जनता टाइम्स

२७ भाद्र २०८१, बिहीबार ०२:४२

एनआरएनएमा फेरि लफडा, अध्यक्ष बनाइदिन भन्दै अदालत पुगे हरुवा उम्मेद्वार आरके शर्मा


काठमाडौं,भदौ २७। गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा पराजीत अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्मा (आरके शर्मा) ले आफूलाई आधिकारिकता दिइयोस भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ । शर्माले सोमबार नै पेस गरेको रिट निवेदन बुधबार सर्वोच्च अदालत प्रशासनले दर्ता गरेको हो ।

रिट निवेदकमा केशव पौडेल र ठाकुरप्रसाद ढुंगाना समेत रहनुभएको छ । गत अक्टोबरमा सम्पन्न ११ औँ महाधिवेशनमा भएको निर्वाचनमा डा.बद्रि केसीसँग पराजीत हुनुभएका शर्माले आफू नै विधिवत निर्वाचित भएको दाबी गर्दै रिट दायर गर्नुभएको हो । रिटमा डा. केसी धाँधली गरेर निर्वाचित भएको उल्लेख छ ।

रिट निवेदनमा भनिएको छ, ‘प्रस्तुत निवेदनलाई पूर्ण इजलासमा पठाइ गैरआवासीय नेपाली संघको विवादको स्थायी समाधानका लागि ११ औँ महाधिवेशनबाट विधिवत् रूपमा निर्वाचित हामी निवेदकलाई काम गर्न दिनु दिलाउनु भनी प्रत्यर्थी परराष्ट्र मन्त्रालय र प्रत्यर्थी गैरआवासीय नेपाली संघको कार्यालयका नाममा परमादेशको आदेश जारी गरी पाउँ ।’

यस्तै बद्री केसी लगायतले अदालतलाई गुमराहमा राखी आफूलाई अनुचित लाभ पुर्याउने र वास्तविक सरोकारवालालाई गुमराहमा राख्ने काम गरेकाले उनीहरूलाई कारबाही गर्ने आदेश दिन समेत रिट निवेदनमा माग गरिएको छ भने निवेदनको अन्तिम किनारा नलागेसम्म आफूलाई अध्यक्षको हैसियतमा काम कारबाही गर्न दिन अन्तरिम आदेशको पनि शर्माले माग गर्नुभएको छ ।

गत अक्टोबरमा सम्पन्न निर्वाचनमा बद्री केसी अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । तर, अध्यक्षका प्रतिस्पर्धी शर्माले आफै अध्यक्ष निर्वाचित भएको घोषणा गर्नुभएको थियो । एनआरएनएमा विवाद चर्किएकै बेला सर्वोच्च अदालतले गत २०८० चैत २१ मा १० औँ र ११ औँ महाधिवेशनलाई अवैध ठहर गर्दै २०७८ माघ १ को अवस्थामा फर्किएर एकताको महाधिवेशन गर्न आदेश दिएको थियो ।

त्यसपछि परराष्ट्र मन्त्रालयले फैसलामा टेकेर केसीलाई काम कारबाही गर्न रोक लगाएपछि उनी अदालत गएका थिए । उक्त मुद्दामा साउन २२ मा अदालतले परराष्ट्रको पद अवैध भएको ठहर गरेपछि केसीले फेरि आफूले आधिकारिकता पाएको भन्दै कामकारबाही सुरु गर्नुभएको छ । केसीले काम सुरु गरेपछि शर्मा आफूलाई अध्यक्ष दिलाइयोस भन्दै अदालत पुग्नुभएको हो ।