जनता टाइम्स

२० असार २०७६, शुक्रबार १९:४५

त्रिभुवन बिश्वबिद्यालयमै यसरी पास गराइन्छ फेल भएका परीक्षार्थी : यस्तो छ अभियुक्तको स्वीकारोक्ति


काठमाडौं, असार २०

त्रिभुवन बिश्वबिद्यालयको नाम सुन्न साथ बिश्वभर रहेका अधिकांश प्राज्ञहरु सम्मान महसुस गर्छन । त्रिबिमा कुनै पनि अयोग्य ब्यक्तिलाई योग्य बनाउने काम हुन्न भन्ने आम बिश्वास रहेको छ । तर पछिल्ला केही घटनाहरुले बिश्वमै नाम कहलिएको त्रिभुवन बिश्वबिद्यालयको नाम धुलिसात पार्ने काम भएको छ । त्रिबि जस्तो प्राज्ञिक थलोमा पदाधिकारी र प्राध्यापकले आफन्तलाई जागिर लगाउन अयोग्यको अंक बढाउनेदेखि योग्य परीक्षार्थीको अंक घटाउनेसम्मको अपराध गरेको तथ्य सार्वजनिक भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो छानविनपछि पदाधिकारीसहित कर्मचारीबिरुद्ध मुद्दा दायर गरेसँगै यो तथ्य बाहिर आएको हो । आयोगका अनुसार त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीदेखि कर्मचारीसम्मले आयोगको भर्ना परीक्षामा फेल भएका आफन्तलाई नम्बर थपेर पास गराई जागिर दिलाउने गरेको खुलेको छ । पास भएका अन्य परीक्षार्थीको भने नम्बर घटाएर फेल गराएको भेटिएको अख्तियारले जनाएको छ ।

कर्मचारी भर्ना प्रक्रियामा अनियमितता गरेको र आफन्तलाई भर्ना गर्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध बुधवार बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले अध्यक्ष शर्मासहित सदस्य चिन्तामणि पोखरेल, प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, कर्मचारी इन्दिरा तिवारी भन्तना, त्रिविका प्राध्यापकहरू टेकनाथ ढकाल र गोविन्द ढकाल, सहप्राध्यापकहरू राजेश्वर न्यौपाने र ताराप्रकाश पौडेल तथा पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार ३५ वटा उत्तरपुस्तिकमा नियोजित रूपमा प्राप्तांक केरमेट गरिएको भेटिएको छ । अख्तियारका अनुसार उत्तरपुस्तिकाको कोडिङदेखि नै चलखेल गरेर कर्मचारीदेखि सेवा आयोगका अध्यक्षसमेत मिलेर लिखित परीक्षामा चलखेल गभएको छ । त्रिबि सेवा आयोगले २०७३ फागुन २८ गते विभिन्न १६ पदमा विज्ञापन गरेको थियो । त्यसमध्ये ६ पदको लिखित परीक्षाको नतिजा गत वैशाखमा प्रकाशित भएको थियो । आयोगले अयोग्यलाई उतिर्ण गराएको पाइएपछि अख्तियारमा योग्यहरुले उजुरी दिएका थिए । त्यसपछि छानविनको क्रममा उत्तरपुस्तिका परीक्षणमा अनियमितता भएको पाइएको हो ।

अख्तियारका अनुसार शाखा अधिकृत पदको लिखित परीक्षामा ६ जनाको उत्तरपुस्तिकामा केरमेट भएको भेटिएको छ  भने उत्कृष्ट दुईजनालाई फेल गराई अन्य चार जनालाई नम्बर थपेर उत्तीर्ण गराइएको थियो । प्रशासन प्रमुख परशुराम पौडेलकी छोरी नमितालाई पास गराउन प्रथम पत्रमा १७ र तृतीय पत्रमा १६ अंक थपेर पास गराएको अख्तियारको छानबिनले देखाएको छ । यस्तै लेखा अधिकृत पदका लागि २४ जना लिखित परीक्षामा सहभागी भएकोमा सात जनाको उत्तरपुस्तिका केरमेट गरिएको पाइएको छ ।

‘एकजनाको द्वितीय पत्रमा ९ अंक, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १० अंक र तेस्रोको द्वितीय पत्रमा ३ अंक थपेर मेरिटमा पारेको पाइयो,’ मुद्दा दायरपछि अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्य तीनजनाको द्वितीय पत्रमा क्रमशः ७, २ र ३ अंक थपेर मेरिटमा पारेको भेटियो । संपरीक्षण गर्ने परीक्षकले ९ अंक घटाई मेरिटमा तल पारेको र अर्को परीक्षार्थीको द्वितीय पत्रमा २ अंक थपी मेरिटमा पारेको गरी साजनाको उत्तरपुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अंक थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको पाइयो ।’ अख्तियारका अनुसार यस अनियमिततामा उत्तरपुस्तिका परीक्षक राजेश्वर न्यौपाने र संपरीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको छ ।

