जनता टाइम्स

२५ चैत्र २०७८, शुक्रबार ०७:४५

घोषणापत्रका प्रतिवद्धता अनुरुपका काम भएका छन


शिवराज सुवेदी, प्रमुख, बुटवल उपमहानगरपालिका

कोभिडको बेलामा जताततै त्रास थियो, आफ्नै घरमा समेत कसैलाई संक्रमित भए छुन त के नजिकै पर्न डराउने अवस्था थियो । त्यसबेलामा बुटवलका मेयर शिवराज सुवेदी स्वास्थ्यकर्मी बोकेर संक्रमितको घरदैलोमा पुग्नुभएको थियो । यो मुलुकमा कहीँ पनि नभएको काम बुटवलबाट सुरु भएको हो । संक्रमितको घरदैलोमा पुगेर स्वास्थ्य लाभको कामना गर्ने, हौसला बढाउने, आयुर्वेद ओखती प्रदान गर्ने र योगा सिकाउने कामको सुरुआत गर्ने पहिलो जनप्रतिनिधि बुटवलका मेयर सुवेदी हुनुहुन्छ ।

त्यसअभियानमा उपप्रमुख गुमादेवी आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी, सम्बन्धित वडाका अध्यक्ष र जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरु निरन्तर सहभागी भएर हजारौं संक्रमितको घरदैलोमा पुगेर संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने काम गर्नुभएको थियो । संक्रमण नियन्त्रण र सचेतनामा पनि बुटवलले नै अगुवाई गरेको थियो । २४ घण्टामा आइसीयूसहितको ५० बेडको कोरोना विशेष अस्पताल बनाउने, क्वारेन्टिन र आइसोलेशन बनाउने पनि बुटवल नै हो । लुम्बिनी प्रादेशिक अस्पताल र यहाँका विभिन्न सामाजिक संघसंस्था एवम् निजी क्षेत्रलाई साथमा लिएर बुटवलले कोभिड महामारीमा मुलुककै अभिभावकको रुपमा काम गरेको थियो ।

घरघरमा अक्सिजन सिलिण्डर र आयुर्वेदका औषधि बोकेर जाने, जोखिममा रहेका समुदायको पहिचान गरेर घुम्ती टोली खटाउने, सुत्केरी र गर्भवती लक्षित पोषणलाई निरन्तरता दिने, कोभिड कालमा पनि नियमित खोपलाई जारी राख्नेजस्ता महत्वपूर्ण कामले बुटवललाई मुलुकभरमा अगुवाई गर्ने पालिकाका रुपमा चिनाएको छ । महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारणले आफ्नो थातथलोमा जान नसकेका, बाटोमा अलपत्र परेकालाई ठाउँ–ठाउँमा उद्दार केन्द्र स्थापना गरेर खाना खुवाउने, गन्तव्यसम्म पु¥याउने व्यवस्था मिलाउने र बेखर्चीलाई रकम समेत सहयोग गरेर धेरैलाई भरोशाको केन्द्र बनाउने काम भएको छ । यसअवधिमा बुटवलमा के के काम भए र के कस्ता योजना तय गरियो भन्ने विषयमा बुटवलका प्रमुख सुवेदीसँग गरिएको कुराकानीको सम्पादित अंश

–नगरप्रमुखको रूपमा पहिलो कार्यकालको तपाइँ आफै कसरी समीक्षा गर्नुहुन्छ ?
हाम्रो कार्यकाल स्थानीय तहका एकल अधिकार कार्यान्वयन गर्ने कार्यकाल अर्थात् संविधानको कार्यान्वयनको कार्यकाल पनि हो । अहिलेसम्म हामीकहाँ योजनाबद्ध दीगो विकास प्रक्रियाको थालनी केन्द्रीयस्तरमा भएको थियो, तर स्थानीय तहमा यो पहिलो हो । संघीयता कार्यान्वयनको यो पहिलो प्रयासमा अरू मुलुकका तुलनामा हामीकहाँ धेरै काम सम्पन्न भएका छन् जुन शुभ संकेत हुन् । यसमा पनि हामीलाई दुई वर्षदेखि कोभिड महामारीले सताएको अवस्था छ र महामारीबाट जोगिँदै, जोगाउँदै सेवाप्रवाह सूचारू राख्नुपर्ने पनि छ । यद्यपि यो अवधिमा हामीले बुटवल चिनाउने धेरै महत्वका काम गरेका छौं, अगाडि बढाएका छौं । चुनावको प्रतिवद्धता पत्र र घोषणापत्र अनुसारका धेरै काम भएका छन् ।

