जनता टाइम्स

९ चैत्र २०८०, शुक्रबार २०:००

एमाले राष्ट्रिय शक्ति हो, समाजवादी मोर्चामा किन घुस्रने ?


यस्ता परिणामविहीन मोर्चा बनाउन समय खर्चिनुको कुनै औचित्य छैन । बरू जनताको बहुदलीय जनवादजस्तो युगीन विचारको छाता मुनी सबै क्रान्तिकारी कम्युनिष्टहरू गोलबन्द हुँदा देशको हित हुन्छ । कोही नेपालमा लागू नै नहुने माओवाद त्याग्न नसक्ने, कोही कपी पेष्टवाला ‘एकीकृत क्रान्ति’को नारा फलाक्न नछोड्ने, कोही जबज त भन्ने तर त्यसको जननी एमालेलाई दुस्मन ठान्ने, कोही विषाक्त जातीय समाजवादको नारा बोक्नेबीचको मोर्चाले नेपालीको अग्रगतिको चाहना कहिल्यै पूरा हुन सक्दैन ।

निर्मल भट्टराई

नेकपाको विभाजनपछि बनेको एमालेविरोधी गठबन्धनमा नेपाली कांग्रेससँग सत्ता साझेदारीमा तागत बढाउने उदेश्यसहित बनेको समाजवादी मोर्चामा एमालेलाई सामेल गराउने प्रयास जारी छ । समाजवादी मोर्चाका घुम्ती संयोजक विप्लव र अर्का नेता प्रकाण्डले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई वहाँको निवास बालकोटमा भेटेरै एमालेलाई समाजवादी मोर्चामा सामेल हुन आग्रह गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि ओलीलाई सोही आग्रह दोहोर्‍याएका छन् । तर एमाले अध्यक्ष के पी शर्मा ओलीले एमालेलाई समाजवादी मोर्चामा सामेल हुन गरिएको आग्रहलाई अस्वीकार गर्नुभएको छ ।

भन्न परोइन, नेकपा(एमाले) देशको सबभन्दा ठूलो कम्युनिष्ट पार्टी मात्र होइन, जनअभिमतको हिसाबले देशकै सबभन्दा ठूलो पार्टी हो । देशको हरेक टोलमा आफ्नो स्थायी सांगठानिक संरचना भएको पार्टी हो । नेपाली धरातलीय यथार्थमा आधारित जनताको बहुदलीय जनवादी विचारले निर्दिष्ट र संगठित पार्टी हो । देशका सबभन्दा निष्कलङ्कित, योग्य र इमान्दार नेता-कार्यकर्ता भएको पार्टी हो । नेकपा(एमाले) नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो । ‘सुखी नेपाली, समृध्द नेपाल’को नारालाई सार्थक रूपमा कार्यान्वयन गर्दै देशलाई समाजवादको बाटोमा डोहोर्‍याउन सक्ने एक मात्र कम्युनिष्ट पार्टी हो ।

हो, सानातिना पार्टीहरूलाई आफ्नो अस्तित्व रक्षाको लागि मोर्चा आवश्यक हुन्छ । एमालेबाहेकका अरू साना कम्युनिष्ट पार्टी र वाम समूहलाई एक्ला-एक्लै जनतामा जान कठिनाइ भइरहेको अवस्थामा मोर्चामार्फत् आफ्नो राजनीतिको रोटी सेक्ने प्रयासलाई उचित मान्न सकिएला । भारतलगायत देशमा ठूलो शक्तिको विरूध्द विभिन्न साना राजनीतिक शक्तिले मोर्चामार्फत् आन्दोलन वा संसदीय चुनावमा भाग लिएको देखिन्छ। तर एमालेले आफ्नो जन्मकालदेखि नै यस्तो राजनीतिक अभ्यासमा छैन । पञ्चायत फाल्ने र राजतन्त्रको अन्त्य गर्ने आन्दोलनमा कार्यगत एकता र वाम-लोकतान्त्रिक शक्तिबीच भएको सहकार्य अर्कै विषय हो ।

०७४ को निर्वाचनलगत्तै माओवादीसँग भएको एकता र एकताको सम्पूर्ण प्रक्रिया पूरा नहुँदै भएको विभाजनले एमालेको सांगठानिक जीवनमा अकल्पनीय असर पर्‍यो । नदीजस्तो निरन्तर लक्षतर्फ बगिरहेको एमालेको यात्रा अबरूध्द बन्यो । एकता र विभाजनको अवधिभर एमाले पङ्क्ति किं कर्तव्यविमूढको हालतमा रहनु पर्‍यो । अहिले एमाले आफ्नो लयमा फर्किएको छ । एमाले अहिले आफ्ना नियमित सांगठानिक गतिविधि र जनसरोकारका विशेष कार्यक्रम गरिरहेको छ ।

एमालेले ऐतिहासिक महाकाली-मेची सङ्कल्प-यात्रा सम्पन्न गरेको छ । अहिले एमाले पार्टीका सबै तहका अधिवेशनमार्फत् दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकताको अन्त्य गर्दै आगामी चुनावमा बहुमत जनताको अभिमत लिएर देशलाई समुन्नत दिशामा अगाडि बढाउने अभियानमा छ । त्यसकारण एमाले मोर्चामा अल्मलिएर किमार्थ बस्दैन।

अघिल्लो गठबन्धन भत्किएको, एमालेको विशेष पहलकदमीमा वाम बाहुल्य गठबन्धन बनेको मौका छोपेर एमालेलाई समाजवादी मोर्चामा सामेल गर्ने त्यसमार्फत् देशभर एमालेसँग भाषण गर्न हिड्ने योजना कसैको भए त्यो त झन शोभनीय कुरा भएन । एमाललाई जनता जुटाएर ‘समाजवादी’ नेताहरुलाई भाषण गराउने पटक्कै फुर्सद छैन।

कम्युनिष्टहरू, वामपन्थीहरू विभिन्न समूहमा विभाजित हुने अनि यस्ता परिणामविहीन मोर्चा बनाउन समय खर्चिनुको कुनै औचित्य छैन । बरू जनताको बहुदलीय जनवादजस्तो युगीन विचारको छाता मुनी सबै क्रान्तिकारी कम्युनिष्टहरू गोलबन्द हुँदा देशको हित हुन्छ । कोही नेपालमा लागू नै नहुने माओवाद त्याग्न नसक्ने, कोही कपी पेष्टवाला ‘एकीकृत क्रान्ति’को नारा फलाक्न नछोड्ने, कोही जबज त भन्ने तर त्यसको जननी एमालेलाई दुस्मन ठान्ने, कोही विषाक्त जातीय समाजवादको नारा बोक्नेबीचको मोर्चाले नेपालीको अग्रगतिको चाहना कहिल्यै पूरा हुन सक्दैन ।

नेपाली कांग्रेसले निचोरेको कागतीजस्तो बनाउन खोजेपछि एमालेसँग सहकार्य गर्न आइपुगेका पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वसनीयताप्रति एमाले पङ्क्ति अझै सशङ्कित छ। वर्तमान गठबन्धनमा एमाले सचेततापूर्वक सामेल छ । सत्ता सञ्चालनमा हदैसम्म लचक पनि बनेको छ । तर यसको अर्थ यो होइन कि एमाले भिन्न परिस्थिति र उदेश्यका साथ बनेको ‘समाजवादी मोर्चा’मा सामेल होवोस्। र, त्यो मोर्चाको घुम्ती संयोजकको लागि धारामा पानी कुरेर बसेझैं बसोस् ।