संविधान घोषणापछि मुलुकमा शान्ति कायम हुन सक्छ ? भनेर उल्टै त्रास देखाउने काम भयो । तर, सुवासले संविधान निर्माणको काम अन्तिम चरणमा पुगेकाले जारी गर्नैपर्ने र घोषणासभामा आएर ‘शोभा’ बढाइदिन भन्दै राष्ट्रपतिको असन्तुष्टिको आगोमा चिसो पानी खन्याइदिनुभयो
गणेश बस्नेत
नेपाली राजनीतिमा सहमति, सहकार्य र एकताको अभियान चलाउने नायक संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ अव हामीबीच रहनुभएन । पञ्चायत फाल्ने आन्दोलनदेखि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान जारी गर्ने हिम्मतवाला नेता सुवास सवैलाई रुवाएर २०८० साल भदौ २६ गते बिहान १.४० बजे धर्तीबाट सदाका लागि बिदा हुनुभयो ।
सत्यको पक्षमा सधैं उभिने र आफ्नो अडानमा सदा सर्वदा रहिरहनुपर्छ भन्ने मान्यता बोक्नु हुने सुवास २०६२/०६३ को जनआन्दोलनपछि नेपाली राजनीतिमा सहमति सहकार्य र एकताको मियो बन्नुभयो । पुनःस्थापित संसदको सभामुखका रुपमा होस वा दुवै पटकको संबिधानसभा अध्यक्षको भूमिकामा रहँदा होस सुवासको च्याम्बर संकटको बेला चिया पिउने ठाउँ बन्यो । संबिधान जारी गर्ने बेला सुवासको दृढ अडान इतिहासमा सदैव सुनौलो अक्षरले लेखिएको छ । संबिधानसभा अध्यक्षको रुपमा सुवासले नै खुट्टा कमाउनु भएका तात्कालित प्रधानमन्त्री सुशिल कोइरालालाई पक्षमा उभ्याउनेदेखि संबिधान घोषणा नै गर्दिन भन्ने तात्कालिन राट्रपति डा. रामबरण यादवसम्मलाई संबिधानसभाको बैठकमा आएर घोषणा गर्न बाध्य पार्नुभएको थियो । ठूलै संकटकाबीच पनि सुझबुझपुर्ण निर्णय र सहज ब्यवहारलाई मिलाएर सुवासले संबिधान घोषणा गराउनु भएको थियो ।
संबिधान जारी भएको दिन २०७२ असोज ३ गतेको दृष्यलाई केही स्मरण गर्ने हो भने सुवास को हुन ? कस्तो क्षमता राख्छन ? संकटमा पनि कसरी दिमागी सन्तुलन मिलाउँछन भन्ने कुरा प्रष्ट हुन्छ । संबिधान घोषणा गर्नुभन्दा केही समय अघिदेखि संबिधान घोषणा भएको असोज ३ लाई नियाल्दा सुवासका ऐतिहासिक काम बुझन सकिन्छ ।
छिमेकी मित्रराष्ट्र भारत नेपालमा संबिधान घोषणा नहोस भन्नेमा ज्यान फालेर लागेको थियो । संविधानसभा बैठकमा नयाँ संविधानका धाराहरू पारित गर्दै गर्दा ठूलो आशंका थियो, ‘संविधानको घोषणा राष्ट्रपति रामवरण यादवले गर्नुहुन्छ कि गर्नुहुन्न ?’ यादवको पूर्वघोषणा अनि तत्काल संविधान घोषणा गर्न नगर्नका लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्ति क्रियाशीलताका कारण यो संसय थियो ।
मधेस केन्द्रित दलले संविधानसभा नै ‘बहिस्कार’ गरिसकेका थिए । राष्ट्रपति यादव पनि संविधान रोक्नुपर्ने पक्षमा उभिनुभएको थियो । उहाँले ‘संविधान आफूले जारी नगर्ने’ सार्वजनिक अभिव्यक्ति पनि दिइसक्नु भएको थियो । यस्तो संकटपूर्ण अवस्थामा पनिसंविधानसभा अध्यक्ष सुवास दोस्रो संविधानसभाबाट जसरी पनि संविधान जारी गर्नै पर्नेमा दृढतापुर्वक उभिनुभयो । सवैको दवावबीच सुवासले २०७२ भदौ २७ गतेबाट संविधानको विधेयकका धारा–धारामा संबिधानसभा बैठकमा मतदान गराउनु भयो ।
