जनता टाइम्स

३१ भाद्र २०८०, आईतवार १६:५३

एनआरएन अध्यक्षमा ५ जना दावेदार, ४ पक्षबीच कडा प्रतिस्पर्धा


काठमाडौं, भदौ ३१ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वको लागि मुख्यरुपमा त्रिपक्षीय भिडन्त हुने प्रष्ट संकेत देखिएको छ । अध्यक्षमा ५ जनाको उम्मेदवारी घोषणा भए पनि तीन उम्मेदवार भने आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रने भएका छन ।

आगामी दुईवर्षे कार्यकालको नेतृत्वका लागि संघका कार्यकारी अध्यक्ष डा.बद्री केसी, अध्यक्ष रबिना थापा, उपाध्यक्षद्वय महेशकुमार श्रेष्ठ राजेन्द्रकुमार (आरके) शर्मा र उपमहासचिव बिनय अधिकारीले उम्मेदवारी घोषणा गर्नुभएको छ । पाँच जनाले उम्मेदवारी घोषणा गरे पनि चार जना प्यानलसहित चुनावी मैदानमा उत्रन लागेकोले सोही पक्षबीच प्रतिस्पर्धा हुन लागेको हो ।

तीन ठूला राजनीतिक दलका प्रवासस्थित संगठनहरूले आ–आफ्ना उम्मेदवारहरूलाई जिताउन लविङ सुरु गरिसकेका छन । आगामी अक्टोबर १७–१९ (असोज ३० देखि कात्तिक २ गते) तारिखसम्म काठमाडौंमा हुने एनआरएनएको ११औं महाधिवेशनका लागि आ–आफ्नो प्यानलमा उम्मेदवार तान्न अध्यक्षका उम्मेदवार लागिपरे

का छन भने सवै उम्मेदवार बिश्व भ्रमणमा रहेका छन । अध्यक्षका उम्मेदवारहरुले आफ्नो एजण्डा पनि प्रस्तुत गरिसकेका छन ।

अध्यक्षमा दोहोरिन प्रयाशरत डा. बद्रि केसीले एनआरएनए (२०२१–२०२३) को कार्यकाल विवाद व्यवस्थापनको कार्यकाल रहेकोले काम गरेर देखाउन अध्यक्षमा पुनः उम्मेदवारी दिने निर्णय गरेको बताउनु भयो ।

‘हामीले विधान नै परिवर्तन गरेर संस्था नटुक्रियोस भनेर समझदारी गर्यौं । तीन तीन जना अध्यक्षहरूले मिलेर ६–६ महिनाको कार्यकाल चलायौं । त्यसैले त्यो कार्यकाल नै हैन । हामीले विवाद समाधानका लागि सहमति गरेका हौं । त्यसैले फेरि पनि नेतृत्वमा जानका लागि मेरो तयारी छ । २०२१ अक्टोबरदेखि दुई वर्ष ट्रान्सफर मात्र भएको छ । कुनै कुराहरू परिवर्तन भएका छैनन् । धेरै एजेण्डाको सम्बोधन हुन लागेको छ तर पूरा भएका छैनन,’ केसीले भन्नुभयो, ‘त्यसैले पनि १०औं अधिवेशनमा मैले ल्याएका एजेण्डासहित नै अब अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय लिएको छु ।’

उहाँले आफू कुनै राजनीतिक पार्टीसँग नजिक भए पनि कुनै पनि राजनीतिक पार्टीको एजेण्डालाई लिएर अगाडि नबढेको बताउनु भयो । उहाँले एनआरएनमा लामो समयदेखि योगदान दिंदै आएका अभियन्ताहरूलाई समेटेर अघि बढने बताउनु भयो । ‘एनआरएनमा लामो समयदेखि योगदान दिंदै आएका अभियन्ताहरूलाई समेटेर म अगाडि बढ्दैछु । राजनीतिक पूर्वाग्रह विना सबै क्षेत्रलाई समेटेर मजबुत टिम बन्नेछ । १०औं अधिवेशनमा बनेको टिममा मेरो खासै परिवर्तन भएको छैन,’ केसीले भन्नुभयो ।

यस्तै अध्यक्षका दावेदार रबिना थापाले काम गर्न नपाएकोले पुन अध्यक्ष बन्ने योजना बनाएको बताउनु भयो । ‘१०औं अन्तर्राष्ट्रिय महाधिवेशनमा म अध्यक्षकै प्रत्यासी थिएँ । महाधिवेशन प्रतिनिधि विवाद, गुटबन्दी, राजनीतिक हस्तक्षेप र विभिन्न कारणले चुनाव हुन सकेन । अझ भनौं त्यतिबेला चुनाव नै हुन दिइएन । डेलिगेट्सलाई आफ्नो नेतृत्व छान्न पाउने अधिकारबाट वञ्चित गरियो । त्यसैले अहिले गैरआवासीय नेपालीहरुको मतले चुनाव जितेर नेतृत्वमा पुग्ने संकल्प छ,’ अमेरिका निवासी थापाले भन्नुभयो ।

