जनता टाइम्स

१८ भाद्र २०७६, बुधबार ०७:११

चिनिया ह्याकरलाई सघाउने नेपालीको खुल्यो पहिचान, प्रहरीसँग केही बोल्दैनन अभियुक्त


काठमाडौं, भदौ १८ । बैकिङ सुरक्षा प्रणालीलाई चुनौती दिँदै १० घण्टा लगाएर काठमाडौंका एटीएमबाट करिब दुई करोड रुपैयाँ झिक्ने ८ जना चिनियाँ ह्याकर समूहलाई सघाउने नेपालीहरूको पहिचान खुलेको छ । प्रहरी अनुसन्धानको क्रममा चिनियाँ ह्याकरलाई नेपालीले नै सघाएको तथ्यसहित उनीहरुको पहिचान खुलेको हो ।

प्रहरीका अनुसार अनुसन्धानको क्रममा चार–चार जनाको समूहमा एकैपटक चीनबाट आएका ह्याकरमध्ये एउटा समूहलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रिसिभ गरी ठमेलस्थित होटल बुटिक मनोहर मायासम्म छोडन निजी नम्बर प्लेटको गाडी प्रयोग भएको पाइएको छ । गत शुक्रबार अपरान्ह साढे दुई बजे काठमाडौं ओर्लिएका दुई चिनियाँ समूहमध्ये एउटालाई लिन विमानस्थल बाहिर नीजि कार आएको थियो भने अर्को समूह तिनै कारवाला व्यक्तिले मिलाएको ट्याक्सीमा होटल पुगेको थियो ।

प्रहरीले कारबाही थालेपछि भागेका तीन चिनियाँले ठमेलका दुई मनि चेञ्जरबाट पूर्वपरिचयकै आधारमा ३० लाख बढी नेपाली रुपैयाँ सटही गरेको तथ्य प्रहरीले फेला पारिसकेको छ । एटीएम ह्याक प्रकरणमा संलग्न रहेका मध्ये महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दरबारमार्गबाट एकजना र अन्य ठमेलबाट चार जनालाई पक्राउ गरेको थियो । सोहीक्रममा होटलमा रहेका तीन जना चिनियाँ भाग्न सफल भएको प्रहरीले जनाएको छ । होटलबाट भागेर ठमेलस्थित ठमेल किचन बाहिर ओर्लिएका उनीहरूमध्ये एकजनाले त्यहाँ स्याण्डबिच खाएको सीसीटीभी फुटेजमा देखिएको छ ।

त्यसपछि उनीहरु वरपर रहेका मनि चेञ्जरमा नपसी सिधै डेक्सी मनि चेञ्जरमा पुगेका थिए । मनि चेञ्जर संचालकले त्यहीँ पैसा गन्ने मेसिन मगाएर रकम गनेर डलर उपलब्ध गराएको फुटेज प्रहरीले फेला पारेको छ । प्रहरीका अनुसार सो कामका लागि यसक्रममा विमानस्थलबाट पक्राउ परेका फ्रान्सको राहदानी बाहक छु लुस लीले बाहिरको रेकी गरेका थिए । प्रहरी कारबाही सुरु भएपछि भागेका तीन जनामध्ये लुस ली विमानस्थलबाट आइतबार राती पक्राउ परेका छन भने अन्य दुई फरार छन । प्रहरीका अनुसार विभिन्न स्थानको सीसीटीभी फुटेज हेरेर तीनै जनाले ठमेलमा पैसा साटिसकेपछि ट्याक्सी लिएर बत्तिसपुतलीस्थित होटल द्वारिकाज अगाडि ओर्लिएको तथ्य फेला परेको छ । त्यहाँबाट उनीहरु त्यहाँबाट नीजि कारमा रसुवागढी हुँदै तिब्बतको केरुङ पुगेको आशंका प्रहरीको छ ।

ह्याकिङ प्रकरणको अनुसन्धानको नेतृत्व गरिरहेका काठमाडौंका प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी पहिलो पटक नेपाल आएका ती चिनियाँहरुको आत्मविश्वास र स्थानको पहिचान हेर्दा नेपालमा कोही न कोही सहयोगी रहेको हुनसक्ने बताउनु हुन्छ । ‘हामी अनुसन्धानकै क्रममा छौं, ह्याकिङ प्रकरणमा संलग्न व्यक्तिहरुको खोजी हुनेछ, हामी धेरै कोणबाट घटनाको विश्लेषण गरिरहेका छौं,’ बोगटीले जनताटाइम्ससँग भन्नुभयो । अनुसन्धानकै क्रममा रहेकोले थप जानकारी दिन नमिल्ने उहाँको भनाई छ ।

केही बोल्दैनन अभियुक्त

प्रहरीले नबिल बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा शनिबार पक्राउ पर्ने पाँच र विमानस्थलबाट पक्राउ परेका चिनियाँले कुनै पनि सूचना नदिएको जनाएको छ । उनीहरुसँग सोधपुछका लागि भाषाको समस्या रहेको र दोभाषे ल्याउँदा समेत सबैले आफ्ना कानुन व्यवसायीसँग मात्रै बोल्ने बताएको प्रहरीको भनाई छ । प्रहरीले चिनियाँ नागरिकहरू क्रमशः चेन बिन बिन, झु लियाङ आङ, क्वियु युङक्विङ, लुओ जिआल्बी र लिन बिनमेङलाई शनिवार पक्राउ गरेको थियो । यस्तै आइतबार राती लुुस लीलाई पक्राउ गरेको हो । सो घटनामा तीन जना नेपाली ब्यापारी पनि पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ठमेलमा रहेको डेक्सो र नेपालय मनि चेञ्जरले अनाधिकृत रुपमा चारजना चिनियाँलाई २८ हजार ८ सय ६२ अमेरिकी डलर सटही गरिदिएका थिए । नेपाली रुपैयाँ सस्तोमा किनेर महंगोमा डलर बेच्ने डेक्सोका सञ्चालक वेदनाथ लामिछाने, नेपालयका सञ्चालक रोशन प्रधान श्रेष्ठ र प्रबन्धक रेवती दवाडी पक्राउ परेका छन ।

प्रहरीले घटनास्थलबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, ९ हजार १ सय ८ अमेरिकी डलर, ५ हजार कम्बोडियाको मुद्रा र २ सय ५० यूरो बरामद गरेको थियो । प्रहरीले उनीहरुबाट उक्त नेपाली र विदेशी मुद्राबाहेक नक्कली भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसा कार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड एक एक थान बरामद गरेको छ ।