जनता टाइम्स

११ बैशाख २०७९, आईतवार १९:०६

पञ्चायत फाल्ने जनआन्दोलनका एक कमाण्डर थिए तिलोत्तमा नगर प्रमुखका उम्मेदवार बनेका मोहन


लक्ष्मण पौडेल, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार भएका मोहन चापागाईंले २०४६ को जनआन्दोलनमा अखिलको मोर्चा सम्हाल्नु भएको थियो । रुपन्देहीको आन्दोलनमा त्यसबेला शंकरनगर–आनन्दवन क्षेत्रले ठूलो प्रभाव पार्थ्यो । त्यसबेला अखिलको तर्फबाट चापागाईं आन्दोलनको कमाण्डर हुनुहुन्थ्यो । आन्दोलनकै क्रममा प्रहरीले उहाँको घर घेराउ गरी चापागाईलाई पक्राउ समेत गर्‍यो । त्यसयता उहाँको राजनीतिप्रतिको झुकाव अरु बढ्दै गयो ।

२०३० सालमा बुवा काशीराम चापागाईँ र आमा ज्ञानकुमारी चापागाईँको कोखबाट जन्मिनु भएका चापागाईंले राजनीति, पत्रकारिता र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ । दुर्गादत्त उच्च माविमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्षबाट राजनीतिक यात्रा सुरू गर्नुभएका चापागाईं १६ वर्षकै उमेरमा २०४६ सालमा अनेरास्ववियु रूपन्देहीको सदस्य हुनुभएको थियो । पछि अनेरास्ववियुबाट बुटवल बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति बन्नुभएका चापागाईंँ ३० वर्षदेखि पत्रकारितामा संलग्न रहँदै आउनु भएको छ ।

हाल एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं प्रेस चौतारी प्रदेश इन्चार्ज चापागाईं प्रेस चौतारी रुपन्देहीको अध्यक्ष, केन्द्रीय उपाध्यक्ष, पत्रकार महासंघ रुपन्देहीको अध्यक्ष हुँदै केन्द्रीय सदस्य समेत बन्नुभयो । रेडियो लुम्बिनी स्थापनाकालमा उहाँ कार्यकारी निर्देशक बन्नुभएको थियो । चापागाईं सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) को अध्यक्ष समेत हुनुभयो । त्यतिबेला भूकम्पका कारण क्षति व्यहोरेका देशभरका सामुदायिक रेडियोहरुको समस्या संबोधन गर्न उहाँले निकै पहलकदमी लिनुभयो ।

२०७३ सालमा केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री रहेका विष्णु पौडेलले चापागाईंलाई सञ्चारविज्ञको रुपमा नियुक्त गर्नुभएको थियो । एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा बनेपछि उहाँ पार्टीको तिलोत्तमा नगर कमिटीको अध्यक्ष र जिल्ला प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नुभयो ।

चापागाईं तिलोत्तमा नगर कमिटीको नेतृत्वमा आएसँगै पार्टी एकतापछि कमजोर र लथालिङ्ग बनेको संगठनलाई सुदृढ बनाउन मुख्य भूमिका खेलेको एमाले नेताहरु बताउँछन् । पार्टीमा उहाँ कुशल संगठक र विपक्षीको रणनीति बुझेर सोही अनुसार योजना निर्माण गर्ने क्षमता राख्ने नेतामा पर्नुहुन्छ।

चापागाईं अहिले बुटवलबाट प्रकाशित सबैभन्दा पुरानो पत्रिका दैनिक लुम्बिनीको अध्यक्ष हुनुहुन्छ । उहाँ उम्मेदवार भएको तिलोत्तमा नगरपालिका स्थानीय तहमा दुई वर्षसम्म लगातार उत्कृष्ट नगरपालिका बन्न सफल भएको छ । अघिल्लो निर्वाचनमा एमालेले नेपाली कांग्रेस र जनमुक्ति पार्टीबीचको गठबन्धनसँग एक्लै चुनाव लडेको थियो । अघिल्लो निर्वाचनमा एमालेका वासुदेव घिमिरेले कांग्रेसका रामकृष्ण खाणलाई झण्डै २ हजार ३ सय मतान्तरले जित्नुभएको थियो । मेयरमा घिमिरेले १९ हजार ८४ मत ल्याउँदा खाणले १६ हजार २ सय ६४ मत प्राप्त गर्नुभएको थियो ।

उपमेयरमा जगेश्वरदेवी चौधरीले १९ हजार २ सय २४ मत प्राप्त गरी विजयी हुँदा जनमुक्तिकी गिता सारू मगर १६ हजार ६ मत प्राप्त गरी पराजित हुनुभएको थियो । एमालेले उपमेयरमा चौधरीलाई नै दोहोर्याएको छ ।

२०७४ को निर्वाचनमा तिलोत्तमाका १७ वटा वडामध्ये वडा नंं ९, १०, १६ र १७ काँग्रेस–जनमुक्ति गठबन्धनले जितेको थियो भने अरू १३ वटा वडा एमालेले जितेको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ७१ हजार ७४ मतदाता रहेको तिलोत्तमामा यस पटक भने १४ हजार ६ सय ७३ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय रूपन्देहीका अनुसार हाल तिलोत्तमा नगरपालिकाको मतदाता संख्या ८५ हजार ७ सय ४७ छ ।