काठमाडौं, असार १ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का आगामी वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभा बैठकमा सो परिमाणको बजेट सार्वजनिक गर्नुभएको हो ।
चालू आर्थिक वर्षका लागि लुम्बिनी सरकारले ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । आज प्रस्तुत बजेट आकारमा डेढ अर्ब कम हो । आर्थिक मामिला तथा योजनामन्त्री आचार्यले चालु आर्थिक वर्षको भन्दा १ अर्ब ५० करोड ९७ लाख घटाएर आगामी वर्षको बजेट प्रस्तुत गर्नुभएको छ ।
प्रस्तुत बजेटमा चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार र पुँजिगत तर्फ २४ अर्ब ५८ करोड ५९ लाख विनियोजन गरिएको छ । बजेट प्रस्तुत गर्दै मन्त्री आचार्यले संचित कोषबाट विनियोजन हुनेगरी ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार र प्रदेश संचित कोषतर्फ व्ययभार हुनेगरी १ करोड ४ लाख रुपैयाँको बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो । प्रस्तुत बजेटमा कृषि, सिँचाइ, पर्यटन, खानेपानी, शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकता दिइएको छ। आवास, खानेपानी, स्वास्थ्य, शिक्षा सहितको व्यवस्थित सहर विकासको योजनालाई पनि बजेटमा प्राथमिकता दिइएको छ।
मन्त्री आचार्यका अनुसार आगामी वर्षका लागि प्रदेशका सबै घरमा खानेपानीका धारा पुयार्उन एक घर, एक धारा कार्यक्रमका लागि १ अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ । यस्तै प्रदेशका गौरवका आयोजना प्रदेश राजधानीको निर्माण, लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण, कृषिको आधार सिँचाइमा सुधार भन्ने नारासहित खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ पुर्याउने गरी बजेट विनियोजन गरिएको छ भने उज्यालो प्रदेश लुम्बिनी प्रदेश कार्यक्रम कार्यान्वयन गर्ने अठोट गरिएको छ ।
बजेटमा रोकिएको झुम्सा चरङ्गे झुम्सा सडक निर्माणको योजना समावेश गरिएको छ । सिद्धार्थ राजमार्गको जोखिमयुक्त सिद्धबाबा खण्डको विकल्पको रूपमा एमाले महासचिव तथा लुम्बिनीका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले प्रदेश गौरवको आयोजनाको रुपमा अगाडि बढाएको यो सडक पछिल्ला सरकारले बजेट कटौती गर्दा अलपत्र रहेको छ । यसपटकको बजेटमा यो पक्षलाई बिशेष ध्यान दिइएको छ ।
यस्ता छन् बजेटमा समेटिएका नारा
समृद्ध लुम्बिनी ,आत्मनिर्भर प्रदेश
किसानको हात, प्रदेशको साथ
स्वस्थ्य जीवनको साथ, माटोको सुधार
मेरो स्वास्थ्य सुधार, मेरो जिम्मेवारी
शैक्षिक गुणस्तरमा सुधार, भविष्यको आधार
पर्यटनसँग वन समृद्धिको आधार
ब्याक टु कल्चर, ब्याक टु नेचर
एक वडा, एक पोखरी
नदीजन्य पदार्थ राजस्वको प्रमुख आधार
वन्यजन्तु पीडितसँग प्रदेश सरकार
एक घर एक धारा, जनतासँग प्रदेश सरकार
कृषिको आधार, सिंचाइमा सुधार
खेतबारीका गरा, सधैं हराभरा
उज्यालो प्रदेश, लुम्बिनी प्रदेश
स्वच्छ भान्सा, सबैलाई आनन्द
प्रविधिमैत्री लुम्बिनी अहिलेको आवश्यकता
भ्रष्टाचार नियन्त्रणमा शून्य सहभागिता
(बजेटको पूर्णपाठ)
प्रतिक्रिया दिनुहोस्