यस्तो छ त्रिबिकै बदनाम गर्ने अभियुक्तको बयान

१. अभियुक्त : चैतन्य शर्मा
पद : अध्यक्ष, त्रिवि सेवा आयोग

अख्तियारको मागदाबी : चार वर्षसम्म कैद र एक लाख १० हजारसम्म जरिवाना

शर्माले अख्तियारमा दिएको बयानको सार : परीक्षासम्बन्धी सम्पूर्ण कामको जिम्मेवारी मनोनीत सदस्यको भएकोमा निजबाट नै संपरीक्षण गराउने कार्य नगर्नु कमजोरी भएको हो । मेरो रेखदेखमा कमीकमजोरी भएकोमा नैतिक दायित्व लिन तयार छु । शाखा अधिकृतकी परीक्षार्थी पार्वती सापकोटा मेरो नाता पर्ने व्यक्ति होइनन । उनी मेरो ठूलोबुबाको छोरीपट्टिकी नातिनी हुन ।

२. अभियुक्त : प्रा. चिन्तामणि पोखरेल
पद : सदस्य, त्रिवि सेवा आयोग

अख्तियारको मागदाबी : चार वर्षसम्म कैद र एक लाख १० हजारसम्म जरिवाना

पोखरेलले अख्तियारमा दिएको बयानको सार : जथाभावी नम्बर थपघट गरिनु गलत हो र यो कुराको जानकारी मलाई पहिल्यै थिएन । केरमेट भएका कापीहरू मैले बयानका क्रममा हेरेँ, देखेँ । केरमेट भएको छ भने सोको जानकारी त्रिवि सेवा आयोगलाई दिइएको हुन्छ । तर, जानकारी नआएकोले पुनः परीक्षण गराइएन ।

३. अभियुक्त : परशुराम कोइराला
पद : प्रशासन प्रमुख, त्रिवि सेवा आयोग

अख्तियारको मागदाबी : चार वर्षसम्म कैद र एक लाख १० हजारसम्म जरिवाना

कोइरालाले अख्तियारमा दिएको बयानको सार : आयोगका अध्यक्ष चैतन्य शर्मा र सदस्य चिन्तामणि पोखरेलज्यूबाट आदेश भएबमोजिम मैले विशेषज्ञलाई फोन गरी बोलाएको हुँ । उहाँहरूले विशेषज्ञहरूसँग पहिले नै कुरा गरी प्रमुखले भनेअनुसार गरिदिनू भन्नुभएको रहेछ । पछि मलाई बोलाएर विशेषज्ञहरूसँग कुरा गरिसकेका छौँ, तपाईंहरूले उहाँहरूलाई यो काम गर्न दिनुस् भनेर व्यक्ति नभनी केही कोड नम्बर मलाई दिइएको हुँदा मैले बाध्यतावश सच्याउने काम गरेको हुँ । विशेषज्ञ मनोनयन आयोगका चैतन्य शर्मा र चिन्तामणि पोखरेलबाट हुने हुँदा उहाँहरूले नभनी मैले यस्तो काम गर्ने हैसियत हुँदैन । आयोगकै पदाधिकारीले सबै कुरा भएको छ, बोलाएर दिनुस् भनेकोले कर्मचारीको हैसियतमा मान्नुपर्ने रहेछ ।

४. अभियुक्त : प्रा.डा गोविन्दप्रसाद ढकाल
पद : प्राध्यापक

अख्तियारको मागदाबी : चार वर्षसम्म कैद र एक लाख १० हजारसम्म जरिवाना

ढकालले अख्तियारमा दिएको बयानको सारः मैले कपी काटेर बुझाइसकेपछि पुनः त्रिवि सेवा आयोगका कर्मचारी र पदाधिकारीले बोलाई थप्न लगाएको हो । यो काममा सेवा आयोगका अध्यक्ष, सदस्यसचिव र बच्चु भन्ने कर्मचारीले गर्न लगाएका हुन । कपी बुझाएपछि पनि फेरि परिवर्तन गर्न लगाएको हो । मलाई कुनै पनि आर्थिक प्रलोभन पनि दिएको होइन, खालि ‘पावर’को डर देखाएर यी पार्टीका मानिस र यी विद्यार्थी युनियनका मानिस भएकाले नगरी हुँदैन भन्दै थप्न लगाएका हुन । मेरो विवेकले गरेको होइन । तर, मूल अंक भने मूल्यांकनको खास अंक हो ।

५. अभियुक्त : प्रा.डा टेकनाथ ढकाल
पद : प्राध्यापक
अख्तियारको मागदाबी स् चार वर्षसम्म कैद र एक लाख १० हजारसम्म जरिवाना
ढकालले अख्तियारमा दिएको बयानको सार : उत्तरपुस्तिका परीक्षण आयोगकै अफिस कोठामा गरिएको हो । उत्तरपुस्तिका परीक्षण गर्दा ‘एन्सर की’समेत दिइएको थिएन । म आफैँले केरमेट गरी सच्याएको हो, अरूबाट गरिएको होइन । मैले हस्ताक्षर पनि गरेको छु । यसका लागि सेवा आयोगका प्रशासन प्रमुख परशुराम कोइरालाले आयोगमा बोलाउनुभएको थियो । उहाँबाट प्राप्त भएको कोड नम्बरका आधारमा अंक थपघट गरेको हुँ । यो क्रममा २२ अंकसम्म थपघट गरेको छु ।

