जनता टाइम्स

२२ मंसिर २०७८, बुधबार १९:१३

विचार मिल्नेहरुसँग एकता गर्ने राप्रपाको निर्णय


काठमाडौं, २२ मंसिर । एकता महाधिवेशनबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको पहिलो बैठकले विचार मिल्नेहरुसँग एकता र सहकार्य गर्ने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको राप्रपाको बैठकले विभिन्न ९ निर्णय गरेको छ ।

बैठकले समान विचारधारा भएका व्यक्ति ,समूह, संस्था, संगठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि आवश्यक वार्ता एवं संवादका लागि महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा समितिसमेत गठन गरेको छ । उक्त समितिमा ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहेको राप्रपाले जनाएको छ ।

राप्रपाले आगामी स्थानीय तह निर्वाचन परिचालनका लागि समिति गठन गरेको छ । महामन्त्री भुवन पाठकको संयोजकत्वमा भक्तिप्रसाद सिटौला, रमानन्द न्यौपाने, भरतजंग उप्रेती र डा गीताभक्त जोशी सदस्यसचिव रहेको स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको गरिएको राप्रपाले जनाएको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको मर्यादाक्रम निर्धारण गर्नका लागि उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा मर्यादाक्रम निर्धारण समिति बनाइएको गठन गरिएको राप्रपाले जनाएको छ ।