जनता टाइम्स

२३ मंसिर २०७९, शुक्रबार १८:२१

नेकपा एकीकृत समाजवादीको भविष्य छैन : तारा लामा तामाङ (अन्तर्वार्ता)


कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता तारा लामा तामाङ यतिबेला निकै चर्चामा हुनुहुन्छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुहारी तथा पूर्वमन्त्री बिना मगरलाई महागठबन्धनबीच हराएर निर्वाचित भएपछि लामाको चर्चा चुलिएको हो । सत्ताको चरम दुरुपयोग, पैसाको चलखेलसहित गठबन्धनभन्दा आधा भन्दा बढी मतले पछि रहेको एमाले उम्मेदवार लामाले जीत निकाल्नु भएको छ । कसरी संभव भयो त जीत ? अवको योजना र प्राथमिकता के हो भन्ने बिषयमा जनताटाइम्सले लामासँग लामो कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीका सम्पादित अंश 

सत्ता गठबन्धनको बलियो उम्मेदवार बीना मगरसँगको भिडन्तमा कसरी जीत निकाल्नु भयो ?

जनताले माया गरेर जितें । दलका नेताहरुमा पो गठबन्धन थियो, जनताले त्यो गठबन्धन मन पराएका थिएनन । त्यो त परिणामले पनि देखियो नि । गठबन्धनलाई जनताले पन पराएका भए त बहुमत दिन्थे । तर गठबन्धनले बहुमत पाएन । त्यो भनेको जनताले गठबन्धन रुचाएका थिएनन भन्ने प्रमाण होईन र ? अर्को कुरा बीना मगरलाई देखेर जनता सन्तुष्ट थिएनन । बीना मगर चुनाव जितेर मन्त्री हुनुभयो, गाउँमा फर्केर आउनु भएन भन्ने आरोप उहाँमाथि थियो ।

अझ मन्त्री भएका बेला कुनै पनि विकास निर्माणका कामहरु पनि गरेनन भन्ने अर्को आरोप थियो । स्थानीय तहको निर्वाचनको मतको विश्लेषण गर्दा सत्ता गठबन्धन, एमालेको भन्दा झण्डै दोब्बर मतले अगाडि थियो । कञ्चनपुर १ मा चार स्थानीय तह पर्छन । बेलौरी र पुर्नबास नगरपालिका, अनी बेल्डाडी र लालझाडि गाउपालिका । यी चारमा लालझाडी बाहेक बेलौरी माओवादीले जितेको, पुर्नबास र बेल्डाडी काँग्रेसले जितेको । चुनौती त थियो नै । तर आदरणीय पार्टी अध्यक्षले मलाई टिकट दिने बेला नै तपाईलाई यो टिकट जित्नका लागि हो भन्नु भएको थियो, त्यसैले धेरै चुनौती पार गरियो र जितियो ।

अब त चुनाव सकियो, सत्ता गठबन्धनको साझा उम्मेदवार र प्रचण्डकी बुहारीलाई हराउने रणनीति त गज्जवकै थिए जस्तो छ नि ?
त्यस्तो रणनीति केही थिएन । मैले चार वटै स्थानीय तहमा आएका पार्टीगत मतको विष्लेषण गरे । एमाले आधा मतलेपछाडि थियो । अझ त्यसमा एमालेबाटै बागी उमेदवार पनि । एमालेकै सिनियर केही नेता राजीनामा दिएर बसेको अवस्था थियो । मैले स्थानीय तहका मतहरुको विष्लेषण गरे । कुन कुन स्थानमा गएर मत बढाउन सकिन्छ भन्ने योजना बनाए ।