जनताकै बीचबाट राजनीतिक नेतृत्वमा स्थापित भएका कारणले पनि हामीलाई समाजको यथार्थ अवस्थाको ज्ञात थियो । उपलब्ध साधन, स्रोत, उपलब्ध जनशक्ति, विद्यमान नागरिक चेतना र हामीकहाँ रहेको सामथ्र्यका आधारमा गर्न सकिने धेरै काम अगाडि बढाएका छौं । हाम्रा खास व्यक्तिगत चाहना केही थिएनन्, जे चाहना अर्थात् प्रतिबद्धता थिए, सार्वजनिक रूपमै भन्दै आएका थियौं । विश्वव्यापी कोभिड महामारी र त्यसले उत्पन्न गराएका अनेकौं असरका कारणले कतिपय काम प्रभावित भए र केही अतिरिक्त समय पनि लाग्यो । जुन अस्वाभाविक र हामीकहाँ मात्रै आइपरेको समस्या होइन् । धेरै काम गर्न सकिन्छ, समृद्धिको लक्ष्य हासिल गर्नका लागि प्रभावकारी जग बसाल्ने, सहज बाटो बनाउन सकिने योजना तय गरेका कारणले पनि गर्न नसकिने भन्दा पनि गर्न सकिने धेरै काम छन् ।

–बुटवल उपमहानगरपालिकाले गरेका कामहरू के–के हुन् ?
बुटवललाई बुद्धावलीको, रामापिथेकशको र कर्णेल उजीरसिंहको समृद्ध बुटवलका रुपमा पहिचान विस्तार गर्ने काम भएको छ । संविधानको कार्यान्वयन गर्दै स्थानीय सरकारका लागि आवश्यक पर्ने कानून निर्माण गर्ने, कर्मचारी, जनप्रतिनिधिको आचारसंहीता बनाएर कामको सुरुआत गर्यौं । मानवीय र भौतिक विकाससँग सहस्राब्दी लक्ष्यको सूचकांकका आधारमा रहेर बुटवललाई कसरी एकीकृत शहरका रूपमा विकास गर्ने भनी एकीकृत शहरी विकास योजना बनायौं । त्यसलाई पाँच वर्षे आवधिक योजनामा ढालेर लक्ष्य निर्धारण गरियो । हामीले समृद्ध बुटवल, खुसी बुटवलवासीको लक्ष्य निर्धारण ग¥यौं । बुटवललाई आर्थिक, साँस्कृतिक र पर्यटकीय केन्द्र बनाएर मात्रै त्यो लक्ष्यहरू पूरा गर्न सकिन्छ भनेर हामी अगाडि बढ्यौं । त्यसपछि हामीले विषयगत योजना बनायौंँ ।

हामीले बुटवलका खास पहिचानमध्ये तीनवटालाई प्राथमिकतामा राखेर प्रतिविम्बित गर्ने प्रयास गरेका छौं । यो बुटवल भनेको बुद्धावलीको अर्थात् गौतमबुद्ध डुल्ने र विचरण गरेको बुद्धावलीको क्षेत्र हो, यो बुटवल भनेको आदिमानवको अवशेष फेला परेको मानवसभ्यताको क्षेत्र हो र यो बुटवल राष्ट्रिय स्वाभिमानको किल्ला जितगढी सम्पदाको क्षेत्र हो । यिनैलाई प्रतिविम्बित गर्ने गरी बुद्ध, रामापिथेकस र कर्णेल उजीरसिंहलाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने, तिनैमा केन्द्रित पर्यटन सर्किट बनाउने र साकार पार्ने काम गरिरहेका छौं । हामीले बुटवल प्रवेश गर्ने जो कोहीले पनि यिनै पहिचान देखेर केही बुझ्ने र गौरव गर्न सक्ने बनाउने पहल गरिरहेका छौं ।

