२१ असार २०७६, शनिबार ००:००

अघि बढ्यो १२ ठाउँमा सुरुङमार्ग : दुई ठाउँमा टेण्डर प्रक्रिया, १० ठाउँमा अध्ययन


नौबिसे–नागढुंगा र सिद्धार्थ राजमार्गको सिद्धबाबामा सुरूङमार्गको डीपीआर बनिसकेको छ । दुवै ठाउँमा टेन्डर प्रक्रियाको तयारी भइरहेको र अन्य १० ठाउँमा अध्ययन सुरू भएको छ

काठमाडौं, असार २१

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ ठाउँमा सुरुङमार्गको अध्ययन गरेर निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ । नागढुंगा–नौबिसे, सिद्धबाबा, खुर्कोट–चियाबारी, कुलेखानी–भीमफेदी, हेम्जा, लामाबगर, गुर्जेभञ्ज्याङ, दाउन्ने, थानकोट–चित्लाङ, कोटेश्वर–जडीबुटीलगायत स्थानमा सुरुङमार्ग बनाउन लागिएको हो ।

बुटवल–पाल्पा खण्डको सिद्धबाबा र नौबिसे–नागढुंगा सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । यी दुवै ठाउँमा निर्माणका लागि टेन्डर प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सबै सुरुङको प्रारम्भिक चरणको काम चाँडै अघि बढाउने जानकारी दिनुभयो । ‘अन्डरपासलगायत सुरुङ निर्माण तीव्र गतिमा अघि बढाउँछौं, प्रारम्भिक चरणको काम गर्न कुनै गाह्रो छैन, हामीले बजेट विनियोजन गरिसकेका छौं,’ मन्त्री महासेठले भन्नुभयो ।

नौबिसे–नागढुंगा सुरुङ निर्माण अवधि जाइकाले ४० महिना तोके पनि २ वर्षभित्र निर्माण सम्पन्न गर्नका लागि लागि अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । जापान सरकारको सहुलियत ऋण सहयोगमा यो सुरुङमार्ग निर्माण गर्न लागिएको हो । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार २२ अर्ब कुल लागत लाग्न अनुमान गरिएको छ । त्यसमा जापानले १६ अर्ब ऋण दिँदै छ भने नेपालले ६ अर्ब रुपैयाँ बेहोर्दै छ । जापानी कम्पनी निप्पन कोई इन्जिनियरिङले नेपाली कम्पनीसँग मिलेर सर्भे र डीपीआर तयार पारेको थियो ।

सुरुङमार्गको लम्बाइ २।७ किलोमिटर हुनेछ । सुरुङमार्ग दुइटा हुनेछ । मुख्य सुरुङमार्गमा सवारीसाधन सञ्चालन हुनेछ भने सहायक सुरुङमार्ग (स्केप्ट टनेल) आपतकालीन समयमा बाहिर निस्कनका लागि प्रयोग हुनेछ । मुख्य सुरुङमार्ग तीन लेन हुनेछ । दुइटा लेन सवारीसाधन आवतजावतका लागि हुनेछ । एउटा लेन सवारीसाधन बिग्रिए वा समस्या आए साइड लगाउन प्रयोग गरिनेछ । सुरुङमार्गको चौडाइ १० मिटर हुनेछ । सुरुङमार्ग नागढुंगाको बस्नेतछापबाट नौबिसे नजिक सिस्नेखोलामा निस्कनेछ ।

त्यसैगरी सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभान गाउँपालिकाको रामापिथेकस पार्कसम्मको अति जोखिमयुक्त १ किमि ३ सय मिटर सुरुङमार्ग बनाउन भौगोलिक अध्ययन गरिसकिएको छ । स्विस डेभलपमेन्ट कोअपरेसनको आर्थिक सहयोगमा अध्ययन गरिएको हो । त्यसको अध्ययन प्रतिवेदन विभागलाई बुझाइसकिएको छ ।

सिद्धबाबाको स्विस सरकारले अध्ययन गरेर विभागलाई बुझाइसकेको छ । जापानी सहयोग नियोग (जाइका) ले अध्ययन गरेको नौबिसे–नागढुंगाको काम केही दिनभित्रै अघि बढ्ने सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक शिव नेपालले जानकारी दिनुभयो । ‘बाँकीको पनि प्रारम्भिक अध्ययन सुरु भइसकेको छ, यस आर्थिक वर्षभित्र सबैको अध्ययन सकिन्छ,’ नेपालले भन्नुभयो । मन्त्रालयले सुरुङमार्गको प्रारम्भिक अध्ययनका लागि १ अर्बभन्दा बढी रकम विनियोजन गरेको छ ।

बीपी लोकमार्गको खुर्कोट–चियाबारी, कुलेखानी–भीमफेदी, पोखरा–बाग्लुङको हेम्जा र लामाबगर सुरुङमार्गको प्रारम्भिक अध्ययन सुरु भएको जानकारी केन्द्रका निर्देशक नेपालले दिए । टोखा–छहरे सडकको गुर्जेभञ्ज्याङ, बुटवल–नारायणगढको दाउन्ने, गणेशमानसिंह सडकको थानकोट–चित्लाङ र कोटेश्वर–जडीबुटी सुरुङमार्गको अध्ययन अघि बढाइने विभागले जनाएको छ । अध्ययनका लागि बजेट विनियोजन भइसकेको छ तर खुटिया–दिपायल र गोदावरीकुण्ड–काभ्रे मौनचौर सुरुङमार्ग अध्ययनमा केही ढिलाइ हुने निर्देशक नेपालले बताउनुभयो ।

त्यसैगरी कोटेश्वर–जडीबुटी सुरुङमार्ग कुन मोडलको बनाउने भन्नेबारे स्पष्ट खाका नआएको उहाँको भनाई छ । अधिकांश सुरुङमार्ग अध्ययनका लागि परामर्शदाता नियुक्त गरिसकिएको उल्लेख गर्दै उहाँले काममा तीव्रता दिइने बताउनु भयो । सुरुङमार्ग निर्माणको खासै अनुभव भएका जनशक्ति मुलुकमा नरहेको जानकारी दिँदै नेपालले जनशक्ति कसरी तयार गर्नेबारे छलफल गरिनुपर्ने सुझाव दिनुभयो ।

‘हामीसँग सुरुङमार्ग निर्माणका लागि अनुभवी जनशक्ति छैन, अर्कोतिर सुरुङमार्ग निर्माण गर्दा आर्थिक रूपले कति फाइदामा छौं भन्ने विस्तृत अध्ययन गर्नुपर्छ,’ नेपालले भन्नुुभयो, ‘दैनिक १० हजार गाडी गुड्ने सडकमा सुरुङमार्ग निर्माण गर्दा मात्रै आर्थिक रूपले फाइदा हुन्छ, सुरुङ निर्माण गर्दा सडकको दूरी घट्नुपर्‍यो, इन्धन खपत पनि कम हुनपर्छ, त्यो भएन भने आर्थिक रूपले घाटा हुन्छ ।’ हाइड्रोपावरको सुरुङ खन्नेबाहेक सडकको टनेलको काम गरेको अनुभव नेपाली प्राविधिकसँग नरहेको उहाँको भनाई छ । सडक टनेलको चौडाइ बढी हुनुका साथै गाह्रो पनि हुने नेपालको भनाई छ ।