जनता टाइम्स

५ भाद्र २०७६, बिहीबार १०:३६

रबि लामिछानेको पक्राउ प्रकरणपछि खुलेको नेपाली चेत : अव यतातिर बहश गर्ने कि ?


राधाकृष्ण देउजा

लेखाईको सुरुवातमै एउटा कुरा प्रष्ट पार्दै सुरुवात गर्न चाहन्छु । त्यो के भने आफैंले आफ्नै हत्या अर्थात् आत्महत्याको निम्ति मृतक स्वयं र निजको कायरता वाहेक अरु कोही जिम्मेवार हैनन र हुनुहुँदैन । त्यसो भएको हुनाले अहिले एकजना आफ्नो पूर्वसहकर्मीको आत्महत्यालाई दुरुत्साहन गरेको हुन सक्ने आशँकामा अनुसन्धानको निम्ति पक्राउ परेर थुनामा परेका पत्रकार रवि लामिछानेसहित अरु दुइजना रिहा हुनु अनिवार्य छ । अन्य केही भए गरेका रहेनछ भने आवश्यक कानुनि प्रक्रिया पूरा भएपश्चात उनीहरु छुटनु अनिवार्य हुन्छ र छुटने छन । अव यत्ति कुरा लेखिसके पश्चात रवि लामिछाने पक्राउसंग जोडिएर भएका घटनाक्रमहरु र त्यसै जोडिएर आएका निम्न कुराहरुको यहाँ चर्चा गर्नु वान्छनीय हुनुका साथै आवश्यक छ ।

१. कसैले कसैलाई आत्महत्या उन्मुख गराउन सक्ला तर वाध्य पार्न सक्दैन भन्ने सत्यको व्यवस्था गर्दै कानुनमा आत्महत्यालाई दुरुत्साहन गर्नेहरु कारवाहीको भागिदार हुनुपर्ने जुन प्रावधान राखिएको छ, त्यसैको आधारमा रवि गिरफ्तार भएका हुन । कानुनमा त्यस्तो त्रुटीपूर्ण व्यवस्था हुदैन थियो भने रवि पक्राउ नै पर्ने थिएनन, यो लफडा हुने पनि थिएन । तर रवि लामिछाने पक्राउले जसरी यो त्रुटीपूर्ण कानुनी व्यवस्थाप्रति सबैको ध्यान खिच्यो । त्यो अरु कोही गिरफ्तार भएको भए खिच्दैन थियो । अहिलेको परिस्थिति हेर्दा के लाग्छ भने रवि लामिछाने केही दिन थुनामा परेर पाएको दुःखको कारण अव यस्तो आरोपमा कोही थुनिनु नपर्ने गरी उक्त त्रुटीपूर्ण कानुनको खारेजी हुनेछ । तर कानुनी यो व्यवस्था र त्यसले सिर्जना गरेको वाध्यताले प्रहरीले रवि लामिछाने सहितलाई पक्राउ गरेको तथ्य सुझवुझ भएकाहरुले पनि भुलेको वा स्मरण गर्न नचाहेको देखियो । त्यो राम्रो भएन, यसले अराजकतालाइ मात्रै बढावा दिएको पाइयो ।

२. नेपाल प्रहरी बिभिन्न अन्तराष्ट्रिय सन्धि सम्झौताले वांधीएको संगठन हो, जसको हरेक गतिविधि कानुनसम्मत र मानवअधिकारको सिद्धान्त अनुसार नभएको अवस्थामा समग्र संगठनले नै ठुलो मुल्य चुकाउनु पर्ने हुन्छ भन्ने अकाट्य सत्यसम्मलाई बिर्सिएर प्रहरीले पक्राउ पुर्जी समेत नदिएर रवि लामिछाने लगायतलाई पक्राउ गरेको हो कि भन्ने हिसाबले प्रचार गराइएको छ । अनि दुखको साथ भन्नुपर्छ आफ्नो राजनीतिक अभिष्ट पुरा गराउने, लोकतन्त्र कम्जोर पार्दै प्रतिगमनलाइ वल पुर्याउने खालको त्यस्तो कुप्रचार हिजो कान्तिपुर जस्तो पत्रिकाको सम्पादनकक्षमा सैनिक राख्ने अधिनायकवादको पक्षधरहरुले गरिरहेका छन । यदी नेपाल प्रहरी ऐन, नियम कानुन अनुसार विधि र प्रक्रियासम्मत हिसाबले मात्रै परिचालित हुन्छ भन्ने सत्यलाई नभएर प्रहरी राजनीतिक वा अन्य शक्तिकेन्द्रको आदेश पालना गर्न जे जस्तो पनि गर्न तयार हुन्छ र हुँदै आएको छ भन्ने खालको कुप्रचारले अहिले केही क्षण रवि लामिछानेलाइ फाइदा गर्छ भन्ने कसैलाइ लागेको पनि होला । तर त्यो हैन, प्रहरीले हुने नहुने जे पनि गर्न सक्छ भन्ने भ्रमले यदी जनतालाइ पर्यो भने यसैको आडमा कुनै दिन रवि लामिछानेसहित कसैले पनि स्वतन्त्र रुपमा संचारकर्म गर्ने विषय नसोचे पनि हुन्छ ।