पहिले आफूहरूलाई शासकका रूपमा होइन, सेवकका रूपमा लिएर काम गरेका छौं । सेवकका रूपमा रहेर बुटवलका लागि के–कस्ता योजना तय गरिए र ती योजनाहरूको कार्यान्वयन गर्ने के –कस्ता कार्यक्रम बनाइए भन्ने कुराकै आधारमा मूल्यांकन हुने हो । हामीलाई विश्वास छ, यो अवधिमा हामीले बृहत् बुटवलको अवधारणा बनाएर त्यसलाई साकार पार्नेतर्फ महत्वपूर्ण काम गरेका छौं ।

ऐतिहासिक नगरी बुटवललाई पहिलो कार्यकालमा के–कस्तो बनाउने, त्यसपछिको दश वर्षमा कस्तो बनाउने, २० वर्षमा कस्तो र आगामी ५० वर्षमा कस्तो बनाउने भन्ने दीर्घकालीन महत्वका योजना तय गरिएको छ । त्यसरी योजना तय गर्दा हामीले प्रत्येक वडा, प्रत्येक टोल बस्तीमा पुगेर विभिन्न चरणमा छलफल चलायौं । समुदायको चाहना र अपनत्व झल्किने गरी योजना छनौट र ती योजनालाई कार्यान्वयन गर्ने उपयुक्त कार्यक्रम पनि बनाएका छौं । तिनै कार्यक्रमहरूलाई अहिले अगाडि बढाइरहेका छौं ।

शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, कृषि, पर्यटन र रोजगारीलाई बुटवलको समृद्धिका आधारका रूपमा लिने र तिनलाई साकार पार्ने गरी गुरुयोजनामा समेटिएको छ । अहिलेको घना बस्तीमा बिजुली, पानी, फुटपाथ, सरसफाइ, सुरक्षाको प्रबन्ध र नयाँ बस्ने बस्तीलाई प्लानिङसहितको स्याटेलाइट सिटीका रूपमा विकास गर्ने गरी प्राविधिक अध्ययन पूरा भएको छ । बुटवलमा बहुतलाका बहुउद्देश्यीय भवन निर्माण गर्ने, योजनाबद्ध सहर निर्माण गर्ने र ती बस्तीलाई नयाँ उपसहरका रूपमा विकास गर्ने गरी काम अगाडि बढिरहेको छ । शिक्षामा सुधार नगरी हामी अगाडि बढ्न नसक्ने अवस्था थियो । त्यसैले हामीले शिक्षाको पाँच वर्षीय योजना बनायौं । त्यसपछि आम्दानीका स्रोतहरू व्यवस्थापन गर्नतर्फ लाग्यौं । राजस्व वृद्धिका लागि कार्ययोजना बनायौं । त्यसपछि स्वास्थ्य र सडक सञ्जालको व्यवस्थापनमा लाग्यौं ।

पर्यटकीय, पुरातात्विक महत्वका सम्पदाको संरक्षण र प्रवद्र्धनको काम गर्नु पर्ने थियो । यी सबै कुराहरूको आधार भने पूर्वाधार भएकाले हाम्रो कार्यकाल पूर्वाधार केन्द्रित नै रह्यो । मानवीय र भौतिक विकासलाई सन्तुलित गर्दैै हामी अगाडि बढ्यौँ ।
यो बेलामा कोरोना आयो । स्वास्थ्यका थप जिम्मेवारीलाई पूरा गर्नुपर्ने भयो । हिजो जनस्वास्थ्यले हामीलाई जम्मा आठ वटा स्वास्थ्य केन्द्र दिएको थियो । त्यसमा पनि थोरै कर्मचारी र उपकरण थिए । तीनमा ल्याब, उपकरण र जनशक्तिको व्यवस्थापन हाम्रो कार्यकालमा भएको छ । त्यस्ता स्वास्थ्य केन्द्र अहिले १३ स्थानमा छन् । यो पाँच वर्षमा कम्तीमा २८ देखि ३३ अर्ब खर्च गर्नुपर्ने थियो । स्रोतको सुुनिश्चितता गर्नुपर्ने थियो । हामीले घोषणा पत्रमा संघ र प्रदेशले समेत गर्नु पर्ने कामहरूलाई पनि उल्लेख गरिएको रहेछ । त्यसैले संघ, प्रदेश, निजी क्षेत्र सबैलाई जोडेर समग्र बुटवलको विकासको आधार तयार पारेका छौं ।