सहजै परिवर्तन गर्न सक्ने स्थानहरुमा बढी समय दिए । धेरै ठाउँमा बीना मगरलाई लिएर असन्तुष्टी पनि पाईयो । स्थानीय तह अनुसार मत आफ्नो पक्षमा पारे । अनी जितियो, तर खासै रणनीति केही पनि थिएन। तपाईले देख्नु भयो होला नी, सत्तामा रहेको पार्टी, पाँच दलको गठबन्धन, उनीहरुको चुनाव प्रचार प्रसारमा गाडीहरुको लावालस्कर हुन्थ्यो, हामीहरु सिमिति साथीहरु प्रचारमा जान्थ्यौं, तर जनताले माया गर्यो भने लावालस्करले केही पनि हुने रहेनछ भन्ने कुरा प्रमाणित भयो ।

जनता माझ तपाईका एजेन्डा के के थिए ?
खासै एजेन्डा त केही थिएनन । पार्टीको केन्द्रले जारी गरेको २० ग्यारेन्टी सहितको घोषणा पत्र आफैमा एजेन्डा थियो । तर पनि सीमा समस्या, बाढी कटानका समस्या, सीमा क्षेत्रका करिडोरका समस्याहरु मुख्य थिए । मेरो निर्वाचन क्षेत्रमा सीमा समस्या बढी छ । कञ्चनपुरमा भारतसँग सीमाना जोडिएको सबैभन्दा बढी क्षेत्र, मेरै निर्वाचन क्षेत्रमा पर्छ । भारतसँगको सीमाना समस्याका कारण गोविन्द गौतमको हत्या पनि भयो । त्यसैले म अब संघीय सांसद भए ।

मेरो तर्फबाट संघीय संसदमा सीमाका समस्या उठान गर्छु । अर्को कुरा दोदा नदीको कटान र सिचाईको समस्या छ । मैले दोदा नदीलाई बहुआयामीक प्रयोगमा ल्याउनुपर्छ भनेर जनता माझ प्रतिवद्धता गरेको छुु । त्यसको दुबैतिर तटबन्ध बनाएर सडक बनाउने र सिचाईका लागि पानीको प्रयोगका लागि मेरो पहल हुन्छ । अर्को कुरा ४२ किलोमिटरको सीमा क्षेत्रको सडक करिडोरको एजेन्डा पनि थियो । मैले प्रदेशको आर्थिक मामिला मन्त्री हुँदा त्यस करिडोरका लागि ८० करोड रकम विनियोजन पनि भएको छ । बहुबर्षिय ठेक्का लगाएर त्यो करिडोर बनायो भने क्षेत्र नम्बरको मुहार फेरिन्छ । म त्यसका लागि पनि लागि परेको छु ।

तपाईले आर्थिक मामिला मन्त्री भएका बेला आफ्नो क्षेत्रमा धेरै बजेट हाल्नु भएको हो ?

त्यस्तो त केही होईन, म प्रदेशको आर्थिक मामिला मन्त्री केही महिनाका लािग भए । तर मैले बजेट ल्याउन पाएन । म असोमा मन्त्री भए, ६ महिनामा हटिहाले । तर म मन्त्री भएका बेला डिपिआर बनाएर स्रोत सुनिश्चीत नभएका योजनाहरुमा भने रकम विनियोजन गराए । आर्थिक मामिला मन्त्रालय र भौतिक पुर्वाधार मन्त्रालयका सचिव सहितको टीमले मलाई असाध्यै सहयोग गरे । मैले प्रदेश भरी ८ अर्वको स्रोत सुनिश्चित गरे । त्यो रकम मैले विभिन्न डिपिआर बनिसकेका योजनामा विनियोजन गरे । त्यसमा कैलालीमा २ अर्व र कञ्चचनपुरमा २ अर्व रकम विनियोजन भएको छ । मेरो क्षेत्रमा मात्रै होईन, प्रदेश भरीका योजनामा त्यो रकम विनियोजन गरेर बहुबर्षिय ठेक्काहरु भएका छन । भनेपछि मैले ६ महिनामा अहोरात्र खटिएर काम गरे । मलाई कर्मचारीको टीमले पनि सहयोग गर्यो ।

तपाईको क्षेत्रमा सबैभन्दा बढी सीमाको विवाद छ । प्याराताल अतिक्रमण भएको छ । गोविन्द गौतमको हत्या भएको क्षेत्रमा पिलर नै नेपालतिर सारिएको छ । दुबै देशको नापी टोलीले तपाईको क्षेत्रमा आएर कामै गर्न सकेको छैन । कसरी समाधान गर्नुहुन्छ ?

