janatatimes

१६ चैत्र २०८०, शुक्रबार ०७:०८

रेबिजबाट एक महिनामै नौ जनाको मृत्यू : प्रतिवर्ष सय जनाको जान्छ ज्यान


काठमाडौं, १६ चैत्र । मकवानपुरका ३३ वर्षीय श्याम गौतम (नामथर परिवर्तन) लाई डेढ महिनाअघि बाटामा हिँडिहरेको बेला घरबाहिरको कुकुरले टोक्यो।

आफन्तले रेबिजविरुद्धको खोप लाउन सुझाए तर उनले वास्ता गरेनन्। डेढ महिनापछि उनमा रेबिजको लक्षण देखियो। पानी निल्न नसक्ने, पंखाको हावादेखि तर्सिने, जिउ दुख्ने, डराउने गर्न थाले। परिवारले उनलाई स्थानीय अस्पताल हुँदै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याए। चिकित्सकले रेबिज लागेको बताए र आइसियुमा भर्ना गरे। त्यसको तीन दिन नबित्दै उनको मृत्यु भयो।

मकवानपुरका चार वर्षीय बालक श्रवण श्रेष्ठ (नामथर परिवर्तन) लाई मंसिरमा घरकै कुकुरले टोक्यो। बुवा–आमाले नजिकको मेडिकलमा पुर्‍याए। मेडिकलले रेबिजविरुद्धको खोप लगाउनुनपर्ने बतायो। फागुन पहिलो साता रेबिजको लक्षण देखिएपछि उनलाई टेकु अस्पताल पुर्याइयो। अस्पतालले रेबिज भइसकेको बतायो। दुई दिनमै उनको मृत्यु भयो।

चैत पहिलो साता ललितपुरका ३८ वर्षीय राजन केसी (नामथर परिवर्तन) को पनि रेबिजकै कारण मृत्यु भयो। उनलाई केही महिनाअघि बेवारिसे कुकुरले टोकेको थियो। उनले त्यसबारे न कसैलाई बताएका थिए न रेबिजको खोप नै लिएका थिए। रे

बिजको लक्षण देखिएपछि मात्र उनी टेकु अस्पताल पुगेका थिए।रेबिजकै कारण टेकु अस्पतलामा एक महिना (फागुन पहिलो सातादेखि चैत पहिलो सातासम्म) को अन्तरालमा ९ जनाको र गत कात्तिकयता ६ महिनाको अवधिमा ११ जनाको मृत्यु भएको छ।

तीमध्ये चैत पहिलो सातामा मात्र पाँचजनाको मृत्यु भएको अस्पतालले जनाएको छ।रेबिज लागेर अस्पताल आए पनि कतिपय बिरामी अन्य अस्पताल जाने र घर फर्किने भएकाले सबै मृत्युको तथ्यांक टेकु अस्पतालमा नहुने आइसियु इन्चार्ज उषा देवकोटा बताउनुभयो ।

राष्ट्रिय इपिडिमियोलोजी तथा महामारी नियन्त्रण महाशाखा जुनोटिक शाखाका अनुसार गत आर्थिका वर्षमा मात्र रेबिजबाट १८ जनाको मृत्यु भएको थियो। शाखामा पनि देशभरिका सबै तथ्यांक आइपुग्दैन। अन्तर्राष्ट्रिय तथ्यांकअनुसार नेपालमा प्रतिवर्ष रेबिज लागेर १०० जनाको मृत्यु हुने गर्छ।