काठमाडौं, भदौ ११ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीको बैठक बोलाउनु भएको छ । महामन्त्रीद्वय बिश्वप्रकाश शर्मा र गगन थापाको प्रतिवेदनमाथि छलफल गर्न सभापति देउवाले आफ्नै निवासमा बैठक बोलाउनु भएको हो ।
बैठकमा उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीहरू थापा र शर्मा मात्र सहभागी रहने सभापति देउवा निकट स्रोतले बताएको छ । बैठक बिहान ११ बजे बूढानीलकण्ठमा बस्ने बताइएको छ । गत साउन २३ गतेदेखि जारी केन्द्रीय समितिको बैठकमा उपसभापति खड्का तथा दुई महामन्त्री थापा र शर्माले पेस गरेको प्रतिवेदनसहित थप ११ एजेन्डाहरू माथि छलफल भइरहेको छ ।
केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा कांग्रेस एक्लै लड्ने प्रतिवेदन पेश गर्नुभएको छ । महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो राजनीतिक प्रतिवेदनमा राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चार पटक भन्दा हुन नपाउने प्रस्ताव गर्नुभएको छ । सो प्रस्तावमा देउवा पक्षधर नेताले चर्काे आपत्ति जनाउँदै सच्याउन दवाव दिँदै आएका छन । तर महामन्त्री शर्मा टसमस हुनुभएको छैन ।
महामन्त्रीद्वय गगन र विश्व प्रकाशको प्रस्तावले नेपाली कांग्रेसको आन्तरिक राजनीति नै तरङ्गित बनाइदिएको छ । गगनको चुनावी गठबन्धन गर्न नहुने र शर्माको प्रधानमन्त्री, मन्त्री तथा सांसद कति पटक हुने भन्ने सीमा तय गर्नुपर्नेबारेको प्रस्तावलाई पार्टी सभापति देउवा समूहले ‘काउन्टर’ गर्न थालेपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक नै प्रभावित हुँदै आएको छ ।
महामन्त्री शर्माको ’एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद बन्न नपाउने भन्ने प्रावधान पार्टी विधानमै संहिताकृत गर्नुपर्ने’ प्रस्ताव बैठकले पारित गरे देउवा अव प्रधानमन्त्री बन्न रोक लाग्नेछ भने अन्य थुप्रै नता मन्त्री बन्न सक्ने छैनन ।
यस्तै अर्का महामन्त्री थापाको आगामी चुनावमा जनताले रूखमा भोट हाल्न पाउने अवस्था निर्माण गर्ने प्रस्तावमा पनि संस्थापन पक्षले ‘काउन्टर’ गरिरहेको छ । देउवा समूहका नेताहरू विमलेन्द्र निधि‚ प्रवक्ता प्रकाश शरण महत‚ एनपी साउद‚ रमेश लेखक‚ ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरू नै दुवै महामन्त्रीको प्रस्तावको विपक्षमा उत्रनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्