–घोषणा पत्रमा गरिएका यहाँहरुका प्रतिबद्धता कति पूरा भए ?
पक्कै पनि पहिलो कार्यकाल भएको, सिमित साधन स्रोतले जनतामा रहेको विकासको तीब्र आकांक्षालाई पूरा गराउनुपर्ने थियो । कतिपय विषयलाई प्राथमिकता निर्धारण गरेर अगाडि बढ्नुपर्ने थियो र हामीले त्यसै गरेका थियौं । हामीले चुनावमा बुटवललाई मुलुकको एउटा सभ्य, सुसंस्कृत, समुन्नत र सबल सहरका रूपमा विकास गर्न सकिन्छ र त्यसका लागि के–कस्ता कार्यक्रम गर्न सकिन्छ भन्दै तय गरेका थियौं । अहिले त्यसबेला गरेका घोषणा अनुरूपका काम भएका छन् ।

समृद्ध बुटवल, सुखी बुटवलवासी भन्ने मूल नारासाथ नगरसभाबाट पारित विकास गुरुयोजना र निर्वाचनका समयमा घोषणापत्रमार्फत जनतासँग गरिएका प्रतिबद्धताहरूको आवधिक, मध्यकालीन र दीर्घकालीन योजना अनुरूप कार्यान्वयन गरिरहेका छौं । भौतिक विकास र मानवीय विकासको सन्तुलनसहित नगर सरकारले अगाडि सारेका बहुवर्षे परियोजनाहरू र जनतासँग प्रत्यक्ष जोडिएका सवालहरू प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेका छौं । आवधिक योजनाहरू पूरा हुने र दीर्घकालीन महत्वका योजनाहरू प्रभावकारी रूपमा अगाडि बढिरहेको अवस्था छ ।

नेपालको इतिहासमा १३ सालदेखि पञ्चवर्षीय योजना लागू भए । अहिलेसम्म १३–१५ प्रतिशतभन्दा धेरै लक्ष्य हासिल गरेको इतिहास छैन् । तर बुटवल त्यो लक्ष्यको नजिक पुगेका थियौं । कोरोनाको बावजुद पनि सफलताको नजिक बुटवल पुग्यो ।
यसले के नतिजा दियो भने चार वर्ष पुग्दा नपुग्दै सामुदायिक शिक्षामा आमूल परिवर्तन भयो । विद्यार्थीहरूको भर्ना दर बढ्यो । ‘ड्रपआउट दर घट्यो । सिकाई बढ्यो । संघीय सरकारले गरेको अध्ययनमा सामुदायिक शिक्षामा बुटवल प्रथम भयो । ‘समृद्ध बुटवल खुसी बुटवलवासी’का लागि बुटवललाई उत्पादनसँग जोड्न पर्ने थियो । खुसीका लागि प्रत्येक घरलाई रोजगारीसँग जोड्नु पर्ने थियो ।

त्यसका निम्ति हामीले दीर्घकालीन योजनाका रूपमा वृहत् कृषि बजार बनाउन लागेका छौं । यो डीपीआरको अन्तिम चरणमा छ । वैदेशिक लगानी ५० प्रतिशत र सरकारको लगानी ५० प्रतिशतको अनुपातमा यो १० अर्बको यो परियोजना अगाडि बढ्दै छ । आसपासको उत्पादनलाई व्यवस्थापन गर्न बधशाला अन्तिम चरणमा छ । कृषि क्षेत्रमा दुग्ध उत्पादन सात÷आठ हजार लिटरबाट १६ हजार लिटर पुगेको छ । उत्पादनमा अनुदान दिने नीति ल्याएका छौं । बुटवलको किसानले प्रति लिटर दूध ८१ पैसा पाउनुहुन्छ ।

