जनता टाइम्स

२९ भाद्र २०७६, आईतवार १५:०४

कस्मेटिक सामाग्रीको गुणस्तरप्रति सचेत हुन उपभोक्तालाई ब्यवसायीको अपिल


काठमाडौं, भदौं २९ । पछिल्लो समय फष्टाउँदै गएको सौन्दर्य प्रसाधन सामाग्री (कस्मेटिक) को बजारसँगै यस्ता सामग्रीको गुणस्तरप्रति सचेत हुन सरोकारवालाहरुले सुझाव दिएका छन । नेपाल कस्मेटिक व्यवसायी संघले आयोजना गरेको ‘कस्मेटिक व्यवसायका समस्या, सम्भावना र चुनौति’ विषयक कार्यक्रममा अगुवाहरुले सो सुझाव दिएका हुन ।

उनीहरुले समयको मागसँगै भित्रिएका विभिन्न किसिमका सौन्दर्य सामाग्रीको गुणस्तरप्रति सजग रहनपर्नेु आवश्यकता औंल्याए । कार्यक्रममा संघका अध्यक्ष लक्ष्मीप्रसाद पौडेल (रञ्जित) ले सौन्दर्य सामाग्रीको व्यवसायमा जिम्मेवार बन्न आग्रह गर्दै सौन्दर्य सामाग्रीका उपभोक्ता बढेसँगै कमसल सौन्दर्य सामाग्रीहरु पनि बजारमा भेटिने गरेको खुलासा गर्नुभयो । पौडेलका अनुसार यस्ता कमसल र गुणस्तरहीन सामाग्रीहरुमा सिसा, मर्करी, क्रोभिएम, टिटानियम आदिको अत्याधिक मात्र अथवा चाहिने भन्दा बढी प्रयोग गरेर बनाइएको छ । ‘यस्ता सामाग्री घातक पनि हुन सक्ने भन्दै पौडेलले उपभोक्तालाई सचेत हुन आग्रह गर्नुभयो ।

‘सौन्दर्य सामाग्रीहरु प्रायः आयातित नै हुन्छन । उपभोक्ताले पनि सहज रुपमा गुणस्तरीय सामाग्री पाउन सकेका छैनन,’ कमसल सामाग्रीहरुले मानिसको शरिर तथा छालामा असर गर्ने भन्दै अध्यक्ष पौडेलले भन्नुभयो, ‘कस्मेटिक उत्पादन गर्ने कम्पनी न्यून रहेको अवस्थामा चाइना, भारत, कोरिया, थाइल्याण्ड, अमेरिका, फ्रान्स, जर्मन, दुबई, जापानबाट सौन्दर्य सम्बन्धि सामाग्री आयत हुने गर्दछ, विशेष गरि चाइना र भारतबाट धेरै सामाग्री भित्रिने गर्दछ ।’

ब्राण्डेड सामाग्री महंगो हुने हुँदा आफ्नो स्तर अनुसारका कस्मेटिक सामाग्री प्रयोग गर्ने संख्या ठूलो रहेको भन्दै प्रयोगकर्ता सचेत हुनुपर्ने आवश्यकता औल्याउनु भयो । ‘यसरी प्रयोग हुने सौन्दर्य सामाग्री र प्रयोग गर्ने तरिकाको ज्ञान नहुँदा धेरै पैसा खर्च गर्नुपर्ने वाध्यता उपभोक्ताको गुनासो रहेको छ,’ अध्यक्ष पौडेलले भन्नुभयो । सौन्दर्य सामाग्रीको प्रयोग गर्ने उपभोक्ताको संख्या बढेसँगै यस क्षेत्रमा लाग्ने व्यवसायी संख्या पनि बढेको भन्दै अध्यक्ष पौडेलले काठमाडौं उपत्यकामा मात्र करिब एक हजारदेखि १२ सयसम्म सौन्दर्य व्यवसायमा लागेको जानकारी दिनुभयो ।

