जनता टाइम्स

१७ मंसिर २०८१, सोमबार १२:२२

चितवन राइनोजको विजयी सुरुवात, ५ विकेटले हार्यो काठमाडौं गुर्खाज


काठमाडौं, मंसिर १७ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबार खेलिएको पहिलो खेलमा चितवन राइनोज विजयी भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा चितवन रनाइनोजले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजीत गरेको छ ।

जारी प्रतियोगितामा चितवन राइनोज र काठमाडौं गुर्खाज दुवैले आफ्नो पहिलो खेल खेलेका हुन । टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमाडौं गुर्खाजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ११ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको चितवन राइनोजले भने १७.१ ओभरमै केवल पाँच विकेट गुमाएर एक सय १४ रन बनाउँदै विजयलक्ष्य पार गर्यो । चितवन राइनोजका लागि छैटौँ नम्बरका ब्याट्सम्यान सन्तोष कार्कीले अविजित २८ रनको योगदान गरे ।

यस्तै सन्तोषले ३१ बलको सामना गरी एक छक्का र दुई चौका प्रहार गरे । सातौँ नम्बरमा क्रिज समाल्न आएका अनुभवी ब्याट्सम्यान शरद भेषावकरले पनि २१ बलको सामना गरी अविजित ११ रन बनाएका थिए ।

यस्तै लुक बेनकेन्स्टाइनले पनि टोलीका लागि २२ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले १७ बलमा दुई छक्का र एक चौका प्रहार गरे । ओपनर ब्याट्सम्यान हसन इशाखिलले पनि १२ रन जोडे ।

कप्तान कुशल मल्ल भने ११ रन बनाउँदै पेभेलियन फर्किए । ओपनर दीपक बोहराले सात रन बनाए । रवि बोपारा पनि ११ रन बनाउँदै आउट भए । उनले साहब आलमको बलमा लगातार दुई चौका प्रहार गरे भने तेस्रो बलमा आउट भए ।

चितवन राइनोजले अतिरिक्त रूपमा १२ रन पायो । काठमाडौं गुर्खाजका बलर साहब आलमले तीन विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिए । जेरहार्ड एरास्मस र डन डउथवेटले पनि एक–एक विकेट हात पारे । यसअघि काठमाडौं गुर्खाजका ब्याट्सम्यानहरूले राम्रो प्रदर्शन गर्न सकेका थिएनन । ओपनर ब्याट्सम्यान माइकल लेभिटले २५ रनको योगदान गरे । उनले १६ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए ।

यस्तै तेस्रो नम्बरमा क्रिज समाल्न आएका सुमित महर्जनले २९ रन बनाए । टोली अप्ठ्यारो स्थितिमा रहँदा सुमितले ४१ बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । डन डउथवेटले पनि अविजित १९ रन जोडे । आठौँ नम्बरमा क्रिज समाल्न आएका उनले १८ बलको सामना गरी दुई चौका प्रहार गरे । यस्तै छैटौँ नम्बरमा क्रिज समाल्न आएका ब्याट्सम्यान शंकर रानाले १६ रन बटुले । उनले १७ बलको सामना गरी एक छक्का र एक चौका हिर्काए ।

काठमाडौंका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन । काठमाडौंले अतिरिक्त रूपमा आठ रन पायो । दीपेश कँडेल एक रनमा अविजित रहे । चितवन राइनोजबाट खेलिरहेका पाकिस्तानका तीव्र गतिका बलर सोहेल तनवीरसामु काठमाडौं गुर्खाजका ब्याट्सम्यानहरू निरीह देखिएका थिए । ३९ वर्षीय देब्रे हाते बलर तनवीर एक्लैले पाँच विकेट लिएका थिए ।

सोहेल तनवीरले चार ओभरमा केवल २१ रन खर्चिए । उनले काठमाडौँ गुर्खाजका ओपनर ब्याट्सम्यान स्टिफन एस्किनाजी (दुई रन), माइकल लेभिट, भीम सार्कीलाई (एक रन), कप्तान करण केसी (एक रन) र साहब आलम (एन रन) को विकेट लिए । चिनवन राइनोजका लागि बलर रिजन ढकाल, कुशल मल्ल, अमरसिंह रौतेला र लुक बेनकेन्स्टाइनले एक–एक विकेट हात पारे ।

नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको एनपीएलमा सोमबारको दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच खेलिने छ । जारी प्रतियोगितामा जनकपुर बोल्ट्सले दोस्रो र कर्णाली याक्सले पहिलो खेल खेल्न लागेका हुन ।

अनिल कुमार साहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सले शनिबार खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सलाई आठ विकेटले हराएको थियो । पुस ६ गतेसम्म चल्ने एनपीएलमा आठ टोलीको सहभागिता रहेको छ ।