संविधानका अधिकांश धारा पारित भएपछि सुवास संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई साथमा लिएर भदौ ३० गते राष्ट्रपति यादवलाई भेटन शीतलनिवास पुग्नुभयो । संबिधान घोषणा गर्न सुवासले मौखिक निम्तो दिनसाथ राष्ट्रपति यादवले असन्तुष्टि पोख्नुभयो । अनि २/३ महिना संविधान ‘रोक्नुपर्ने’ सुझाव दिनुभयो । त्यति मात्र होइन, संविधान घोषणापछि मुलुकमा शान्ति कायम हुन सक्छ ? भनेर उल्टै त्रास देखाउने काम भयो । तर, सुवासले संविधान निर्माणको काम अन्तिम चरणमा पुगेकाले जारी गर्नैपर्ने र घोषणासभामा आएर ‘शोभा’ बढाइदिन भन्दै राष्ट्रपतिको असन्तुष्टिको आगोमा चिसो पानी खन्याइदिनुभयो । शीतलनिवासको त्यस दिनको घटनालाई सम्झने क्रममा सुवासले झण्डै एक दर्जन पत्रकारसँग अनौपचारिक रुपमा भन्नुभएको थियो, ‘बाफ रे, त्यो दृष्य तपाईहरुलाई नदेखाऊँ । उहाँ त सारै….देखिनुभयो । अनुहार पनि त्यस्तो बनाएको मलाई याद छैन ।’
राष्ट्रपतिले जसरी पनि ३ महिना रोक्न भनेको तथ्यलाई उहाँले त्यसै दिन केही नेतासामू राखिसक्नु भएको थियो । राष्ट्रपतिको कडा असन्तुष्टि र आक्रोशबीच सुवास गल्नुभएन । संविधान घोषणा रोक्दा संबिधानसभा फेरि असफल हुन्छ भन्नेमा सुवास ढुक्क हुनुहुन्थ्यो । शीलतनिवासको त्यो असहज बैठक सकेपछि सुवासको मनमा डर पस्यो । कतै रोक्ने त होइनन भन्ने आशंकासँगै प्रधानमन्त्री सुशील कोइरालासँग भेटन पुग्नुभयो ।
शीतलनिवास जान तयार हुनुभएका परेका प्रधानमन्त्री सुशिल कोइरालासँग रोकेरै सुवासले केही समय कुरा गर्नुभयो । तर कोइरालाले पनि ‘दुई/तीन महिना संविधान रोक्दा हुन्छ नि !’ भन्ने जवाफ फर्काउनु भयो । तर सुास गल्नुभएन, घोषणा गर्ने आफ्नो अडान कायमै राख्नुभयो ।
प्रधानमन्त्री कोइरालाको कुरापछि सुवासमा चिन्ता थपियो । अनि अव जसरी पनि राष्ट्रपतिलाई संविधानसभा घोषणासभामा आउन बाध्य पार्ने योजना बनाउनु भयो । अनि निर्णय लिए, ‘संविधान घोषणा राष्ट्रपतिले गर्नैैपर्छ भन्ने संविधानमा व्यवस्था छैन। अब घोषणासभा पनि संविधानसभामै गर्ने र त्यसका लागि विशेष प्रस्ताव पारित गर्ने ।’
यो निचोडपछि सुवासले नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला सहितका नेताहरूसँग विशेष प्रस्तावबारे टेलिफोनबाटै कुराकानी गर्नुभयो । अनि संविधानसभा भवनमा पुगेपछि सर्वदलीय बैठक बोलाएर राजनीतिक सहमति पनि जुटाउनु भयो । राष्ट्रपतिलाई आउन बाध्य पार्नकै लागि यो काम भएको थियो । सहमति लगत्तै संविधानका धारा–धारा पारित गर्ने कार्यक्रम रोकेर भदौ ३० गते पारित गरियो, ‘नेपालको संविधान नेपाली जनतासमक्ष प्रारम्भ भएको घोषणा गर्ने मिति निर्धारणसम्बन्धी’ विशेष प्रस्ताव ।’
असोज ३ गते ५ बजे संविधानसभामै संविधान घोषणासभा राखियो । विशेष प्रस्तावमा पारित भएपछि संसद सचिवालयका महासचिव भट्टराईले राष्ट्रपति यादवलाई औपचारिक निम्तो दिनुभएको थियो । जसरी पनि रोक्ने योजनालाई सुवासले चुतुर्याईंपुर्ण ढंगले तुहाइ दिएकै कारण राष्ट्रपति यादव असोेज ३ गते निर्धारित समयभन्दा आधा घण्टा ढिलो भए पनि संविधानसभा भवनमा आउनु भयो । र असोज ३ गते संबिधानसभाबाट निर्माण भई पारित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान जारी भयो ।
यसरी नेपालको संबिधान जारी गराउन सुवासले छिमेकीको धम्कीदेखि राष्ट्रपतिको आक्रोशको सामना गर्नु पर्यो । संबिधानसभामै रहेका दलहरु पनि ज्यान फालेर रोक्न लागे तर सुवासले कसुलतापुर्वक संबिधान जारी गराउने ऐतिहासिक काम गर्नुभयो । सुवासले गरेको त्यो ऐतिहासक कामलाई नेपाल जनजनले कहिल्यै भूल्न सक्दैनन ।
प्रतिक्रिया दिनुहोस्