जनता टाइम्स

१७ श्रावण २०७६, शुक्रबार १३:३०

तरकारी बाली सुक्न थालेपछि किसान चिन्तित


सुनसरी, साउन १७

सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का प्रभु मेहताले पाँच कट्टामा भन्टा खेती गर्नुभएको थियो । करीब १५ हजारको लागतमा उहाँले लगाउनुभएको भण्टा एक्कासि सुक्न थालेकाले अहिले उहाँ चिन्तित हुनुभएको छ । घर खर्च चलाउनका लागि मुख्य स्रोतको रुपमा रहेको तरकारी खेती असार अन्तिम साता आएको बाढीले सखाप बनाएकाले अहिले उहाँलाई घरपरिवार कसरी चलाउने भन्ने चिन्ताले सताएको छ ।

उहाँजस्तै देवानगञ्ज–५ का भोलाप्रसाद मेहताले समेत पाँच कट्टामा खुर्सानी खेती गनुुभएको थियो । करीब रु ३५ हजारको लागतमा लगाइएको खुर्सानी सुक्न थालेपछि उहाँलाई पनि चिन्ताले सताएको छ । घरमा भएको रकम र ऋण काढेर लगानी गरेर केही आम्दानी होला र घरपरिवार चलाउँला भन्ने आशामा गरेको व्यवसाय सुक्न थालेपछि अब के गर्ने र कसरी परिवार चलाउने भन्ने चिन्ताले उहाँलाई पनि सताएको छ ।

महँगो बीउ, मल र मजदूर लगाएर मेहताद्वयले गर्नुभएको खेती सुक्न थालेपछि उहाँहरुलाई हातमुख जोड्नसमेत समस्या भएको छ । तरकारी खेतीकै भरमा घरपरिवार चलाउँदै उहाँहरूले केही कमाउने भन्ने आशले गरेको व्यवसाय चौपट हुन थालेकाले लगानीसमेत नआउने भएपछि उनीहरुलाई हास्नु न रुनुजस्तै भएको हो ।

उक्त गाउँपालिकामा मात्रै बाढीका कारण करीब ५० बिघा तरकारी बाली सुक्न थालेको अनुपम तरकारी कृषि सहकारी सस्ंथाका अध्यक्ष रामवृक्ष मेहताले बताउनुभयो । सहकारीबाट लिएको ऋणले तरकारी खेती गरेका कृषकले त्यसैको आम्दानीले ऋण पनि तिर्ने र घरपरिवार पनि चलाउने आशा गरे पनि आशा निरासामा परिणत भएका हुन् ।