जनता टाइम्स

७ मंसिर २०८१, शुक्रबार ११:४२

अराजकताविरुद्ध आयोजित एमाले जागरण सभाको र्याली सुरु


काठमाडौं, मंसीर ७ । नेकपा एमालेको आज काठमाडौंमा हुन लागेको जागरण सभाको लागि र्‍यालीको तयारी सुरु भएको छ ।

भद्रकालीबाट सुरु हुने र्‍यालीको कमाण्ड गर्न जागरण सभाका कमाण्डर नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल भद्रकाली पुग्नु भएको छ ।

जागरण सभाको कामण्डरको जिम्मेवारी पाउनु भएका नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई पार्टी कामको सिलसिलामा देश बाहिर जानु परेकोले सो जिम्मेवारी ढुङ्गेलले सम्हाल्नु भएको छ ।

जागरण सभामा सहभागी हुन आउनेहरू भद्रकालीमा जम्मा हुने क्रम जारी रहेको छ । बाजागाजा सहित पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरू भेला भइरहनुभएको छ ।

भद्रकालीमा भेला भएर सुरु हुने र्‍याली, सुनधारा, वीरअस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरण सभामा परिणत हुने कार्यक्रम छ । कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यक्रम स्थलमा दिउँसो १ः३० बजे पुग्ने कार्यक्रम रहेको छ । आजको सभामा एक लाख बढीको उपस्थिति हुने एमालले आकलन गरेको छ ।