१३ भाद्र २०७५, बुधबार ००:००

एन्जेलिनाको गुनासोः ब्राड पिटले बच्चाको खर्च दिएनन्


हलिउडका अत्यधिक चर्चित दम्पत्ति ब्राड पिट र एन्जेलिना जोली अहिले अलग भइसकेका छन् । दुई वर्ष अगाडिदेखि छुट्टएि पनि उनीहरुबीच कानूनी लडाई भने सकिएको छैन ।

एन्जेलिनाले सम्वन्धविच्छेदको लागि दिएको मुद्दा टुंगिएको छैन । उनी चाँडोभन्दा चाँडो यो टुंगियोस भन्ने चाहन्छिन् । उनले आफ्ना सन्तानको भरणपोषणका लागि पूर्वश्रीमानले आवश्यक खर्च नदिएको गुनासो गरेकी छन् ।

जोलीका वकिलले लस एन्जेलस सुपरियर कोर्टमा मंगलबार दायर गरेको दस्तावेजमा अभिनेत्रीले यही वर्षभित्र सम्वन्ध विच्छेदको प्रक्रिया पुरा होस भन्ने चाहेको उल्लेख छ ।
दस्तावेजमा भनिएको छ, ‘अलग्गिएपछि ब्राड पिटले बच्चाहरुको रेखदेखका लागि आवश्यक खर्च दिएका छैनन् र कुनै किसिमको सहयोग गरेका छैनन् ।’

एन्जेलिना र ब्राड पिटका १६ वर्षदेखि १० वर्षसम्मका ६ सन्तान छन् ।