यस्ता कार्यक्रमले बुटवलको कृषि क्षेत्र व्यवस्थित भएको छ । यहाँका किसानहरूमा उर्जा आएको छ । एउटा उदाहरण दिउँ–हाम्रो बुटवलमा कृषि थोक तथा फलफूल केन्द्रमा पहिले ७० प्रतिशत कृषि उत्पादन भारतीय हुन्थ्यो भने अहिले त्यो ७० प्रतिशत उत्पादन नेपाली हुन थालेको छ । यी कुराहरू घोषणापत्र अनुरूपकै हुन् । हामीले बुटवलबाट नै मुलुकमै पहिलो पटक फसल धितो राखेर किसानलाई अनुदान दिने नौलो कार्यक्रम सुरु गरेका हौं । यस कार्यक्रमबाट सयौं किसान लाभान्वित हुनुभएको छ । सहरी कृषि प्रवद्र्धन कार्यक्रमले पनि बुटवललाई कतिपय कृषि उपजमा आत्मनिर्भर बन्न सघाईरहेको छ ।

–प्राचीन सहरका रुपमा रहेको बुटवलमा दीर्घ महत्वका कामहरू के–के भए ?
बुटवल बुद्धावलीको प्राचीन सहर हो र यसका पहिचान विस्तार गरेको विषयलाई माथि नै उल्लेख गरेका छौं । बुटवलले तिलोत्तमा, सैनामैना र देवदह गरी तीन वटा उप–सहरका रूपमा स्थापना गरेको छ । यसकारण बुटवल आमा सहर पनि हो । ती उप–सहरहरूको समेत डिजाइन गर्नुपर्ने थियो । ती सबै काम सकेर अब विकासको सम्पूर्ण आधार तयार भएको छ । यसको मुख्य आधार पूर्वाधार भएको हुनाले शैक्षिक पूर्वाधार, यातायात पूर्वाधार, कनेक्टिभिटीका पूर्वाधार, भविष्यको वृहत् बुटवल बनाउनका लागि छिमेकी पालिकाहरूसँग समेत सहकार्य गरेर चक्रपथ जोड्ने र भविष्यको महानगरका लागि चाहिने पूर्वाधारहरू तयार हुँदैछन् ।

फोहोर व्यवस्थापनको दीर्घकालीन व्यवस्थापनका लागि तीन वटा पालिका मिलेर अगाडि बढेका छौँ । यी सबै गर्दा हामीहरूले प्रक्षेपण गरेका योजनाअनुसार, ५ वर्षको अवधिमा २८ देखि ३३ अर्ब खर्च गर्नुुपर्ने थियो । त्यसको समेत स्रोत सुनिश्चतासहित कार्य अगाडि बढेको छ । जनप्रतिनिधिका रूपमा आइसकेपछि नगर गौरव, प्रदेश सरकारसँगको सहकार्यमा अगाडि बढाइएका प्रदेश गौरव र संघीय सरकारसँगको सहकार्यमा राष्ट्रिय गौरवका आयोजनाहरूको पूर्णता दिनेतर्फ ध्यान दियौं ।

वडालाई सेवाकेन्द्रका रूपमा सञ्चालन गर्न भवन निर्माण, प्रमुख प्रशासकीय भवन निर्माण, नगर शिक्षा योजना, सहरी विकास गुरुयोजना निर्माणदेखि बुटवललाई डिजिटल सहरका रूपमा विकास गर्ने कुरा, सहयोगापेक्षी सडकमानवमुक्त र लैंगिक हिंसामुक्त सहर घोषणा गर्ने कुरा, समृद्धिका आधार तय गर्ने कुरा, राष्ट्रिय स्वाभिमानको जितगढी सम्पदाको संरक्षण, विस्तार र त्यसलाई उजागार गर्ने कुरा, बुटवलमा जितगढी संग्रहालय बनाउने कुरा, मुलुककै पहिलो ढुवानीग्राम निर्माणको कुरा, बुटवल वधशाला निर्माणको कुरा, सिमसारको संरक्षण गर्दै डुंगा सयर गर्न मिल्ने बैठौलिया ताल विस्तारको कुरा, बहुउद्देश्यीय सपिङ कम्प्लेक्स निर्माणका कुरा, आन्तरिक वाइपास सडक निर्माण, पुलपुलेसा निर्माण, उज्यालो सहर निर्माण सम्पन्न भइसकेका छन् । यी सबै विषय दीर्घकालीन महत्वका हुन् ।