उहाँले थप्नुभयो, ‘मेरो उम्मेदवारी स्वाभाविक पनि हो । अध्यक्षमा ६ महिना कार्यकारी जिम्मेवारी सम्हालें । संस्थामा गर्नुपर्ने धेरै अधुरा कामहरु छन् । यसअघि सेलेक्सनबाट कार्यकाल बन्यो । तर, मलाई इलेक्सनबाट निर्वाचित हुन मन छ । एनआरएन निर्वाचनमुखी संस्था बन्दै गएको छ । निर्वाचन भएको एक वर्षसम्म बधाई खाने । र, अर्को वर्षदेखि चुनावी रन्को । काम कहिले गर्ने त ? त्यसका खातिर पनि संस्थामा परिवर्तनको जरुरी छ ।’

उहाँले आफ्नो प्रतिस्पर्धा डा. बद्रि केसीसँग नै रहेको बताउनु भयो । ‘सिङ्गो बद्री केसी टिमसँग हिजो प्रतिस्पर्धा गर्न उत्रिएकी थिएँ । आज त झन् सजिलो भएको छ । त्यो समूह तीनतिर बाँडिएको छ । मेरो प्रतिस्पर्धा १०औं महाधिवेशनमा पनि र ११औं महाधिवेशनमा पनि डा. बद्री केसीसँग नै हो । म उहाँलाई कडा टक्कर दिन्छु । अन्य तीन जनालाई म प्रतिस्पर्धी नै ठान्दिनँ,’ थापाले भन्नुभयो ।

अध्यक्षका अर्का प्रत्यासी आरके शर्माले एनआरएनए आईसीसीको उम्मेदवारी समृद्ध नेपाल बनाउनको लागि र विदेशमा बस्ने सबै नेपालीलाई जोड्नको लागि भएको बताउनु भयो । शर्माले एनआरएनएका संस्थापक उपाध्यक्ष डा. देवकाजी डंगोल, कतारका अग्रज अभियन्ता तथा पूर्वउपाध्यक्ष सागर नेपालसहितको सपना साकार बनाउन अध्यक्षमा उठ्न लागेको बताउनु भयो ।

‘गैरआवासीय अभियान अन्तर्गत दोस्रो संघ कतारमा स्थापना भयो, संस्थापक उपाध्यक्ष समेत कतारबाट डा डंगोल बन्नुभयो, त्यसपछि अग्रज सागर नेपाल उपाध्यक्ष बन्नुभयो । नेतृत्वमा लैजानको लागि पूर्वाग्रह राख्ने काम अहिलेसम्म भएको छ,यो पटक त्यो तोडिने छ,’ शर्माले भन्नुभयो ।
उहाँले गैरआवासीय अभियानमा आफूले विदेशमा बस्ने नेपालीका मुद्दाहरू नागरिकतादेखि लिएर श्रमिक तथा दोस्रो पुस्ताका मुद्दाहरू बोकेको बताउनु भयो । शर्माले एनआरएनएलाई विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा चौतारी बनाउने प्रतिवद्धता जनाउनु भएको छ ।

यस्तै नेपाली कांग्रेसबाट आधिकारिक उम्मेदवार बनेर अध्यक्षका लागि मैदानमा उत्रनुभएका बर्तमान उपाध्यक्ष महेश श्रेष्ठले ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारा अघि सार्नुभएको छ । यो नाराले कांग्रेस महामन्त्री गगन थापाको नारालाई झल्को दिएको छ । श्रेष्ठले पाँच नीतिगत योजनासहितको प्रतिबद्धता पत्र पनि सार्वजनिक गर्नुभएको छ ।

संघको प्रतिष्ठा र गरिमामाथि प्रश्न उठिरहेको भन्दै श्रेष्ठले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुलाई एकताको सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय र संगठित एनआरएनए बनाउने दृढता व्यक्त गर्नुभएको छ ।

सन् २०३० सम्म १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सहकार्य गर्ने जिकिर पनि उहाँले गर्नुभयो । अर्थतन्त्र मजबुत बनाउने सवालमा दीर्घकालिन योजना र महत्वाकांक्षी सपनाहरु देख्नुपर्छ भन्ने मान्यता अनुरुप सन् २०३० सम्म नेपालको अर्थतन्त्र १०० अर्ब डलरको बनाउन एउटा स्पष्ट खाकासहित संघले नेपाल सरकार तथा नेपालको निजी क्षेत्रसँग सहकार्य गर्ने श्रेष्ठको प्रतिवद्धता छ ।

यस्तै अध्यक्षका अर्का प्रत्यासी बर्तमान उपमहासचिव बिनय अधिकारीले ‘नेपाल बाहिरको नेपालीको सुखदुःखको साथी’ भन्ने नारा अघि सार्नुभएको छ । ‘लगानीको वातावरण बनाइ दीर्घकालीन आर्थिक सुधार अबको पहिलो आवश्यकता हो । नेपालको विकास नेपालीको हितमा रहेर काम गर्नका लागि एनआरएनमा मेरो भूमिकामा केन्द्रित हुनेछु,’ अघिकारीले भन्नुभयो ।