जनता टाइम्स

२४ श्रावण २०८०, बुधबार १८:१५

युएईको सेक्यूरिटी कम्पनीमा कार्यरत २५ नेपाली बन्धक, लाखौं भुक्तानी समेत दिइएन (सूचीसहित)


अबुधाबी, साउन २४ । संयुक्त अरव ईमिरेट्स (युएई) को अबुधाबी मुसफास्थित अल फलाह सेक्यूरिटी सर्भिस र नाईट्स बृज ग्लोबल सेक्युरिटी कम्पनीले २५ नेपाली युवालाई सवै सेवा सुबिधाबाट बञ्चित गरेर बन्धक अवस्थामा राखेको पाइएको छ ।

काम गरेबापत नेपाली युवाहरुले पाउनु पर्ने तलव, ओभरटाइम वापतको रकम र ईन्ड अफ सर्भिस (उपादान) को रकम समेत नदिइ कम्पनीले बन्धक अवस्थामा राखेको पाइएको हो । सेक्यूरिटी गार्डको रुपमा काम गर्ने उनीहरुलाई कम्पनीले विभिन्न समयमा राजीनामा दिन बाध्य पारेर क्याम्पमा बन्धक अवस्थामा राखिरहेको संयुक्त अरव ईमिरेट्स (युएई) को आबुधावीबाट पासाङ लामाले जानकारी दिनुभयो ।

अल फलाह र नाईट्स बृजले विभिन्न समयमा राजिनामा दिन बाध्य पारेर उनीहरुलाई १० महिनादेखि विभिन्न वहाना र झूठो आश्वासन दिइ आबुधावीको मफ्रक, चाईना क्याम्प, वर्कर सिटी –२ स्थित अल ईशोस भिलेज नामको क्याम्पमा राखेको छ । त्यहाँ राखिएकामध्ये कतिपयको भिसाको अवधि सकिएका कारण ‘ओभर स्टे’ भएर हिडडुल गर्न नसकेको, जरिवाना सुरु भएको भन्दै आफूहरुले पाउनु पर्ने रकम दिलाइ दिन २५ जना नेपालीले आबुधावी स्थित नेपाली दूतावासमा गत अगष्ट ३ तारिखमा पुनः निवेदन दिएका छन ।

उनीहरुले कम्पनीले १० महिनासम्म विना काम क्याम्पमा बन्दी बनाइ राखेको हुँदा त्यसको क्षतिपूर्ति समेत दिलाइ दिन निवेदनमा आग्रह गरेका छन् । क्याम्पमा रहेका ती नेपालीका अनुसार अल फलाह र नाईट्स बृज ग्लोबल सेक्युरिटी दुबईमा दर्ता गरेको कम्पनीको मालिक जाएद फलाह हामुद जराह अल कतानीले चलिरहेको २ कम्पनीलाई योजनावद्ध रुपमा बन्द गराई निजकै भाइको नाममा अर्को नयाँ सेक्यूरिटी कम्पनी नाईट्स बृज ग्लोवल सेक्यूरिटी आबुधावीमा दर्ता गरेको र पुरानो दुबईमा दर्ता गरेको २ कम्पनीहरु अल फलाह र नाईट्स बृज ग्लोवल सेक्यूरिटीमा काम गर्ने श्रमिकहरुलाई दिनुपर्ने रकम नदिइ नयाँ कम्पनीमा काम गर्न दवाव दिएको छ ।

नयाँ कम्पनीमा काम सुरु गर्न अल फलाहमा काम गर्ने श्रमिकहरुसँग भिसा वापत प्रति व्यक्ति ४५ सय दिराम (लगभग नेरु १ लाख ६२ हजार) जबर्जस्ती तिर्न भनिएको छ । उपदान वापतको रकम नलिई नयाँ कम्पनीमा आवद्ध नहुने भएमा राजिनामा दिन कम्पनीले दवाव दिएको छ । कम्पनीको दवावकै कारण आफूहरुले बाध्यतावस राजिनामा दिएको उनीहरुको भनाई छ । सो कम्पनीमा नेपालीबाहेक पाकिस्तान, फिलिपिन्स, भारत लगायतका मुलुकका गरी १ सय ५० जनाको हाराहारीमा सोही कम्पनीमा रहेका छन ।

आफूहरुले पाउनु पर्ने रकम माग गर्ने श्रमिकहरुलाई कम्पनीले तर्साउने गरेको, महिनौंसम्म झुलाउने गरेको भन्दै ति नेपालीले गत फागुनमा पनि नेपाली दूतावासमा निवेदन दिएका थिए । तर त्यसको सुनुवाई नभएको भन्दै उनीहरुले पुनः निवेदन दिएका हुन् । यस बीचमा अल फलाहले ’म्यारियम अहमद सालीम ल अफिस नामको वकिल÷ अधिवक्ताहरुको कम्पनीलाई यो विषय सुल्झाउने जिम्मेवारी दिएको र सो कम्पनीले कानुनी झण्झटको त्रास देखाएर १० जना नेपालीलाई विना कुनै रकम नै नेपाल फर्काएको पीडितहरुले नेपाली राज दूतावास, अबुधाबीमा बुझाएको निवेदनमा उल्लेख छ । कम्पनीका कारण आफूहरु मानसिक त्रासमा बस्नु परेको, भिसाको अवधि सकिन थालेका कारण थप संकट सिर्जना भएको भन्दै उनीहरुले गत अगष्ट ३ तारिखका दिन पुनः निवेदन दिएका हुन् ।

त्यसरी राखिएका मध्ये केहीको भिसाको अवधि सकिसकेको छ । यस अगाडि सो कम्पनीका काम गरेका १४ जनाले गत फागुन २१ गते श्रम सचिवलाई सोही प्रकृतिको पत्र पठाउँदै आफूहरुले पाउनु पर्ने रकम दिलाइ दिन आग्रह गरेका थिए । युएई स्थित नेपाली दूतावासका श्रम काउन्सेलर दीनवन्धु सुवेदीले सो कम्पनीमा काम गरेका र रकम नदिइएका नेपालीहरुलाई न्याय दिलाउन दूतावासले निरन्तर प्रयत्न गरिरहेको बताउनु भएको छ ।

‘हामीले समस्या सुल्झाउन कम्पनी भ्रमण गर्दा कम्पनीका तर्फबाट कुनै सहयोग नभएपछि दूतावासले यहाँको परराष्ट्र मन्त्रालयमा लेखेर पठायौं,’ सुवेदीले भन्नुभयो, ‘परराष्ट्र मन्त्रालयबाट त्यो विषय यहाँको श्रम मन्त्रालयमा पुगेको छ, हामी निरन्तर प्रयत्नमै छौं ।’ युएईको सरकारी निकायमा यस विषयमा प्रत्यक्ष भेटेर पनि पीडितलाई न्याय दिलाउन आग्रह गरेको सुवेदीको भनाई छ ।

सो कम्पनीमा १२ बर्ष अघिदेखि काम गरेका नेपालीहरु छन । उनीहरुले काम छोडेर स्वदेश फर्किदा पाउनु पर्ने रकम ठूलो परिमाणमा रहेको छ । सो रकम नदिन अल फलाहले बदमासी गरेको समस्यामा परेका नेपाली श्रमिकहरुको गुनासो छ ।