काठमाडौं, बैशाख ९ । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागु गरेर नेपाली चियाको निर्यात रोकेको छ। नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर संकट निम्तिने बताएका छन्।
पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया शुक्रबार भारतले रोकेको हो।
चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिनुभयो।
मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताउनु भयो।
भारतीय नाकामा नेपाली चिया रोकिएको जानकारी आएपछि पानीटङ्कीस्थल भन्सार कार्यालयका समकक्षीसँग भेटेर समस्या समाधानका लागि आग्रह गरेको भन्सार प्रमुख रेग्मीले बताउनु भयो।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंले नेपाली चियाको निर्यात रोक्न भारत सरकारले गुणस्तर परीक्षणको नयाँ बखेडा झिकेको बताउनु भयो। तत्काल यसको समाधान नखोजिए नेपाली चिया उद्योग संकटमा पर्ने उहाँको भनाइ छ।
चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि अग्रवालका अनुसार पानीटङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयले हरेक ट्रकमा नेपाली चियाको अलग–अलग गुणस्तर परीक्षण गरिनुपर्ने नयाँ नियम लगाएर निर्यातमा रोक लगाएको हो।
‘यसअघि एउटा कम्पनीले एउटा नमूनाको गुणस्तर जाँचपास गराएको ‘रिपोर्ट’ले १५ दिनसम्म चिया निर्यात गर्दा पनि मान्यता पाउँथ्यो,’ व्यवसायी अग्रवालले भन्नुभयो, ‘अहिले पानीटङ्कीको भारतीय भन्सारले हरेक गाडीको छुट्टाछुट्टै नमूनाको गुणस्तर जाँचपास रिपोर्ट ल्याउनुपर्ने अड्को थापेको छ।’
सिटिसी र अर्थोडक्स गरी दुवै प्रकारका चिया भारत निर्यात हुँदै आएको छ। नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ। निर्यात हुने चियाको ९२ प्रतिशत काँकडभिट्टा नाका भएर भारत जाने गरेको छ। चिया व्यवसायीका अनुसार भारतले नेपालमा गरिएको गुणस्तर जाँचको रिपोर्टलाई मान्यता दिएको छैन।
भारतको पानीटङ्की भन्सारमा समेत गुणस्तर जाँच्ने प्रयोगशाला छैन। भारतको कोलकाता, दिल्ली, पटनालगायत स्थानका प्रयोगशालामा गरिएको गुणस्तर जाँचपासलाई भारतीय भन्सारले मान्यता दिने हुँदा यसबाट नेपाली चिया निर्यातमा संलग्न व्यवसायीले झन्झट बेहोर्नु परेको छ ।
प्रतिक्रिया दिनुहोस्