काठमाडौं, मंसिर १८ । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलेले मंगलबार ‘इमरजेन्सी मार्सल ल’ घोषणा गर्नुभएको छ । विपक्षी पार्टीलाई विद्रोहको योजना बनाएको र स्वतन्त्र लोकतन्त्र ढाल्ने प्रयास गरेको आरोप लगाउँदै राष्ट्रपति यून सुकले आपतकालीन मार्सल ल (सैनिक कानुन) घोषणा गर्नुभएको हो ।
दक्षिण कोरियामा सन् १९८० को दशकको अन्त्यमा सैन्य तानाशाही समाप्त भएपछि पहिलोपटक मार्सल ल घोषणा भएको हो । द न्यूयोर्क टाइम्सले जनाएअनुसार मार्सल ल घोषणा गरे पनि नागरिक र राजनीतिक दलहरूका कुन कुन अधिकार निलम्बित हुन्छन भनेर राष्ट्रपति यून सुकले केही बताउनु भएको छैन ।
तर मार्सल लका कमान्डर नियुक्त भएका सेनाका जनरल पार्क आन-सूले भर्खरै राजनीतिक दलहरूका गतिविधि र नागरिकले गर्ने र्यालीहरू सहित ुसबै प्रकारका राजनीतिक गतिविधिु माथि प्रतिबन्ध लगाएको बताइएको छ ।
‘सबै मिडिया र प्रकाशनहरू मार्सल लको कमान्डको नियन्त्रणमा रहनेछन,’ जनरल पार्कले भन्नुभएको छ । उहाँका अनुसार मार्सल ल मंगलबार राति ११ बजेबाट लागू हुनेछ। आदेश उल्लंघन गर्नेलाई अदालतको वारेन्ट बिनै पक्राउ गर्न सकिने पनि उल्लेख छ। स्थानीय सञ्चार माध्यमहरूले भने मार्सल लले अभिव्यक्ति स्वतन्त्रता नै संकुचित र सीमित गर्न सक्ने बताउनु भएको छ ।
सन् २०२२ मा राष्ट्रपति निर्वाचित यून विपक्षी पार्टीसँग लगभग लगातार राजनीतिक संघर्षमा छन्। दक्षिण कोरियाको संसदलाई ‘नेसनल एसेम्ब्ली’ भनिन्छ र त्यहाँ विपक्षी दलहरूको बहुमत छ। त्यसैले राष्ट्रपति यून र संसदबीच केही समयदेखि द्वन्द्व जारी थियो।
बजेट पास गर्ने कुरामा पनि राष्ट्रपतिसँग संसदको विमति थियो। यो परिदृश्यमा मंगलबार राति राष्ट्रपति यूनले राष्ट्रिय रूपमा प्रसारण भएको सम्बोधनमा विपक्षी पार्टीलाई आफ्नो बहुमत प्रयोग गरेर बारम्बार उहाँका क्याबिनेट सदस्यलाई महाभियोग लगाउने र सरकारको बजेट योजनाहरू अवरूद्ध गरेको आरोप लगाउनु भयो । ‘यसले प्रशासनलाई निष्क्रिय बनाएको छ,’ यूनका भनाइ उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले लेखेको छ, ‘स्वतन्त्र लोकतन्त्रको आधारशिला बन्नुपर्ने राष्ट्रिय सभा ध्वस्त पार्ने राक्षस बनेको छ।’
राष्ट्रपति यूनले इमरजेन्सी मार्सल ल घोषणा गरेपछि नेसनल एसेम्ब्ली भवनबाहिर विरोध प्रदर्शन सुरू भएको छ। केही प्रदर्शनकारीहरू ‘मार्सल ल हटाऊ’ भन्दै भवनभित्र प्रवेश गर्न खोजिरहेका छन्। उनीहरूलाई रोक्न प्रहरी परिचालन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्