जनता टाइम्स

१ कार्तिक २०७९, मंगलवार १४:४७

‘केन्द्रको गठबन्धन सिन्धुलीमा काम लाग्दैन, जनताले एमालेसँग गठबन्धन गरिसकेका छन’


नेकपा एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार, सिन्धुली –१ का उम्मेद्वार प्रदीप कटुवालसँग जनताटाइम्सले गरेको कुराकानीको सार अंश

तपाईको निर्वाचन क्षेत्रको हालको राजनीतिक अवस्था कस्तो छ ?

सिन्धुली जिल्लाको निर्वाचन क्षेत्र नं–१ नेकपा एमालेले सधैं निर्वाचन जित्दै आएको क्षेत्र हो । पहिले सिन्धुलीमा प्रतिनधिसभाको तीन वटा क्षेत्र थिए, अहिले दुई क्षेत्र मात्र भएको छ । यहाँ हामीले विकासका कामहरू तिब्रगतिले गरेका छौं । हामीले २०४३ सालको जनपक्षिय प्रधानपञ्च हुँदै, जिल्ला विकासको सभापति हुँदै हामीले जनताका पक्षमा कामहरू गर्यौं ।

म पञ्चायत विरोधि आन्दोलनमा सरीक हुँदै कम्युनिष्ट राजनीतिमा लागेंको मान्छे हो । सिन्धुलीमा विकासले तिब्रता पाएको भने २०५१ सालदेखि हो । तत्कालिन एमाले अध्यक्ष तथा पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा ल्याइएको ‘आफ्नो गाउँ आफै बनाउँ’ र ‘नौ स’ को कार्यक्रमले सिन्धुलीमा त्यसमा पनि सिन्धुली क्षेत्रनं. १ मा विकासको लहर सिर्जना भयो ।

हामीले धेरै काम गरेका छौं । सडक सबै ठाउँमा पुर्याएका छौं, शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि धेरै काम गर्यौं । अहिले म पब्लिक क्याम्पसको केन्द्रीय उपाध्यक्ष हो । पहिले जहाँ ३ कक्षा ५ कक्षासम्म पढाइने स्कूल थिए त्यहाँ अहिले डिग्री कलेज भएका छन् । हामी कहाँ डिग्रीसम्म पढाइ हुने कलेजहरू धेरै छन्, प्राविधिक विद्यालयहरू पनि प्रयाप्त छन् ।

स्वास्थ्य संस्थाका भवनहरू बनेका छन्, सुरक्षा निकायका भवनहरू पनि धेरै वटा बनेका छन् । अब अहिले भूकम्पपछिको पुर्निमाणका कामहरू भएका छन् । सिन्धुलीमा हामीले विकास निर्माणका प्रयाप्त कामहरू हामीसंग जोडिएर, नेकपा (एमाले) जोडिएर र त्यसमा पनि प्रदीप कटुवाल जोडिएर भएका छन्ं । त्यसैले हामीले चुनाव जित्ने आधारहरू धेरै छन् र आगामी दिनमा पनि के गर्ने ? भन्ने हामीसंग आइडियाहरू धेरै छन् ।

नेपाली काँग्रेसलगायतको पाँच दलीय गठबन्धनसंग प्रतिस्पर्धा छ जित्न त गाह्रै पर्ला नि ?

हा. . .हा . . . हा . . . यो गठबन्धन हामी कहाँ टुटिसक्यो । उनीहरूको गठबन्धन टुटेको कुरा के म बताउछु भने मसंग प्रतिस्पर्धा गर्ने काँग्रेसका उम्मेदवार छन् श्याम घिमिरे भन्ने उनी त्यहाँका स्थानीय होइनन् । घिमिरेजीको परिवार धेरै पहिले १८–२० सालतिर सिन्धुलीबाट बसाई सरेर महोत्तरी गएको हो । उनी उतै जन्मे, हुर्केका हुन् । सिन्धुलीको भूगोल, यहाँका स्थानीयसंग पनि उनी राम्रो परिचित छैनन् ।

महोत्तरीमा उनले नसकेपछि सिन्धुली पठाइएका हुन् । अघिल्लो पटक प्रदेशसभामा मैले धेरै मतान्तरले हराएको मान्छे हुन् । अब अहिले स्थानीय गठबन्धन सम्वद्ध दलका कार्यकर्ताले नरुचाएको उम्मेदवार हुन् श्याम घिमिरे भन्ने । उनी परेदेशी हुन् यो मैले लगाएको आरोप होइन् त्यहीका काँग्रेसीहरू भन्दैछन् । स्थानीय काँग्रेसीहरू, कहिले पनि हामीले हाम्रै माटो र हावापानीमा भिजेको स्थानीय लिडर नपाएको गुनासो गरिरहेका छन् ।

त्यसैले केन्द्रको गठबन्धन जता भए पनि स्थानीय मतदाताले हामीसँग गठबन्धन गरेका छन् । उहाँहरूले भोट हामीलाई दिनेकुरा भएको छ । एमालेभन्दा पनि प्रदीप कटुवाललाई भोट आउँछ, अन्य दलका स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकबाट पनि । निर्वाचन क्षेत्र नं. १ त हामी जित्छौं नै क्षेत्र नं. २ पनि जित्नसक्ने आधार तयार भएको छ ।

तपाईको क्षेत्रमा स्थानीय निर्वाचनको स्थिति के हो ?

