ब्राजिल, भदौ ११ । अमेरिका छिर्न भन्दै दलालको उक्साहटमा ब्राजिल पुगेका ६० भन्दा बढी नेपाली अलपत्र परेका छन । तेस्रो मुलुकलाई ट्रान्जिट बनाएर विनाभिसा त्यहाँ पुगेका नेपालीहरुलाई ब्राजिलमा प्रवेश गर्न नदिइएपछि साओ पाउलो विमानस्थलमा ६० भन्दा बढी नेपाली अलपत्र परेको ब्राजिलस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार एकसाता अगाडि कम्तीमा ५० जना नेपाली विनाभिसा ब्राजिल प्रवेश गर्न खोज्दा रोकिएको जानकारी प्राप्त भएको र अहिले उक्त संख्या ६० नाघेको छ । नेपाली राजदूत निर्मलराज काफ्लेका अनुसार नेपालीहरुले टर्की, दुबई र दोहाबाट ब्राजिललाई ट्रान्जिट बनाएर तेश्रो मुलुकको टिकट काट्ने तर ब्राजिल आइसकेपछि त्यही शरण माग्ने तथा बाहिर निस्केर दलालमार्फत विनाभिसा अमेरिका वा क्यानडातिर लाग्ने गरेका छन ।
पहिलेदेखि नै यो क्रम रहेको र अहिले संख्या अझ बढेको नेपाली दूतावासले जानकारी दिएको छ । अहिले ब्राजिलको साओ पाउलो विमानस्थलमा रोकिएका नेपालीहरुलाई सम्बन्धित एयरलाइन्सले नै हेरचाह गरिरहेको छ । विमानस्थलमा रोकिएका कसैले पनि दूतावासमा सम्पर्क नगरेको तर दूतावासले यसबारे ब्राजिलका विभिन्न निकायबाट जानकारी प्राप्त गरिरहेको राजदूत काफ्लेले बताउनु भयो । ब्राजिलमा रोकिएका नेपालीहरु फरकफरक समयमा फरकफरक एयरलाएइन्समार्फत आएका हुन ।
उनीहरुमध्ये अधिकांश टर्की, दुबईबाट, दोहाबाट टर्किस, इमिरेट्स र कतार एयरलाइन्समार्फत ब्राजिल पुगेको जनाइएको छ । अहिले ६ सय जनाभन्दा बढी विना भिसा पुगेका आप्रवासीहरु ग्वारुल्होस एयरपोर्टमा ब्राजिल प्रवेश गर्न पर्खिरहेको जनाइएको छ । ब्राजिलको सरकारले सोमबारदेखि अमेरिका र क्यानडा पुग्नको लागि ब्राजिल प्रयोग गर्ने आप्रवासीहरुको प्रवाहलाई रोक्न नियमहरू कडा बनाएकाले उनीहरुको अवस्था के हुने भन्ने निश्चित भइसकेको छैन ।
सोमबारदेखि ब्राजिलले भिसा नभएका अर्को देश जाने विदेशी यात्रीहरू सीधा आफ्नो गन्तव्यमा जानुपर्ने वा आफ्नो देश फर्कनु पर्ने नियम बनाइएको छ । एसियाबाट उत्तर अमेरिका जाने यात्रुहरु ब्राजिलमा ट्रान्जिट पारेर बाहिर निस्कने र अमेरिका तथा क्यानडातिर लाग्ने समस्याका कारण यो नियम ल्याइएको हो ।
ट्रान्जिटमा पुगेपछि ब्राजिलमा प्रवेश गर्न उनीहरुले शरण माग्ने गरेका छन । उनीहरूले आफ्नो देशमा धम्की र सतावट भएको बताउदै शरण माग्नेहरु त्यहाँबाट अमेरिकातिर प्रवेश गर्छन । अब भिसा बिना साओ पाउलो आउने यात्रुहरूलाई ब्राजिलमा बस्न अनुमति नदिइने जानकारी दिइसकिएको छ ।
ब्राजिल आइपुगेका पुगेका नेपालीहरु दलाललाई मोटो रकम बुझाएर उक्त बाटो हुँदै विनाभिसा अमेरिका छिर्न खोज्नेहरु हुन । समस्या जटिल बन्न थालेपछि नेपाली राजदूत काफ्लेले ब्राजिलको भिसा नलिई ब्राजिललाई ट्रान्जिट बनाएर बाहिर निस्कने उद्देश्यले नआउन नेपालीलाई आग्रहसमेत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्