जनता टाइम्स

२७ कार्तिक २०७९, आईतवार १३:२४

यु–१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने


एजेन्सी, २७ कात्तिक । दक्षिण एसियाली मुलुक नेपाल र बंगलादेशले सन् २०२७ को आईसिसी महिला यु १९ विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसिसीले आइतबार विभिन्न उमेर समूहको विश्वकप आयोजना गर्ने राष्ट्र निर्धारण गरेको हो ।

नेपाल र बंगलादेशले संयुक्त रूपमा यु(१९ महिला विश्वकप आयोजना गर्न स्विकृत पाएका छन् । बंगलादेश आयोजक हुनेछ भने नेपाल सहआयोजक हुने क्यानले जनाएको छ ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पहिलो पटक विश्वकप आयोजना गर्न पाउनु गौरवको विषय भएको बताए । उनले आयोजनाको लागि ठूलो लबिइङ गरेको बताए । ‘एकदम गौरवको विषय हो । यो चार वर्ष पछि आयोजना हुने हो । एकदमै ठूलो ‘लबिइङ’का बीच आयोजना गर्न पाएका हौं,’ चन्दले भने ।

आईसिसीले नेपाललाई प्रतियोगिता आयोजना गर्न कम्तीमा पाँच मैदान आवश्यक पर्ने बताएको छ । जसमध्ये दुई मैदानमा खेल हुनेछन् । मैदान र खेलस्थल टुंगो लाग्न बाँकी छ । क्यानले काठमाडौंको त्रिवि खेल मैदान र मूलपानीसहित पोखरा मैदान, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय मैदान र भैरहवा मैदानको नाम आइसिसीलाई बुझाएको छ ।

यसैगरी सन् २०२५ को यु–१९ महिला विश्वकप मलेसिया र थाइल्यान्डले आयोजना गर्दा सन् २०२४ को यु १९ पुरुषको आयोजना श्रीलंका, सन् २०२६ को जिम्बाव्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् ।