जनता टाइम्स

६ भाद्र २०७६, शुक्रबार १०:०२

महिलालाई रेट्ने धारिलो हतियार ‘चारित्रीक आरोप’


संजिता तिम्सिना

चारित्रिक रुपमा महिलालाई अपमान गर्ने र महिलाको चरित्रलाई लिएर महिलामाथि मानसिक तथा शारिरीक रुपमा हिंसा हुने गरेको छ । घरेलु हिंसाको अधिकांश घटनाहरु महिलाको चरित्रलाई लिएर शुरुवात भएको पाईन्छ ।
नेपाली शब्दकोषमा चरित्रको अर्थ चालचालन, बानीव्यहोरा, व्यवहार भनि व्याख्या गरिएको छ । नेपाली समाजमा पुरुषको चरित्रको विषय त्यति चर्चाको विषय बन्दैन जहाँ महिलाको चरित्र चिया पसल देखि वरिष्ठमा गनिने व्यक्तित्वहरु बिचको संवादको समेत प्रमुख विषय बन्ने गर्दछ । कुनै पनि महिलालाई अपमान गर्नु छ वा केहि रिसवी पोख्नु छ भने उसको चरित्रमा प्रश्न उठाए मात्र पुग्छ ।

महिलाको बोलाई, हेराई, हिडाई, लुगा लगाई र उसको साथी संगतहरुलाई हेरेर महिलाको चरित्रको मापन गर्ने गरिन्छ । “सबै नागरिक समान छन्” भनेर नेपालको संविधानमा लेखिएको छ । “लैगिंक समानताका लागि पाईला हाराहारी सन् २०३० सम्ममा हिस्सा बराबरी” भन्ने नारा यतिबेला विश्वभर लोकप्रिय छ । तर एक व्यक्ति वा वर्गको व्यवहार, चालचलन स्वीकार गर्ने समाजले अर्को व्यक्ति विशेषगरि महिलाको समान व्यवहार र क्रियाकलापलाई स्वीकार गर्न सकेको छैन । कानुनका दृष्टिमा सबै नागरिक समान् छन् भनेर नेपालको संविधानमा लेखियो तर समाजमा कायम रहेको संरचनात्मक विभेदका कारण “महिलाले आफ्नो स्व पहिचानका” साथ जीवनयापन गर्न पाउने अधिकारको सुनिश्चितता हुन सकेको छैन ।

वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स हाम्रो देशको प्रमुख आयस्रोत बनेको छ । वैदेशिक रोजगारीमा गएका पुरुषहरुको योगदानको कदर हुन्छ तर समान कामका लागि वैदेशिक रोजगारीमा गएर श्रम गरिरहेका महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक छ । घर बाहिर रहेर काम गर्ने पुरुष बहादुर कहलिन्छ, तर घर भित्र होस् वा बाहिर एक्लै रहने महिलाको चरित्रमा जसले जतिबेला प्रश्न उठाउन पनि छुट छ । घरका पुरुषहरु बाहिर रहेको अवस्थामा महिलाले दोहोरो भुमिका निर्वाह गर्नुपर्छ “घर भित्र र बाहिर दुवै” । घर बाहिर वा विदेशमा रहेका पुरुषले के गर्छ कसैको न त चाँसोको विषय बन्छ न कसैले यो विषयमा लेखाजोखा नै राख्ने गरेको छ । तर महिलाको सन्दर्भमा यो लागु हुँदैन । महिलाले कुनै “पुरुष” सँग बोल्दैमा, हिड्दैमा उसलाई सहज रुपमा चरित्रहिनको आरोप लाग्छ । परस्त्रीसँग आफुले चाँहि यौनसम्बन्ध नै कायम गरेको पुरुषले समेत “म दुःख गर्ने त भने पर पुरुषसँग हिड्ने” भनेर कुनै पनि हेक्का नराखीकन बडो बहादुरीका साथ श्रीमतिलाई धम्की दिन सक्छ । किनकी हामीले अनुशरण गर्दै आईरहेका कतिपय हानिकारक सामाजिक तथा सांस्कृतिक मूल्यमान्यताले पुरुषलाई शक्तिशालि र महिलाको भन्दा उच्च पहिचान भएको वर्गको रुपमा स्थापित गरेको छ ।

महिलाले कुनै “पुरुष” सँग बोल्दैमा, हिड्दैमा उसलाई सहज रुपमा चरित्रहिनको आरोप लाग्छ । परस्त्रीसँग आफुले चाँहि यौनसम्बन्ध नै कायम गरेको पुरुषले समेत “म दुःख गर्ने त भने पर पुरुषसँग हिड्ने” भनेर कुनै पनि हेक्का नराखीकन बडो बहादुरीका साथ श्रीमतिलाई धम्की दिन सक्छ ।