अबको कम्तिमा ५० वर्षपछिको यहाँको जनघनत्वको अनुमान गर्दै वृहत् बुटवलको खाका बनाउने र त्यसलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै जाने काम भइरहेको छ । हामीले बनाएको सहरी विकास गुरुयोजनाले पनि आगामी केही दशक पछिको अवस्थाको आँकलन गर्दै सोही अनुरूपका योजना छनौट गरेको छ ।

–राजमार्ग चौराह–गोलपार्क सडक खण्डका कारण तपाईंको आलोचना पनि भइरहेको छ नि ?
हो । बुटवल अहिले धुलै धुलो छ भन्ने कुरा उठेका छन् । यसलाई कसरी बुझ्न पर्छ भने बुटवल पुरानो सहर हो । यो कुनै योजनाबद्ध तरिकाले बसेको सहर होइन । ‘रेट्रोफिटिङ’ गर्नुपर्ने सहर हो र मर्मत सम्भार गर्दै अगाडि बढ्नुपर्ने छ । खासगरी बुटवल–बेलहिया सडकको जुन कुरा छ, त्यो म मेयरमा निर्वाचित हुनभन्दा अगाडि नै सडकमा मुद्दा परिसकेको थियो । तीन वर्षसम्म त मुद्दामा अड्कियो । अदालतले स्टे अर्डर दियो । त्यो स्टे अर्डर भएपछि बुटवल उपमहानगरपालिकाले आफूले वकिल राखेर सडक अधिकार क्षेत्रमा किन स्टे अर्डर गरेको भनेपछि स्टे अर्डर रोकिएर काम सुरु भएको हो ।

अहिले फेरि ढिलासुस्ती भइरहेको छ । यसले बुटवलको मुहार बिगारेको छ । तर भित्री सडक तपाईंले हेर्नुभयो भने हामीले धेरै परिवर्तन गरेका छौं । भित्रि सडकमा सडक लाइट राख्ने कुराहरू सबै भएको छ । श्रवणपथ वाइपास सडक पनि लगभग सम्पन्न हुन लागेको छ । अरू वाइपास पनि सम्पन्न हुने क्रममा छन् । हाम्रो कार्यकालमा मात्रै झण्डै आठ सय घर सारेर सडक फराकिलो पारेका छौं । बुटवल पहिले कति साँघुरो देखिन्थ्यो भने अहिले खुला देखिन्छ ।

तिनाउ दावन कोरिडोरमा पनि मानिसहरूले अनेक प्रश्नहरू गरेका छन् । तर त्यो ठाउँमा नक्सा पास हुँदैन । त्यो नक्सा पास नहुने स्थानमा नागरिकलाई जग्गा दिएर हुने केही पनि होइन् । त्यसैले सडक पनि बनाउने, हरियाली पनि बनाउने र इतिहासदेखि बाढी आउने कुरा जुन् छ, त्यसको जोखिम कम गर्ने गरी तिनाउ–दानव कोरिडोरको योजना कार्यान्वयनमा छ ।

जनताको पहिलो र आधारभूत सरकार भएका कारणले पनि जनताले बुटवलप्रति आशा राख्नु, जवाफदेहीता खोज्नु अस्वभाविक होइन । संघीय सरकार मातहत ठेक्का लागिसकेर केही करोड रकम भुक्तानी समेत भइसकेको सडकमा पालिकाले आफैले केही गर्न नमिल्ने सार्वजनिक खरिद ऐन र कानून रहेकाले पनि हामी चेपुवामा परेको अवस्था छ । विकासका काममा पूर्वाग्रह मिश्रित राजनीति घुसाउने गलत प्रवृत्ति र त्यसबाट उत्पन्न हुने असहजता र कष्ट पनि आम जनतामा नै पर्छ भन्ने कुरामा हामी सचेत छौं र अरुलाई पनि सचेत बन्न बिनम्र आग्रह गर्दछु ।