काठमाडौंको बागबजार निवासी पलेशालाई जावलाखेलस्थित डीएभी स्कुलमा अध्ययन गर्ने क्रममा आमाबुबाले ‘सेल्फ डिफेन्स’ (आत्म सुरक्षा) का लागि तेक्वान्दो सिकाउने निर्णय लिएर काठमाडौं डोजाङमा भर्ना गरिदिनु भएको थियो । तर पलेशाको चाहना थिएन ।
काठमाडौं, भदौ १६ । तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले फ्रान्समा जारी पारालिम्पिक्समा शुक्रबार ऐतिहासिक काँस्य पदक जितेर नेपालका सान र मान बढाइन । पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै पदक हात पारिन ।
सन १९६४ को टोकियो ओलम्पिकदेखि सहभागी जनाउन थाले पनि अहिलेसम्म पदकविहीन थियो भने नेपाली खेलाडीको उपस्थिति सहभागितामा सीमित थियो । तर पलेशाले ६ दशक लामो ओलम्पिकमा नेपालको पदकविहीन यात्रा अन्त्य गर्दै पदक जित्ने नेपालको पहिलो खेलाडीको इतिहास रच्न सफल भइन । पारालाई छाडेर ओलम्पिकमा ६ दशक यात्रामा ९२ खेलाडीले सहभागिता जनाएका छन । तेक्वान्दोकी संगीना वैद्य २००४, दीपक विष्ट २००८ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ मात्रै छनोट यात्रा पार गरेर ओलम्पिकमा सहभागी भएका हुन् । अन्य सबै खेलाडी कोटा मार्फत ओलम्पिक खेल्दै आएका छन् ।
पारालिम्पिक्समा भने नेपालले सन् २००४ देखि सहभागिता जनाउन थाल्यो । पलेशा पारामा छनोट पार गर्दै पारालिम्पिक्स खेल्ने पहिलो खेलाडी हुन् । गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिक्सको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिक्समा सहभागी भएकी थिइन् । गत वर्ष चीनको ह्वाङझाउमा भएको एसियाली पारा खेलकुद अन्तर्गत महिला के– ४४ क्याटगोरी अन्तर्गत ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जित्दै इतिहास रचेकी थिइन् । एसियाली पारा खेलकुदमा नेपालले जितेको यो पहिलो पदक थियो । ओलम्पिकमा पनि उनले त्यो रेकर्ड कायमै राख्न सफल भएकी हुन ।
प्रशिक्षकदेखि खेलाडीसम्मको अपेक्षा पारालिम्पिक्समा पलेशाबाट स्वर्ण पदककै थियो । तर क्वार्टरफाइनलमा ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग ८–६ को अग्रता बचाउन नसक्दा स्वर्णको सम्भावना सकियो । पर्नान्डेजले बडी किकबाट लगातार चार अंक जोडेपछि पलेशा १०–८ ले पराजित भइन । पलेशाले पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएकी थिइन । काँस्य पदकका लागि भएको प्रतिस्पर्धामा पलेशाले १५–८ ले जित्दै इतिहास रचिन ।
जितपछि नेपालको झण्डामा उनी र प्रशिक्षक कविराज नेगी लामाले रिङ परिक्रमा गर्दा उपस्थित दर्शकहरुले तालीले सम्मान गरे । इतिहास रचेपछि पलेशाले नेपाली हुनुको गर्व मैदानमै पोखिन । ‘म एकदमै खुसी र गर्व महसुस गरेकी छु । मैले १० वर्षको उमेरमा जुन सपना देखेको थिएँ, आज २१ वर्षमा आएर पूरा भएको छ । सबै गुरुहरुलाई म धन्यवाद दिन चाहन्छु,’ पलेशाले भनिन ।
पलेशाले यो सफलता आफ्नो मात्र नभएर नेपालकै भएको बताइन । ‘म मात्रै होइन, हरेक नेपालीले गर्वका साथ हामीसँग एउटा मेडल छ भन्न सक्छन । यो काँस्य पनि हाम्रो लागि ठूलो होे,’ पलेशाले भनिन ।
सन २००३ जुलाई २५ जन्मिएकी पलेशाका आमा मनिता र बुबा प्रदीप हुनुहुन्छ । काठमाडौंको बागबजार निवासी पलेशालाई जावलाखेलस्थित डीएभी स्कुलमा अध्ययन गर्ने क्रममा आमाबुबाले ‘सेल्फ डिफेन्स’ (आत्म सुरक्षा) का लागि तेक्वान्दो सिकाउने निर्णय लिएर काठमाडौं डोजाङमा भर्ना गरिदिनु भएको थियो । तर पलेशाको चाहना थिएन । सोही कारण सुरुमा जान नमानेकी पलेशा बुबा-आमाकै करले तेक्वान्दोमा भर्ना भइन । त्यसपछि उनी जाउलाखेल पढ्ने र सातदोबाटोमा तेक्वान्दो सिक्न जान्थिन । सन २०१६ मा पहिलो पटक राष्ट्रिय टोलीमा परेका पलेशा विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा भाग लिँदा १३ वर्षको मात्रै थिइन ।
