वासिङटन डिसी (अमेरिका), कात्तिक २९ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्री र उच्च पदका लागि धमाधम मनोनीत गर्ने काम अघि बढाउनु भएको छ ।राष्ट्रपति ट्रम्पले आगामी जनवरीमा राष्ट्रपतिको कार्यभार सम्हाल्नु हुनेछ ।
आफूले जिम्म्वारी लिएलगत्तै ट्रम्पले ह्वाइट हाउसका विभिन्न पदहरूमा नियुक्त गर्नुहुनेछ । त्यसका लागि विभिन्न व्यक्तिहरूलाई उहाँले अहिले नै मनोनीत गर्नुभएको हो ।
ट्रम्पले अहिलेसम्म दुई दर्जनभन्दा बढीलाई विभिन्न पदमा नियुक्तिका लागि मनोनीत गरिसक्नु भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन । बिबिसीका अनुसार ट्रम्पले मार्को रूबिओलाई विदेश मन्त्री मनोनीत गर्नुभएको छ । फ्लोरिडाका सिनेटर रूबिओ चीनका कटु आलोचकका रुपमा परिचित हुनुहुन्छ ।
त्यस्तै पिट हेगसेथ रक्षा मन्त्री मनोनीत हुनुभएको छ । पिट ट्रम्पलाई समर्थन गर्ने सञ्चार संस्था फक्स न्युजका कार्यक्रम प्रस्तोता र पूर्वसैनिक हुनुहुन्छ । बिबिसीले जनाएअनुसार विश्वका धनाढ्य व्यक्ति इलन मस्क र विवेक रामास्वामीलाई जिम्मेवारी दिन ट्रम्पले गभर्नमेन्ट इफिसिएन्सी नामको नयाँ विभाग नै सिर्जना गर्नुभएको छ । त्यसले सरकारलाई सफल बनाउनका लागि भूमिका खेल्ने टज्ञम्पको बिश्वास छ ।
दोस्रो पटक राष्ट्रपति निर्वाचित ट्रम्पले बुधबार मात्रै फ्लोरिडा कंग्रेसका सदस्य म्याट गेट्जलाई महान्यायाधिवक्ता मनोनीत गर्नुभएको छ । म्याट पनि ट्रम्पका बफादारमध्ये एक मानिनुहुन्छ । यस्तै दक्षिण डकोटाका गभर्नर कृष्टी नोइमलाई ट्रम्पले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिने हुनुभएको छ । यसैगरी तुल्सी गब्बार्ड गुप्तचर विभागको निर्देशक मनोनीत भएकी छन्। गुप्तचर विभागमै जोन र्याटक्लिफ मनोनीत हुनुभएको छ ।
यस्तै ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकारमा माइक वाल्ज मनोनीत हुनुभएको छ भने टम होमनलाई सीमा सुरक्षासम्बन्धी जिम्मेवारी दिइने भएको छ। यसैगरी संयुक्त राष्ट्रसंघीय राजदूतमा इलिस स्टेफेनिक, माइक हुकाबीलाई इसराइलको राजदूत, स्टिभ विटकफलाई मध्यपूर्वको विशेष दूत, ली जेल्दीनलाई वातावरण सुरक्षा एजेन्सी, विलियन मिकजिनलीलाई ह्वाइट हाउस काउन्सिल, सुसी विल्सलाई ह्वाइट हाउस कर्मचारी प्रमुख मनोनीत हुनुभएको छ ।
यस्तै स्टेफेन मिलर, जेम्स ब्लेइर, टेलर बुडोभिच र ड्यान स्काभिनो गरी चार जनालाई कर्मचारी उपप्रमुख मनोनीत गरिएको छ । मनोनीत भएका व्यक्तिबारे सिनेटमा छलफल हुनेछ। सिनेटले पारित गरेपछि मात्रै सम्बन्धित पदमा नियुक्त हुने कानूनी ब्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्