६. अभियुक्त : ताराप्रकाश पौडेल
पद : सहप्राध्यापक
अख्तियारको मागदाबी स् एक वर्ष कैद, १० हजार जरिवाना
पौडेलले अख्तियारमा दिएको बयानको सार : सहायक कानुनी सल्लाहकार पदसँग सम्बन्धित संपरीक्षक बोर्डमा विशेषज्ञको भूमिकामा उपस्थित थिएँ । परशुराम सरले आयोगको ल्यान्डलाइनबाट फोन गरी बोलाउनुभयो र काम लगाउनुभयो । नियुक्तिपत्र हात नपर्दै काम सम्पन्न गर्नु मबाट त्रुटि भएको हो । मैले संपरीक्षण गर्दा सामान्यतया सबैभन्दा कम अंक प्राप्त कपी र सबैभन्दा धेरै अंक प्राप्त कपीलाई स्याम्पलिङ मेथोडबाट तान्दछौँ । भनसुनले नभई विशेषज्ञताका आधारमा काम गरेको हुँ । गल्ती भएको रहेछ भने सजाय भोग्न तयार छु ।

७. अभियुक्त : राजेश्वर न्यौपाने
पद : सहप्राध्यापक
अख्तियारको मागदाबी स् एक वर्ष कैद, १० हजार जरिवाना
न्यौपानेले अख्तियारमा दिएको बयानको सार : लेखा अधिकृत तेस्रो र मुख्य लेखा सहायक पदको परीक्षाको कपी मैले परीक्षण गरेको हुँ । जाँच गर्ने क्रममा भित्री पृष्ठमा दिएको नम्बर अगाडिको पृष्ठमा ल्याउँदा जोड्न गल्ती भएको हुँदा केरमेट भएको हो । मैले कपी बुझाएर गइसकेपछि दोस्रो दिन मलाई आयोगबाट बोलाएर उत्तरपुस्तिकामा नम्बर थप गरिदिन पर्यो भनियो । उत्तरपुस्तिकामा मैले सुरु दिएको अंक सही हो, पछि दिएको अंक परशुराम कोइरालाको निर्देशनमा दिइएको हो । सजाय भोग्न तयार छु ।

८. अभियुक्त : रामबहादुर पाण्डे
पद : पूर्वसहायक प्रशासक, त्रिवि सेवा आयोग
अख्तियारको मागदाबी स् एक वर्ष कैद, १० हजार जरिवाना
पाण्डेले अख्तियारमा दिएको बयानको सार : मुख्य कार्यालय सहायक दोस्रो पत्र र कार्यालय सहायक पदको प्रथम पत्रको परीक्षा परीक्षण गरेको हुँ । कुनै उत्तरपुस्तिाकामा केरमेट भएको हुन सक्छ । उत्तरपुस्तिकाहरूमा पटक–पटक केरमेट भएको हो । मैले सुरुमा दिएका अंकमा केही थपिदिन भनी सेवा आयोगका कर्मचारीको निर्देशन भएअनुसार पछि आएर थप गरिएको हो । अंक थप्नका लागि परशुराम कोइरालाले निर्देशन दिएका हुन् ।

९. अभियुक्त : बच्चुराम पाण्डे
पद : मुख्य कार्यालय सहायक
अख्तियारको मागदाबी स् एक वर्ष कैद, १० हजार जरिवाना
पाण्डेले अख्तियारमा दिएको बयानको सार : शाखा अधिकृत परीक्षामा परशुराम कोइराला सरको छोरी नमिता कोइराला सहभागी भएको हुँदा उक्त पदको कोडिङ गर्ने कार्य म र इन्दिरा तिवारीले गरेका हौँ । विज्ञापनमा समस्या देखिएको हुँदा मैले सो कुरा कार्यालय प्रमुखलाई जानकारी गराएको छु । उत्तरपुस्तिकाहरूमा अंक करेमेट र थपघट भएको देखिएको थियो । मलाई पुनः कपी झिकेर दिएको कुरा थाहा छैन । मुख्य जिम्मेवार व्यक्ति परशुराम सर हो ।

१०. अभियुक्त : इन्दिरा तिवारी भन्तना
पद : मुख्य कार्यालय सहायक
अख्तियारको मागदाबी : एक वर्ष कैद, १० हजार जरिवाना
भन्तनाले अख्तियारमा दिएको बयानको सारः परीक्षार्थीमध्ये समीक्षा तिवारी मेरो दाजुको छोरी (भदैनी) हुन । उनले परीक्षाका लागि फारम भरेको भन्ने कुरा मलाई जानकारी थिएन । उक्त कुरा रिजल्ट भएपछि मात्र थाहा पाएको हुँदा आफ्नो नातेदारले परीक्षा दिँदै गरेको कुरा आयोगको आन्तरिक कार्यबिधिबमोजिम आयोगमा जानकारी गराउन सकिन । उत्तरपुस्तिका परीक्षणका क्रममा भएको केरमेटबारे जानकारी भएन ।