जनता टाइम्स

२० भाद्र २०७८, आईतवार १०:०४

मनग्ये आम्दानी हुने भएपछि सिंगो गाउँमा सिमी खेती


सुरेश परियार / हुम्ला, २० भदौ

जिल्लाको मध्य क्षेत्रको फुचा गाउँमा सिमी खेती सुरु गरिएको छ। अन्य उत्पादनभन्दा सिमीबाट बढी आर्थिक लाभ लिन सकिने देखिएपछि किसानहरू यसतर्फ आकर्षित भएका हुन् । गाउँवासीलाई सहकारीले सहजीकरण गरेको छ । सर्केगार्ड गाउँपालिका–८ को फुचा गाउँका नुर्बु बुढाले यसअघि अन्य बाली लगाउने जग्गामा यसपटक सिमी खेती सुरु गरेको बताउनुभयो । साढे पाँच रोपनी खेती गर्ने जग्गामा लिमी लगाउन सुरु गरेका उनले आम्दानी राम्रो हुने देखिएपछि खेतीकै रुपमा सिमी लगाउनुभएको हो ।

यसअघि आफ्नै प्रयोगका लागि मात्र सिमी लगाउने गरिएकोमा सहकारीले आफ्ना सदस्यहरुलाई अनिवार्य खेतीका रुपमा सिमी लगाउन सहजीकरण गरेको थियो।गाउँभरिको जग्गा अहिले सिमी खेतीमय भएको छ। खेती पनि राम्रो सप्रेका कारण आम्दानीमा बवद्धि हुने देखिएकाले स्थानीय यसप्रति आकर्षित हुन थालेका हुन्। स्नोल्यान्ड एकीकृत विकास केन्द्रका कृषि प्राविधिक गंगबहादुर बुढाले गाउँभरि ७० रोपनी जग्गामा पहिलोपटक सिमी लगाएको र सिमी राम्रो फलेको बताउनुभयो ।

आयआर्जन गरेर आम्दानी बढाउने लक्ष्य राखेर गाउँबासी नै सिमी खेतीमा लागेको र उक्त क्षेत्रमा सिमी खेतीका लागि राम्रो सम्भावना रहेको उहाँको भनाइ छ । गाउँमै प्रतिकेजी १२० रुपैयाँ मूल्य पाउने भएकाले अन्य बालीभन्दा सिमी लगाउन सबै किसान हौसिएका हुन् । हिमाली अर्गानिक कृषि सहकारीमा आबद्ध रहेका सदस्यहरु सबैले सिमी खेती लगाएका छन्। गाउँमा २६५ घरधुरी छ। यसका लागि गुडनेवर्स इन्टरनेसनल नेपालको आयआर्जनअन्तर्गतको घुम्ती कोषबाट सहयोग प्राप्त भएको छ । न्युज कारखाना