जनता टाइम्स

५ आश्विन २०७६, आईतवार ०७:०५

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य संरचना तयार, उपकरण र मेशिन जडान मात्रै बाँकी


रुपन्देही, असोज ५ । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका मुख्य संरचना तयार भएका छन् । अगामी डिसेम्बरभित्र उडान थाल्ने गरी निर्माण कार्य भइरहेको हो । प्राविधिक उपकरण जडान र टर्मिनल भवनको अन्तिम चरणको काम चलिरहेको छ । धावन मार्गसँगै ठूला पूर्वाधार तयार भएका हुन् ।

‘भौतिक पूर्वाधार निर्माण (सिभिल) तर्फका मुख्य संरचना तयार भएका छन, ‘मौसमलगायत कारणले साथ दिएमा आगामी डिसेम्बरसम्ममा विमानस्थल सञ्चालनका लागि योग्य बनाउने गरी निर्माणकोकामलाई अघि बढाएका छौं,’ विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले भन्नुभयो । अहिलेसम्म तीन हजार मिटर लामो धावनमार्ग, तीनवटा ट्याक्सी वे, विमान पार्किङ क्षेत्र, टर्मिनल भवन, आठतले कन्ट्रोल रुम र प्रशासनिक भवन तयार भएका छन् । यी संरचनामा रंगरोगनको काम भइरहेको छ । धावनमार्ग वरपर पेरिमिटर सडक, ससाना ढल निकास, भित्री तारबार, वायरिङ र विद्युत् जडानसम्बन्धी काम चलिरहेका छन् । पहिलो ठेक्काअन्तर्गत सिभिलतर्फको करिब आठ प्रतिशत काम बाँकी रहेको अधिकारीले बताउनु भयो ।

दोस्रो ठेक्काअन्तर्गत विमानस्थलमा उपकरण र मेसिन जडानको काम मुख्य हो । यसको ठेक्का थाइल्यान्डको एरो थाई कम्पनीले ५० करोड रुपैयाँमा लिएको छ । एरो थाई सरकारी कम्पनी हो । जनवरी ७ सम्ममा उपकरण तथा मेसिन जडान गर्ने सम्झौता म्याद छ । दोस्रो ठेक्काअन्तर्गत भिओआर/डिएमई (विमान र विमानस्थलबीच समन्वय गर्ने, विमान कति उचाइमा छ, कति दूरीमा छ भन्नेबारेमा पत्ता लगाएर सम्पर्क गर्ने) उपकरण, कन्ट्रोल टावरमाथि राख्ने उपकरण, एक्सरे, मौसम पूर्वानुमान उपकरण, वारुणयन्त्रमा आवश्यक पर्नेलगायत उपकरण जडान हुने छन् । यसका लागि युरोप र अमेरिकामा अर्डरबमोजिम तयार पारिएका उपकरण आउने क्रममा रहेको छ ।

‘कुनै अवरोध नभएमा दसैं र तिहारसम्म उपकरण आइपुग्नेछन्,’ अधिकारीले भन्नुभयो, ‘त्यसलगत्तै जडानका लागि आवश्यक पर्ने फाउन्डेसनको कामलाई निरन्तरता दिइनेछ । उपकरण जडानका लागि करिब डेढ महिना लाग्ने अनुमान गरिएको उनले बताए । पहिलो ठेक्का लिएको चिनियाँ कम्पनीले पनि विमानस्थलमा जडान गरिने सेन्ट्रल एसी (एयर कन्डिसन) र केही विद्युतीय उपकरण ल्याइसकेको छ । दोस्रो चरणको ठेक्काअन्तर्गतको उपकरण जडान हुनासाथ आयोजनाको प्रगति छोटो समयमै पूरा हुने दाबी अधिकारीको छ ।

विमानस्थलको धावन मार्ग साढे तीन सय मिटर भिजीविलिटी (आँखाले देख्न सकिने दूरी) मा पनि विमान अवतरण गर्न सकिने उपकरणसहितको छ । अगामी डिसेम्बरसम्म पूरा गर्ने गरी आयोजनाको तेस्रोपटक म्याद थप गरिएको हो । पहिलो चरणको ठेक्काअन्तर्गत भौतिक संरचना निर्माणका लागि ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा चीनको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सन ग्रुपले ठेक्का लिएको हो ।

मधेस आन्दोलन, नाकाबन्दी, भूकम्प, मुख्य ठेकेदार र सहठेकेदारबीचको द्वन्द्वलगायत कारण तीन वर्षसम्म सुस्ताएको आयोजना ०७४ मा चिनियाँ मुख्य ठेकेदार कम्पनीले व्यवस्थापनको जिम्मेवारीमा परिवर्तन गरी अर्कोलाई खटाएपछि आयोजनाले गति लिंदै आएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले योबिमानस्थल निर्माणमा कुनैपनि अवरोध स्वीकार्य नहुने चेतावनी दिनुभएपछि कामले अझै गति लिएको छ । मन्त्री भट्टराईले बिमानस्थलको निर्माण कार्यको निरीक्षणपछि यस्तो चेतावनी दिनुभएको थियो ।