जनता टाइम्स

१८ असार २०७६, बुधबार ०८:२६

पशुपति क्षेत्रका मुर्ति नै असुरक्षित, कति हराए कोषसँगै छैन तथ्यांक


काठमाडौं, असार १८

ग्वलः अर्थात् पौराणिक पाशुपत क्षेत्र ! नौवटा चोक, नौवटा डबली, नौवटा धारा, नौवटा कुवा, नौवटा इनार, नौवटा शक्तिपीठ, नौवटा क्षेत्रपाल, नौवटा पोखरी र नौवटै जातीय सम्प्रदायको संयोजनबाट बन्यो पाशुपत क्षेत्र। गोलाकार भएका कारण यस क्षेत्रलाई लिच्छविकालअगाडि ग्वलः भनियो।

पछिल्ला दशक पालैपालो ऐतिहासिक मूर्ति एवं पुरातात्त्विक महत्त्वका सम्पदा हराउन थालेका छन्। गोलाकार रूपमा फैलिएको पाशुपतको अस्तित्व खतरामा पर्न थालेको छ। ‘पाशुपत क्षेत्रका नौ शक्तिपीठमध्येका महत्त्वपूर्ण दुई शक्तिपीठ कोटेश्वरी र झम्केश्वरीका मूर्ति हराइसकेका छन्’, पशुपतिनाथ सेवक संघका अध्यक्ष केदारमान भण्डारीले भने, ‘हराएका अरू मूर्तिको त हिसाबकिताबै छैन। यो ऐतिहासिक सम्पदा बचाउने जिम्मा कसले लिने ?’

२०४४ सालमा स्थापित पशुपतिनाथ विकास कोषको अध्यक्ष पर्यटन तथा नागरिक उड्डयनमन्त्री र संरक्षक प्रधानमन्त्री हुने व्यवस्था छ। पाशुपत क्षेत्रका पुरातात्विक सम्पदाको सुरक्षा गर्ने जिम्मा कोषको हो। तर, कोष गठन भएपछि झन् धेरै मूर्ति, सत्तलजस्ता सम्पदा हराउन थालेको भण्डारी बताउँछन्।

पाशुपत क्षेत्रका पुरातात्त्विक महत्त्वका मूर्ति कसरी हराउँछन् भन्ने एउटा उदाहरण हो, राजराजेश्वरी घाटमा अवस्थित बुद्ध मूर्ति। घाटको दक्षिणतर्फको उक्त मूर्ति मर्मतका लागि भन्दै कोषले ०६८ सालमा त्यहाँबाट निकाल्यो। तर, तीन वर्षसम्म त्यो मूर्ति फिर्ता नगरिएको भण्डारीको भनाइ छ।

पशुपतिका सांस्कृतिक सम्पदा विषयमा विद्यावारिधि गरेका कोषका पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनका अनुसार महास्नान घरको पूर्वपट्टिको शंकरनारायणको मूर्ति, रुद्रगाडेश्वरबाट राम र पर्शुरामको मूर्ति हराएको छ। उनले भने, ‘भष्मेश्वर घाटबाट उमामहेश्वरको मूर्ति हराएको छ भने आर्यघाट पारी पुलैछेउमा चारमुखे भूतेश्वरको शिवलिंग हराएको छ। पञ्चदेवको दक्षिणपूर्वी कुनामा रहेको शिवलिंग पनि हराएको छ।’

भारतीय मूलका अमेरिकी विद्वान् पिपालले ‘द आर्ट अफ नेपाल’ नामक किताबमा वनकालीबाट पनि भूतेश्वरको मूर्ति हराएको लेखेका छन्। लैनसिंह बाङ्देलले लेखेको ‘द स्टोलन इमेजेज अफ नेपाल’ मा हराएका भनिएका यी दुई मूर्ति नहराएको उल्लेख छ। पुस्तकमा मृगस्थली जाँदा देखिने ब्रह्माको मूर्ति गोश्वारामा रहेको उल्लेख छ। टण्डनका अनुसार अर्को ब्रह्माको मूर्ति हरायो भने पनि बागमती नदी किनारामा फेला पारेर गौशाला प्रहरी वृत्तमा राखिएको करिब १५ वर्ष भयो।

पाशुपत क्षेत्रबाट हराएका मूर्तिको यकिन विवरण पशुपतिनाथ विकास कोषसँग छैन। हराएका मूर्तिबारे आधिकारिक जानकारी माग्दा कोषले दिन सकेन। (अन्नपूर्ण पोष्ट)