अनुमानित दशदेखि बाह्र हजार व्यवसायीहरु सौन्दर्य व्यवसायमा लागि रहेको भन्दै उहाँले सौन्दर्य सामाग्रीहरु किराना पसल, डिपार्टमेन्ट स्टोर, सौलुन, ब्युटीपार्लर, फेन्सी स्टोर, मेडिकलबाट पनि बेच्ने गरिएको बताउनुभयो । दैनिक उपभोग्य सामाग्री जस्तै बनेको कस्मेटिक सामाग्रीहरुको कारोबार पनि राम्रै हुने गरेको भन्दै पौडेलले प्रत्येक घरबाट वर्षमा पाँचदेखि सात हजारसम्मको सौन्दर्य सामाग्री खपत हुने गरेको जानकारी दिनुभयो । यस्ता सामग्रीको खपत शहर बजारमा तीनदेखि चार गुणाले बढी हुने गरेको पनि उहाँको भनाई थियो ।

‘प्रयोगकर्ताको संख्या पनि बढी नै हुन्छ । सुन्दर हुने रहर सबैमा हुन्छ । विषेश कार्यक्रम चाडपर्व र मौसम अनुसार सौन्दर्य सामाग्रीहरु बढी प्रयोग भएका हुन्छन् । उमेर अनुसार प्रयोग हुन सौन्दर्य सामाग्रीमहिलाले मात्र नभई पुरुषहरुले पनि धेरै नै प्रयोग गर्न थालका छन,’ अध्यक्ष पौडेलले भन्नुभयो । कार्यक्रममा उहाँले बजारमा कम्पनीले थोरै समय डेट एक्सपायर (मिति नाघेका) वस्तुहरु बेच्दा विभिन्न किसिमका लोभ लालचा र सुविधाका स्किमहरु चलाउने गरेकोप्रति सवैको ध्यानकर्षण गराउनु भयो ।

व्यवसायीहरुले कतिपय व्यापारीहरु फस्दा बजारमा समान डम्पिङ हुने र त्यसलाई बेच्न नसक्दा अनुगमन संस्थाहरुको कारबाहीमा पर्ने अवस्था सिर्जना हुने गरेको पनि उहाँको भनाई छ । बजारमा समान उत्पादन गर्दा नै त्यसको रिस्क फ्याक्टर जोडिने बताउँदै कुनै पनि व्यवसायीलाई विभिन्न आश्वाशन दिएर लोभमा फस्दा पनि समस्या हुने कतिपय कम्पनीका प्रतिनिधिहरुले बताए । कुनै पनि समानहरु किन्दा कति समानहरु आफुकहाँ स्टक छ भन्नेबारे व्यवसायी स्वयं नै जानकार हुनेपर्नेमा जोड दिंदै व्यवसायीहरुले व्यवसायीकै लापारबाहीकै कारण यो अवस्था आएको कम्पनीका सञ्चालकहरुको भनाई थियो ।

तेस्रो मुलुकबाट आयात गरिने कस्मेटिक सामानहरुमा एक्सपाइरी डेटसम्म र एमआरपी पनि नहुने गरेको छ । वाणिज्य विभागबाट बजारमा अनुगमन गरिँदा वस्तुहरुको वस्तुको उत्पादन मिति, समय, ब्याच नम्बर र एमआरपी हुनुपर्ने भन्दै आएको छ । जुन जुन कम्पनीको समानहरु आयात गरिएको छ त्यसमा ध्यान दिनुपर्ने हुन्छ । कार्यक्रममा ब्यवसायीहरुले सरकारले कपडा र कस्मेटिकलाई अनिवार्य रुपमा एमआरपी राख्न नपर्ने बताए पनि वाणिज्य विभागले चाहिँ उल्टो गरेको गुनासो गरेका थिए ।

कस्मेटिक उत्पादक कम्पनी, आयातकर्ता, व्यवसायी तथा सरोकारवाला समेत गरी एक सयभन्दा बढी सहभागीहरुको उपस्थिती रहेको सो कार्यक्रममा कस्मेटिक क्षेत्रमा रहेका समसामयिक विषयवस्तुका बारेमा विस्तृत छलफल भएको थियो ।