जनता टाइम्स

२१ चैत्र २०७८, सोमबार ०८:०५

पशुपति धर्मशालामा सञ्चालित आनन्द होटलसँगको सम्झौता रद्द



काठमाडौं, चैत्र २१ । पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित बतास समूहको होटल आनन्द प्रालीसँग धर्मशाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ ।

कोष र होटेल आनन्द प्रालीकाबीच धर्मशाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका सर्त होटेल आनन्दले पालना नगरेकाले सम्झौता रद्द गरिएको कोषको सञ्चालक परिषद्ले सार्वजनिक सूचना निकालेर जनाएको छ । तिलगङ्गामा रहेको नेपाल–भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन पशुपति क्षेत्र विकास कोषले पठाएको पत्र बुझ्न बतास समूहले अस्वीकार गरेपछि कोषले सार्वजनिक सूचना निकालेर सम्झौता रद्द गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत धर्मशाला खाली गरिदिन बिहीबार नै पत्राचार गरेको थियो । तर,बतास समूहले पत्र बुझ्न अस्वीकार गरेपछि कोषको सञ्चालक परिषद्ले सार्वजनिक सूचना नै निकालेको हो । परिषद्ले होटल आनन्द प्रालिका सञ्चालक आनन्द बतास र प्रालिका प्रतिनिधि ओस्कर बतासका नाममा सार्वजनिक सूचना निकालिएको छ ।

पशुपति क्षेत्र विकास कोष र होटल आनन्द प्रा।लि। का बीचमा नेपाल भारत मैत्री पशुपति धर्मशाला भाडामा सञ्चालन गर्ने बारेमा सम्झौता भएकोमा भाडामा लिने पक्ष आनन्द होटल प्रा।लि।ले सम्झौतामा लेखिएको विभिन्न सर्तहरू पालना नगरेको सूचनामा उल्लेख छ ।