पलेशा अन्तर्राष्ट्रिय प्रतियोगिता २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेश्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिपमा डेब्यू गर्दै पाँचौं भइन् । २०१७ मा लन्डनमा भएको विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा एउटा खेल जित्दै सातौं भइन । त्यसपछि पलेशालाई एकपछि अर्को सफलता हात पार्दै आएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो फाइट जितेको एक वर्षपछि नै २०१८ मा पलेशाले पहिलो अन्तर्राष्ट्रिय पदक जितिन । भियतनाममा भएको एसियन पारा तेक्वान्दो ओपन च्याम्पियनसिपमा उनले काँस्य पदक जितेकी थिइन । सन २०२१ मा उनले एसियाली युथ पारा गेम्समा पहिलो पटक स्वर्ण जितिन ।
कोरोना महामारीको कारण उनले पारालिम्पिक्समा पुग्न छनोट खेल्ने अवसर पाइनन् । तर भाग्यको साथले वाइल्ड कार्डबाट पाराओलम्पिक्स २०२१ मा नेपालबाट प्रतिनिधित्व गर्ने एक्लो खेलाडी बनिन । काँस्य पदकको प्रतिस्पर्धामा चिनियाँ खेलाडी ली युजिसँग १२–९ ले पराजित भइन । पहिलो खेलमा बेलायतकी खेलाडीसँग पराजित भए पनि पलेशाले रिपिचेजको क्वार्टरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई र सेमिफाइनलमा सर्वियन खेलाडी मारिजा मिसेभलाई हराएकी थिइन ।
यो बेला उनले चाहेको पदक त आएन, तर ओलम्पिकमा दुई खेल जित्ने पहिलो नेपाली खेलाडीको इतिहास बनाइन । यसपटक भने नेपालको नयाँ इतिहास रच्दै ऐतिहासिक काँस्य पदक हात पारिन । तेक्वान्दोमा इतिहास रचेकी पलेशा सानैदेखि इन्जिनियर बन्ने सपना बनेकी थिइन । सोहीअनुसार उनी चीनमा इञ्जिनियरिङकै अध्ययनरत रहेकी छन ।
प्रधानमन्त्रीदेखि शीर्ष नेताहरुबाट बधाइको ओइरो
पेरिस पाराओलम्पिकमा ऐतिहासिक काँस्य पदक जितेपछि पलेशालाई बधाईको ओइरो लागेको छ । पलेशालाई राष्ट्रपति र प्रधानमन्त्रीदेखि सवै दलका शीर्ष नेताहरुले बधाइ दिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पदक जितेर पलेशाले देशको गौरव बढाएको भन्दै बधाई दिनुभएको छ ।
यस्तै नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालबाटै खुशी साटनुभएको छ । ‘पेरिस पाराओलम्पिकमा नेपालले काँस्य पदक प्राप्त गरेको छ । पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बधाइ,’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि बधाइ दिनुभएको छ । ‘पलेशा गोवद्र्धनको ऐतिहासिक उपलब्धि नेपालका लागि गर्वको विषय हो,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति देउवाले लेख्नुभएको छ । यस्तै पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पलेशालाई बधाइ दिनुभएको छ ।
‘नेपालकी पलेशा गोवद्र्धनले पाराओलम्पिक खेलकुदमा पदक जित्ने हिमाली एसियाली राष्ट्रबाट पहिलो खेलाडी बनेर इतिहासे रेचिकी छन,’ प्रचण्डले लेख्नुभएको छ, ‘पलेशालाई यस उल्लेखनीय उपलब्धिका लागि बधाइ छ, जसले सम्पूर्ण नेपालीहरुलाई गौरवान्वित बनाएको छ ।’
यस्तै उपप्रधानमन्त्री बिष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, खेलकूदमन्त्री तेजुलाल चौधरीलगायतका नेताहरुले पनि बधाइ दिनुभएको छ । प्रलेशालाई नेपालका सवै क्षेत्रका अगुवाले पनि बधाइ दिएका छन ।
सरकारबाट पाउनेछिन ६५ लाख पुरस्कार
फ्रान्सको पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक काँस्य पदक जिताएकी तेक्वान्दोकी खेलाडी पलेशाले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार रकम पाउने भएकी छन । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ का अनुसार व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल/ग्रीष्मकालीन/शीतकालीन/पारा/विशेष तथा र विश्वकप फुटबलमा कांस्य जित्ने खेलाडीलाई ६५ लाख रुपैयाँ पुरस्कार दिनुपर्ने हुन्छ ।
नियमावली अनुसार पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । राखेप नियमावली २०७९ मा व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीले १ करोड ३० लाख र रजत जित्ने खेलाडीले ९७ लाख रुपैयाँ प्राप्त गर्ने ब्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्