मैले अघि पनि भने म पहिला प्रदेश सांसद थिए । सीमाको कुरा प्रदेशको मातहत थिएन । अब म प्रतिनिधि सभा अथवा संघीय सरकारको सांसद भएको छु । मेरो प्रयास नै सीमाको समस्या समाधान गर्ने नै हुनेछ । मैले त खजुरा–बेलौरीमा भन्सार राखेर नाका राख्नुपर्छ भनेको छु । सीमामा काँडेतार नै लगाउनु पर्छ भने म पटक पटक बोलेको पनि छु । काँडेतार लगाउनु भनेको भारतका लागि पनि फाईदा हो, नेपालका लागि पनि । खुला सीमाना छ । चोरी पैठारी बढेर नेपाललाई घाटा भईरहेको छ ।

भारतक लागि पनि खुला सीमाना सुरक्षाका हिसाबले चुनौती हो । चीनसँग त हाम्रो पासपोर्ट भीसा नै चल्छ तर पनि सीमा जोडिएका जिल्लाका मानिसहरु नागरिकताकै आधारमा प्रसाशनको सहमतिले चीन जानसक्छन, भारतका लागि पनि त्यस्तो भए दुबै देशलाई सुरक्षा हुन्छ, सीमानाको विवाद पनि आउदैन । मैले भारतका संघीय साँसद, प्रदेश सांसदहरुसँग पनि यसबारेमा कुरा गरेको छु । नेपालका लागि मात्रै होईन, सीमा समस्याको समाधान भारतका लागि पनि फाईदाजनक नै हुन्छ ।

तपाई कहिले समाजवादीतिर, कहिले फेरी एमालेतिर । यसपाली जित्ने देखेपछि फेरी एमालेमा फर्किनु भएको हो ?

होईन, मैले नेकपा एकीकृत समाजवादीमा गएका बेला पनि प्रदेशको भेलामा नोट अफ डिसेन्ट लेखेको छु । सुरुमा जे भएपनि पछि मैले नेकपा एकीकृत समाजवादीको यही रवैयाले पार्टी समाजवादतिर जादैन भन्ने लाग्यो । समाजवादी ब्यक्तिगत ईगोका कारण बनेको पार्टी हो । त्यती अध्यादेश केपी ओलीले ल्याउदा नराम्रो हुने, अर्काले ल्याउदा राम्रो कसरी भयो ? एमसीसी सत्ता गठबन्धनले त पास गर्यो, ओलीको पालामा टेबुल गर्दा किन विरोध ? मैले समाजवादीको रवैया हेरे । मलाई त्यस पार्टीको गन्तब्य कतै पनि लागेन । अनी आफुले बनाएको पार्टीमै फर्के । म त कञ्चनपुरको नेतृत्व समालेको ब्यक्ति हुँ नी । एमालेका मेरो जीवनको पुरै लगानी छ । म समाजवादी छोडेर एमालेमा फर्केपछि मलाई गर्व महसुस भएको छ । जित्ने हार्ने कुरा त चुनाव हो, हारिन्छ पनि जितिन्छ पनि ।

तपाई कहिले कता, कहिले कता गई रहने, अनी कार्यकर्ताले तारा लामा तामाङ स्ट्यान्ड नभएको नेता हुन भन्ने आरोप लगाउछन नी ?