३. माथि उल्लेख गरिए झैं रवि लामिछानेसहितका तिन जना वर्तमान सरकार वा यसको कुनै नेताको विरोध गरेको हुनाले थुनिएका हैनन तर अहिले उनको समर्थनमा प्रदर्शनमा निस्किएकाहरुको भाषाहरु सुन्दा उनीहरु रविको मायाले भन्दा पनि अहिलेको शासन व्यवस्थाका हर्ताकर्ताहरुसंगको रिसले सडकमा उत्रिएका छन र उनीहरु विरुद्ध भंडास पोख्नमै उनीहरुको ध्यान छ । यस सन्दर्भमा पनि स्वयम रवि लामिछाने र उनका वुद्धिमान समर्थकहरु चनाखो हुनुपर्छ किनकि रवि लामिछाने वा उनी जस्तै अन्य पत्रकारहरुले स्वतन्त्रतापुर्वक पत्रकारिता गर्न पाउने व्यवस्था अहिले भए रहेका नेताहरुको त्याग तपस्याले आएको हो । यदी उनीहरुले त्याग र वलिदान गरेर प्रेश स्वतन्त्रतासहितको लोकतन्त्र स्थापना गरेको हुदैन थिए भने रवि सहित अरु थुप्रै व्यक्तीहरु आज अन्य कुनै पेशा गरिरहेका हुने थिए , पत्रकारितामा हुने थिएनन ।

४. आफुले पाएको समाचार सामग्री सकेसम्म सबैको ध्यान तान्ने गरेर प्रकाशन प्रशारण गर्नु पत्रकारिताको धर्म हो र त्यो धर्म निर्वाह गरिएकैले कोहि कसैले दुख पाएछ भने त्यसको निम्ती समाचार प्रकाशन प्रसारण गर्नेलाइ दोषी देख्ने काम गरिनु हुदैन । तर आज यस्ता थुप्रै अकल्पनीय र उदेकलाग्दो समाचार ब्रेक गर्ने सहासी रवि लामिछानेको बचाउ गर्न दशकौं देखि खोजी पत्रकारिता गर्दै आएका अर्का साहसी पत्रकार किशोर श्रेष्ठलाइ निशाना बनाउने काम गरिएको पनि देखिएको छ । त्यो किमार्थ सही हैन, प्राप्त सामग्री प्रशारण गरेकै कारण वा कसैलाई उपलव्ध गरेकै कारण त्यसलाइ गलत भन्ने अनि त्यस्ता पात्रहरुको विरुद्ध मुद्दा हाल्ने हो भने भोलि त्यस्ता थुप्रै मुद्दा रवि लामिछानेसहित अरु थुप्रैलाइ पर्न सक्छ भन्ने सत्यलाइ मनन गरिनु पर्छ ।

५. अर्को कुरो यही दौरानमा समग्र प्रहरी संगठनलाई अनैतिक, अविवेकी र ऐन कानुन नमान्नेहरुको भिडको रुपमा चित्रित गर्ने कामको अलावा त्यसको नेतृत्व गरिरहेका आइजीपी सर्बेन्द्र खनालको विरुद्धमा आफ्नो कुण्ठा पोख्न पनि यही रवि वचाउ अभियानको फोरम प्रयोग गरिएको देखिएको छ । सत्य र तथ्यलाई मान्ने हो भने आफ्नो योग्यता , क्षमता र त्यसको सहि प्रयोगको आधारमा लोकप्रियता आर्जन गर्न सफल रहेकोले नै सर्बेन्द्र खनाल आइजीपी भएको हुन तर अहिले मौका छोपेर प्रहरीको आइजीपी हुन उनले करोडौं खर्च गरेको जस्तो कपोलकल्पित ठोकुवा गर्नुको अलावा उनले लगाएको वर्दीलाइ लुँगीसंग तुलना गरेर लेख्नेहरु समेत भेटिएका छन । जनताले बुझेको रवि लामिछानेलाइ पनि आफुलाइ बचाउने नाममा कोही कसैको हुर्मत लिने कार्य पक्कै पाच्य नहोला झन आफु समेत सम्पूर्णको सुरक्षा गर्नु पर्ने प्रहरीको मनोवल खस्कनु पनि उनको रोजाइमा नपर्ला नै तर दुखका साथ भन्नुपर्छ जानेर नजानेर उनलाइ वचाउने नाममा चलेको आन्दोलनको नाममा कहीं न कहीं त्यस्तो भएको छ ।

कसैलाइ मन परे पनि मन नपरे पनि उल्लेखित कुराहरु तथ्य हुन । जसको गाम्भीर्यतालाइ थुनुवा कक्षभित्र रहेका रवि, उनलाई जोगाउँदा स्वतन्त्र पत्रकारको रक्षा हुन्छ भन्ने ठानेर स्वार्थ रहित ढंगले सडकमा ओर्लिएको पङ्क्ति देखि कहीं कतै रवि गलत पो हुन को भन्नेसम्म सबैले मनन गर्नैपर्छ । हामी आशा गरौँ रविसहित तिनै जना कोही कसैको आत्महत्याको निम्ती जिम्मेवार भएर थुनिरहन नपरोस । तर त्यसो हुँदै गर्दा प्रहरीको मनोवल खस्काउन खोज्ने, लोकतन्त्र भन्दा निरंकुशता ठिक हो भन्ने स्थापित गराउन खोज्नेको मनोकामना पुरा हुन नपाओस ।