जनता टाइम्स

२० बैशाख २०८०, बुधबार ०७:२७

स्टाफ नर्स अनुपमा श्रेष्ठ मृत्यु प्रकरणमा प्रमी र उनका बाबु प्रहरी नियन्त्रणमा


काठमाडौँ, २० वैशाख । वीर अस्पतालमा कार्यरत नर्स अनुपमा श्रेष्ठलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले प्रेमी सुजन ढकाल र निजका बाबु मुरलीप्रसाद ढकाललाई नियन्त्रणमा लिएको छ ।

अनुपमाले गत शनिबार ढकालको घर बोहोराटारमा पुगी आत्महत्या गर्नुभएको थियो । घटनास्थलमा प्राप्त सुसाइड नोटअनुसार कान्ति बाल अस्पतालका चिकित्सक ढकाल र अनुपमाबीच लामो समयसम्म प्रेम सम्बन्ध थियो ।

ढकालले विवाह गर्न अस्वीकार गरेपछि अनुपमाले आत्महत्या गर्नुभएको थियो । अनुपमालाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै प्रेमी सुजन र बाबु मुरलीप्रसादविरुद्ध मृतक परिवारले प्रहरी वृत्त बालाजुमा आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका थिए ।

जिल्ला अदालत काठमाडौँबाट मङ्गलबार पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले बाबु–छोरालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।

मृतकका परिवारले अनुपमाले विवाहका लागि पटक–पटक आग्रह गर्दा पनि प्रेमी सुजन र निजका बाबुले विवाह गर्न अस्वीकार गरेको जाहेरीमा उल्लेख गरिएको छ । अनुपमाले आत्महत्याअघि लेखेको सुसाइड नोटमा लामो प्रेम सम्बन्धमा रहेका बेला दुई पटक गर्भपतन गरेको उल्लेख गरिएको छ । गोरखापत्रबाट