जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार १५:५६

एक्लिए सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ, एसडिएफ छाडेर भाजपा प्रवेश गरे १० बिधायक


सिक्किम, साउन २८ । लामो समय शासन गरेका डा पवन चामलिङ नेतृत्व सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) का १० जना विधायक प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन । नयाँ दिल्लीस्थित भाजपाको मुख्यालयमै पुगेर चाम्लिङका १० जना बिधायक भाजपा प्रवेश गरेका हुन । टाइम्स अफ इण्डियाका अनुसार भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डा र महासचिव राममाधवले चाम्लिङका बिधायकहरुलाई पार्टीमा स्वागत गरे ।

तात्कालिन मुख्यमन्त्री नरबहादुर भण्डारीलाई सत्ताच्यूत गरी उदाएका चाम्लिङको पार्टी सिक्किम डेमेक्र्याटिक पण्टले यस पटकको निर्वाचनमा पराजयको सामना गर्नुपरेको थियो । आफ्नै क्याविनेटमा रहेका प्रेमसिंह तामाङ गोले) को पार्टीसँग पराजीत भएको चाम्लिङको १० जना बिधायक नै सत्तारुढ भाजपातिर लागेका हुन । यो संगै चाम्लिङसँग अव दुई जना बिद्रोही बिधायक मात्रै रहेका छन । गत निर्वाचनमा चाम्लिङको पार्टी (एसडिएफ) ले १३ स्थान जितेको थियो ।

जितेकामध्ये विधायकहरुमा उगेन टी ग्याछो, डीटी लेप्चा, एनके सुब्बा, फरवन्ती तामाङ, राजकुमारी थापा, डीआर थापा, केबी राई, केएस लेप्चा, टीटी भोटिया, पिञ्जो नाग्याल लेप्चाले एसडीएफ छाडेर भाजपा प्रवेश गरेका हुन । यी १० विधायक भाजपा प्रवेशसँगै अब सिक्किम विधानसभामा एसडीएफका तर्फबाट चाम्लिङसहित तीन जना रहेका छन । तर उनीहरुले यसअघि नै चाम्लिङको निर्णयलाई चुनौती दिई बिद्रोह गरिसकेका छन ।

विधानसभामा १३ सिट जितेको एसडीएफका दुई विधायक जीटी ढुङ्गेल र यमप्रसाद शर्माले विद्रोह गरिसकेका हुन । यी दुवै विधायक अहिले पीएस गोले नेतृत्व सिक्किमको सत्तारूढ दल सिक्किम क्रान्तिकारी मोर्चासँग नजिकिएका हुन । यो घटनासँगै लामो समय एकछत्र राज गरेका चाम्लिङको पार्टी अव अत्यन्तै कमजोर अवस्थामा पुगेको छ । गोलेलाई सत्ताको नेतृत्वमा आउन नदिन उनले नै भ्रष्टाचारको मुद्दामा फसाएको आम सिक्किमबासीको बुझाइ छ ।

सोही कारण नै गत निर्वाचनमा उनको पार्टीलाई हराएका थिए । जितेका बिधायक पनि भाजपातिर लागेपछि कुनै बेलामा सर्वशक्तिमान सिक्कमका चाम्लिङ आफ्नो अस्तित्व रक्षाको अवस्थामा पुगेका हुन । एसडिएफको यो हालतसँगै सिक्किममा गोलेको अवस्था मजवुत बनेको छ । उनको सत्तालाई चुनौती दिने हैसियतसमेत अव सकिएको छ ।

सुन्दर हिमाली राज्य सिक्किममा मिलेर बसेका जनतालाई जात र धर्मको नाममा बिभाजित गराई आफ्नो अधिनायकवादी शासन लादन खोज्दा उनको यो अवस्था आएको सिक्किमका राजनीतिक बिश्लेशकहरु बताउँछन । अघिल्लो चुनावमै धाँधली गरी जितेको आरोप लागेका चाम्लिङमाथि यस पटक जनताले खवरदारीसहित पराजयको स्वाद चखाएका थिए । अव आफ्नै बिधायकसमेत उनीप्रति सन्तुष्ट नबनी भाजपातिर लागेपछि कुनैबेलाका सर्वशक्तिमान चाम्लिङ अस्तित्व रक्षाको अवस्थामा पुगेका हुन ।