जनता टाइम्स

१६ आश्विन २०७८, शनिबार १९:२०

कांग्रेसमा सर्यो एमालेको रोग, बन्यो समानान्तर कमिटी


सुर्खेत, असोज १६ । पुष्पकमल दाहाल, प्रचण्डसँगको सहकार्यको परिणाम समानान्तर कमिटी बेहोर्न बाध्य एमालेको रोग अव कांग्रेसमा सरेको छ । प्रचण्डकै सहकार्यमा नेपाली कांग्रेस रहेको बेला कर्णाली प्रदेशबाटै कांग्रेसमा पनि समानान्तर कमिटी निर्माणको काम अघि बढेको छ । सभापति शेरबहादुर देउवाको बिपक्षमा रहेको बरिष्ठ नेता रामचन्द्र पौडेल समुहले हुम्लमा समानान्तर कमिटी निर्माण गरेको हो ।

हुम्लाको प्रदेश निर्वाचन क्षेत्र (क) मा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल पक्षले समान्तर कमिटी गठन गरेको छ । पौडेल समूहबाट प्रदेश (क) मा लोकेन्द्र भण्डारीको नेतृत्वमा समानान्तर कमिटी गठन भएको हो । फर्जी मतदानको विषयमा कुनै सुनुवाइ नभएको भन्दै पौडेल समूहले गाउँ, वडा र जिल्लामा पनि समानान्तर कमिटी गठन गर्ने जनाएको छ ।

मतदान अधिकृत राजबहादुर ऐडीले मनोमानी ढंगले निर्वाचन गरेपछि आफूहरुले समान्तर कमिटी बनाएको पूर्वसांसद रीता शाहीले जानकारी दिनुभयो । ‘फर्जी मतदान गरेपछि हामीले समान्तर कमिटी बनाएका छौं,’ शाहीले भन्नुभयो, ‘एकलौटी रुपमा चल्ने पार्टी हैन ।’

हुम्ला जिल्ला पूर्वपर्यटनमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको गृह जिल्ला पनि हो । कांग्रेसको सातौं जिल्ला अधिवेशनसमेत पौडेल समूहले बहिष्कार गरेको पूर्वसांसद शहीको भनाई छ ।