सिन्धुली क्षेत्र नं. १ मा तीन ओटा गाउँपालिका र एउटा नगरपालिका अनि अर्को नगरपालिकाको तीन वटा वडा पर्दछन् । तीनवटा गाउँपालिकामा दुई वटा गाउँपालिकामा हामीले बहुमतसहित जितेका छौं र कमलामाई नगरपालिकाको क्षेत्र नं. १ मा पर्ने तीन वटा वडामा पनि दुईवटा वडा हामीले जितेका छौं । दुधौली नगरपालिकामा भने यसपटक हामीले मेयर गुमाएका छौं ।

त्यसमा पनि हिजो चाँही टाउकोमा एउटालाई अरू एमालेलाई भोट दिन्थे, अर्थात टाउको काटेर भोट दिन्थे, अन्तर्घात हुन्थ्यो । तर, अहिले त्यो हुँदैन । उता (गठबन्धन) बाट पनि मलाई साथसहयोग रहन्छ किनभने काँग्रेसका उम्मेदवार परदेशी भएकाले उम्मेदवार विशेषमा सहयोग गछौं भन्नुभएको छ, काँग्रेस –माओवादीका साथीहरूले । यता एमालेमा कहीँ कतै अन्तर्घातको सम्भावनै छैन् । एमाले एकजुट भएर लागेको छ ।

सिन्धुली क्षेत्र नं. १ को खास समस्या के-के छन् ?

त्यहाँ कमला नदीको समस्या छ । कमला नदी नियन्त्रण गर्नु पर्ने भएको छ । त्यसलाई करिडोर बनाउने योजना छ । अर्को चदाँहा नदी नियन्त्रण गर्नु पर्ने छ । बाटोहरू खनिएका छन् ती धेरैजसो कच्ची नै छन्, ती सबै बाटालाई पक्की वा पिच बनाउनु पर्ने छ । १ नं. क्षेत्रको केही ठाउँमा अहिले पनि विजुली पुर्याउन सकिएको छैन । रत्नावती, फिक्कलका केही ठाउँहरूमा विजुली पुर्याउनु पर्ने छ ।

खास समस्या भनेको मानिसलाई उत्पादनमा कसरी जोडने भन्ने हामी सोचिरहेका छौं । हामीले केपी ओली सरकारले ल्याएको युवाहरूलाई रोजगारको कार्यक्रम जस्ता कार्यक्रम र उद्यम गर्न चाहनेलाई वा युवाहरू उद्यमतर्फ आकर्षित गर्न सस्तो ब्याजमा ऋण दिने जस्ता कामहरू गर्नु पर्ने छ । बाटो खोलिएका छन् ती बाटामा सधैं र सबै मौसममा गाडी हिडाउन सकिन्न । सो क्षेत्रमा पर्ने ४१ वटा वडाहरूमा ४१ सैं वटामा बाटो पुगेको छ । कतिपय पहाडका बाटा पक्की भएका छैनन् । त्यहाँ ड्रेन बनाउने पिच बनाउनु पर्ने काम बाँकी छन् ।

यो सरकारप्रति कसैको आशभरोसा छैन, आम जनता यो परमादेशी सरकारबाट निरास छन् । यो सरकारले महंगी बढायो, भ्रष्ट्रचार गर्यो, मल ल्याएन, राष्ट्रघाती नागरिकता विधेयक ल्यायो, अमेरिकन सेना ल्याउने भयो भन्ने जनतामा परेको छ । मान्छेले बुझ्याछन् । स्थानीय काँग्रेस–माओवादीका मतदाताको मन विझ्ने गरी भन्न त जरुरी छैन । उनीहरूले गरेका पनि होइनन् । माथिका शेरबहादुर, प्रचण्डललगायत यो गठबन्धनले जनताको मन दुखाएको छ ।

प्रदीप कटुवालाई नै भोट दिनु पर्ने चाँही किन ?

प्रदीप कटुवाल विकासको भारी जति बोकाए पनि बोक्न सक्ने, पार्टीको भारी जति बोकाए पनि बोक्न सक्ने, पार्टीमा कहिले पनि तलवितल नगरीकन निरन्तर काममा लागेको मान्छे र फेरि विकास गर्न सक्ने सामथ्र्य राखेको मान्छे हो । हरेक क्षेत्रमा मेरो सहभागिता छ बाटा, विजुली, स्कूल, कलेज, स्वास्थ्य, सञ्चार सुरक्षालगायत सबै कुरामा मेरो सहभागिता रहँदै आएको छ । मलाई त अझ विकासे मान्छे भन्छन् क्या त्यहाँ ।

म सबैलाई उत्पादनमा लाग भन्ने मान्छे हो । किबी रोप, जुनार रोप, आलु रोपौं सामुहिक खेती गरौं, अहिले हामी त्यहाँ सामुहिक खेतीको अभ्यासमा पनि छौं । अनि कागती खेती उत्पादनमा पशुपालन, बाख्रा पालन, भैंसी पालन, गाई पालन, बंगुर पालन, कुखुरा पालन यी सबै कुरा उत्पादनमा नै जोडने खालका कामहरू त्यहाँ भइरहेको छ र त्यसलाई अझ बढावा दिनलाई मेरो आवश्यकता महसुश गरिएको छ ।

युवाहरू जो विदेश गइरहेका छन्, त्यसलाई रोक्नु पर्छ र स्थानीय ठाउँमै रोजगारी दिनु पर्छ भन्ने मान्छे हुँ म । त्यसको लागि लागिपरेको मान्छे पनि हुँ म । त्यसकारणले सिन्धुली क्षेत्रनं .१ का जनताले मलाई रुचाउँछन् भोट दिन्छन् र दिनु पनि पर्छ भन्ने मेरो आग्रह पनि हो ।