जनता टाइम्स

१८ श्रावण २०८०, बिहीबार १५:१८

रासायनिक मलले प्रयोगले माटोको गुणस्तर घट्दै


कञ्चनपुर, १८ साउन । कञ्चनपुरका किसानले प्रयोगशालामा जाँचका लागि ल्याएका माटोका नमुनामा प्राङ्गारिक पदार्थसँगै अम्लीयपन, नाइट्रोजन, फास्फोरस र पोटासको कमी देखिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपरपुरका निमित्त कार्यालय प्रमुख दलबहादुर खड्काले किसानले ल्याएका अधिकांश नमुनामा प्राङ्गारिक पदार्थको मात्रा दुई दशमलव पाँचदेखि तीनसम्म पिएच देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार माटोमा प्राङ्गारिक पदार्थको पिएच पाँचभन्दा बढी देखिए उपयुक्त मानिन्छ ।

नमुना माटोमा अम्लीयपना छ दशमलव पाँच, नाइट्रोजन शून्य दशमलव ११ देखि शून्य दशमलव १२, फास्फोरस ३२ र पोटासको पिचएमान एक सय ११ देखिएको छ । माटोको गुणस्तर कायम राख्नका लागि किसानले घरमै तयार गरिएको गोठेमल, कम्पोष्ट र हरियो मलको प्रयोगमा जोड दिनुपर्ने प्रमुख खड्काले बताउनुभयो । ‘माटोमा अम्लीयपन देखिएका किसानले कृषि प्राविधिकको सल्लाहअनुसार कृषि चुनको प्रयोग गर्नुपर्छ’, उहाँले भन्नुभयो,‘रासायनियक मलको अन्धाधुन्ध प्रयोगले माटोको गुणस्तर बिग्रएको छ, त्यसले माटोमा कडापना ल्याउँदा कृषि उत्पादकत्वमा असर गरेको छ ।’

कृषि प्राविधिकको सल्लाहविना प्रयोग गरिने रासायनिक मल र विषादीले ‘मित्र जीव’ नासिँदै जाने भएकाले रोग तथा किराको नयाँ प्रकोप देखा पर्ने खड्काले उल्लेख गर्नुभयो । उहाँका अनुसार प्रयोगशालासँगै कृषि ज्ञान केन्द्र र पालिकाले संयुक्त रुपमा घुम्ती शिविरमार्फत माटो परीक्षण गर्दै आएका छन् । किसानले शिविरमा माटो सङ्कलन गरी जाँच गराउनुपर्नेमा खड्काले जोड दिनुभयो । ‘जाँच पश्चात् माटोको पिचएमान थाहा हुन्छ’, उहाँले भन्नुभयो,‘यसबाट माटोको सुधारका लागि पहल गर्न सकिन्छ ।’

उहाँले सबै किसानलाई माटो जाँच गराउन आग्रह पनि गर्नुभयो । हालै शुक्लाफाँटा नगरपालिकामा आयोजना गरिएको माटो परीक्षण घुम्ती शिविरमा ९२ माटोका नमुनामा प्राङ्गारिक पदार्थ सँगै नाइट्रोजन, फास्फोरसको मात्रामा कमी देखिएको नगरपालिकाको कृषि शाखाका प्रमुख करन सिंह बुढाऐरले बताउनुभयो । उहाँका अनुसार माटोमा क्षारियपन र अम्लीयपनको मात्रा अधिक देखिएको छ । वडा नं १२ को माटोमा सबैभन्दा बढी कृषि उत्पादनका लागि आवश्यक तत्वहरुको कमी रहेको बुढाऐरले बताउनुभयो ।

अन्य वडाका नमुनामा प्राङ्गारिक पदार्थको निकै कमी देखिएको उहाँको भनाइ थियो । ‘वन क्षेत्रबाट ल्याउने सोत्तर, घाँसपातको प्रयोग घरमै किसानले मल बनाउने गरेका थिए’, उहाँले भन्नुभयो,‘अहिले किसानले घरमा गोठेमल, कम्पोष्टमल बनाउन छाडेका छन् ।’ रासायनिक मलको बढी प्रयोग हुन थालेकाले माटोको उत्पादकत्व घट्दै गएको बुढाऐरले बताउनुभयो । पहिले धानबाली लगाउनु अघि किसानले हरियो मलका रुपमा प्रयोग हुने ढैँचा र मुँगको प्रयोग गर्ने गरेका बताउँदै अहिले उक्त कार्य ओझेलमा पर्दै गएको उहाँको भनाइ छ ।

गोठे, कम्पोष्ट र हरियो मलको प्रयोगलाई बढावा दिनका लागि स्थानीय तहले किसानमाझ जनचेतासँगै अनुदानलगायत उत्प्रेरित गर्ने किसिमका कार्यक्रम सञ्चालन गर्नुपर्ने कृषि विज्ञ बताउँछन् । प्राङ्गारिक मलको प्रयोगले माटोको गुणस्तरमा सुधार ल्याई बाली÷बिरुवालाई आवश्यकपर्ने सुक्ष्म तत्व उपलब्ध गराउने, माटोको पानी सोस्ने क्षमतामा वृद्धि हुने, उर्वराशक्ति बढाउने, वातावरण स्वच्छ राख्न मद्दत पुर्‍याउने तथा रासायनिक मलको खपत घटाउने कृषि शाखा प्रमुख बुढाऐरले बताउनुभयो । प्राङ्गारिक मलको प्रयोग गरी उत्पादन भएका कृषिउपज स्वस्थ हुनुका साथै मूल्य पनि बढी हुने उहाँको भनाइ थियो ।