होईन, मेरो फरक नेचर छ । म कसैलाई उचाली हाल्ने, पछारी हाल्ने गर्दैन । म त्यो गर्न पनि चाहन्न । म सबै साथीहरुलाई मिलाएर लैजानुपर्छ भन्ने नेचर भएको ब्यक्ति हुँ । अर्को कुरा म पार्टीमा लागि राख्ने हो । तपाईले समाजवादीमा गयो भनेर भन्नुभयो, तर त्यो समाजवादी पनि एमालबाटै बनेको समाजवादी भएको हो नी । मैले सार्वजनिक रुपमै म त्यहाँ जानु हुन्थेन भनेर स्वीकार गरिसकेको छु । मैले त्यसको औचित्य देखेन अनी मुलधारमा फर्केर आए । वातावरण राम्रो भयो भने धेरै नेता कार्यकर्ताहरु एमालेमा फर्किन चाहन्छन । त्यसैले कुनै बेला गरिएको टेस्ट हो, त्यसको सुधार भईसक्यो ।

सरकार बन्ने संख्या कसैको आएन, देशमा मध्यावधी चुनाव हुनसक्छ ?

हैन, अहिले यसो भई हाल्छ चाई नभनम । त गठबन्धनको बहुमत पुगेको छैन । गठबन्धनको बहुमत नपुग्दा कुनै अर्को दल ल्याउलान । तर त्यो भनेको अस्थिरता चाई हो के । मैले अघि पनि भने गठबन्धनले बहुमत नपाउनु भनेको जनताले त्यसलाई रिजेक्ट गरिदिए भन्ने हो । यो परिणामले के देखाउछ भने हाम्रो देशमा अझै पनि अस्थिरताको बादल मडारिरहेको छ । हामीले अहिले त्यो गठबन्धन टुटोस भन्ने पनि सोच्नु हुदैन । देशमा दीगो स्थीरता होस भन्ने चाहना नै राख्नुपर्छ तर त्यो पुरा गर्नु हुन्छ जस्तो जस्तो लाग्दैन ।

एमालेलाई प्रतिपक्षमा बस भन्ने जनमत आएको होईन ?

होईन, सबैलाई प्रतिपक्षमा बस पनि भनेको छ । सबैलाई सरकारमा जाउ पनि भनेको छ । गठबन्धनको बहुमत नआउनु भनेको उसलाई पनि प्रतिपक्षमा बस भनेको हो । हामीसँग गठबन्धन छैन तर पनि दोस्रो ठुलो दल त बनेको छ । हाम्रो दलले पनि सरकार बनाउन सक्छ, प्रतिपक्ष पनि बन्न सक्छ । दुई तिहाईको गठबन्धन होईन उनीहरुको । तर चुनावमा जनताले रिजक्ट गरिदिए ।

मतदातालाई केही भन्न चाहनुहुन्छ ?

हैन, मलाई त ती मतदातालाई धन्यबाद दिने शब्द नै छैनन । गठबन्धनका त्यत्रो बलियो मत भएको उमेदवार, प्रचण्डको परिवारभीत्रको सदस्यलाई छोेडेर मलाई जिताए । मैले यो अवसरलाई जनताको सेवामा विताउछु भन्ने हो । तपाईले हेर्नु भयो होला, उहाँको प्रचारको शैली, कत्रो तडक भडक थियो, तर जनताले मलाई रोजे । म जितेको आफुनो बायोडाटा बनाउन, आफु मन्त्री हुन वा ठुलो मान्छे बन्न होईन, जनताको सेवा गर्नका लागि हो । म ती जनताको सेवामा समर्पित हुनेछु । खासमा मेरो पार्टीको अध्यक्ष कमरेड र मेरो पार्टी जसले मलाई टिकटका लागि योग्य ठान्यो, अनी जनताले जिताए, ह्दयदेखि आभार ब्यक्त गर्दछु । म मेरो क्षेत्रका जनताको सेवामा खटिनेछु भनेर ब्यवहारबाटै देखाउने छु ।