पुरुषको अधिनमा रहि समाजले दिएको भुमिकालाई सहजताका साथ निर्वाह गर्ने महिलालाई समाजले असल महिलाको संज्ञा दिन्छ । तर जो महिला पित्तृसत्ताले बनाएको मूल्य मान्यताको पालना गर्दैनन, कामका शिलसिलामा घर बाहिर समय बिताउँछन्, छोराछोरीका लागि पर्याप्त समय दिन सक्दैनन्, यौनिकताका विषयमा खुलेर कुरा गर्छन् । त्यस्ता महिला समाजमा उत्श्रृखल, खराब र चरित्रहिन महिलाका रुपमा चिनिन्छन् । यसरी पित्तृसत्ताले महिलालाई २ भागमा वर्गिकरण गरेको छ । घरभित्रै सिमित रहने, घरको कामकाजमा ध्यान दिने, श्रीमानले भनेको जे पनि मान्ने, परिवार र श्रीमानका कुराहरुमा प्रश्न नगर्ने, सार्वजनिक क्षेत्र भन्दा नीजि क्षेत्रमा नै रमाउँने महिलाहरु असल महिलाको वर्गमा राखिन्छ । नीजि क्षेत्रमा (घर) भन्दा बाहिर निस्कन खोज्ने, घर परिवारको काममा मात्र सिमित नरहेर आफ्नो योग्यता र सिप अनुसार सार्वजनिक क्षेत्रमा बढी सक्रिय हुन रुँचि राख्ने, डान्सवार र दोहोरीमा काम गरेर जीविकोपार्जन गरिरहेका महिलाहरुलाई भने पित्तृसत्ताले खराब महिलाको रुपमा चिनाउने प्रयत्न गर्छ ।

बाल्यकाल, युवा अवस्था र हालको जीवन समेत पित्तृसत्तामा बिताईरहेका हामी महिला पनि आफ्नो चरित्रका विषयमा निकै गम्भिर छौ । त्यसैले त हामीलाई अरुले कहिँ मेरो चरित्रलाई लिएर प्रश्न त उठाउँदैन भन्ने चिन्ताले सधैं सताई रहन्छ । सधैं असल महिला बन्ने होडबाजिमा आफ्ना ईच्छा, आकांक्षा र चाहनाहरुको पर्वाह नगरी, सधैं अरुले मेरो बारेमा के भन्छ, र कस्तो व्यवहार गर्दा असल महिलाको सूचिमा पर्न सक्छु भनेर आफ्नो ईच्छा, छनोट र निर्णयको भन्दा पनि पित्तृसत्ताले तयार गरेको निर्देशनलाई पछ्याईरहेका हुन्छौं ।

घर बाहिर एक्लै हिड्दा यौन हिंसाको जोखिम हुन्छ भन्ने धारणा पैदा गरेको छ । ताकि महिलाहरुले सधैं आफुलाई असुरक्षित महशुस गरुन्, र सुरक्षाका लागि सधैं पुरुषको साथको माग गरुन् ।

हामी महिलाको यो मनोविज्ञानलाई पित्तृसत्ताले पक्कै पनि गहिरो अनुसन्धान गरेको हुनुपर्छ । त्यसैले पित्तसत्ताले महिलाको आत्मसम्मानमा ठोस पुर्याउन, महिलालाई अपमान गर्न, महिलालाई विभिन्न अवसरहरुबाट बञ्चित गरी कमजोर वर्गका रुपमा सावित गर्न महिलाको चरित्रलाई आक्रमण गर्ने गर्दछ । पित्तृसत्ताले पुरुषको शक्तिलाई जोगाईराख्नका लागि चारित्रिक आरोपलाई धाँरिलो हतियारको रुपमा प्रयोग गरि महिलाको गतिशिलता, यौनिकता र उत्पादनलाई नियन्त्रण गर्ने काम गर्दै आएको छ ।

महिलाहरुको पहिचानलाई पुरुषको भन्दा कमजोर देखाउन पित्तृसत्ताले धेरै मेहेनत गरेको छ भन्दा अनुपयुक्त नहोला । पित्तृसत्ताले हामी महिलाहरुको गतिशिलतालाई नियन्त्रण गर्न अनेक चाल रचेको छ । घर बाहिर एक्लै हिड्दा यौन हिंसाको जोखिम हुन्छ भन्ने धारणा पैदा गरेको छ । ताकि महिलाहरुले सधैं आफुलाई असुरक्षित महशुस गरुन्, र सुरक्षाका लागि सधैं पुरुषको साथको माग गरुन् । यौन हिंसा गर्ने व्यक्ति समाजमा छाति फुकाएर हिड्न सक्छ, तर म माथि हिंसा भयो भनेर हिम्मत जुटाएर बोल्ने महिलालाई समाजले राति एक्लै किन हिडेकि त, राति एक्लै हिड्ने महिला उ पनि त गतिलि कहाँ होला र भनेर उल्टै लाल्छना लगाउँछ । यौन हिंसाबाट प्रभावित बालिका तथा महिलाहरु परिवार सहित बसोबास गर्दै आएको स्थानबाट विस्थापित भएका धेरै घटनाहरु हाम्रा वरिपरि छन् । रक्सी धोकेर, लल्ड्दै पड्दै, महिलालाई जिस्काउँदै हिड्ने पुरुषले समेत बाटोमा न त आफुलाई असुरक्षित महशुस गर्छ, न त चरित्रहिन । तर त्यो असम्भ्य र गैरजिम्मेवार पुरुषका कारण महिलाले छिमेकमा, बाटोमा असुरक्षित महशुस गर्नुपर्ने । बदलामा उल्टै महिलाको नै यौनिकता र गतिशिलता नियन्त्रण हुने वातावरण बन्ने । किन ?